यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक २६.८० अंकले घटेर एक हजार नौ सय ७५.८९ को विन्दु कायम भएको हो।
नेप्सेका अनुसार आज दुई सय ६० कम्पनीको ४७ लाख ७२ हजार एक सय ४० कित्ता सेयर ३६ हजार दुई सय ८० पटक खरिद–बिक्री हुँदा रु. एक अर्ब ६६ करोड ६९ लाख ३१ हजार पाँच सयबराबरको कारोबार भएको छ। आज सबै समूहको उपसूचक रातो देखिएको छ।
सबैभन्दा धेरै जीवन बिमा समूहको उपसूचक १३८.२० र निर्जीवन बिमा समूहको उपसूचक ११९.१२ अंकले घटेको छ। बैंकिङ समूह २२.५३, विकास बैंक समूह ५२.१३, वित्त समूह २८.७८ र होटेल तथा पर्यटन समूह ३१.३३ अंकले घटेको छ।
त्यसैगरी जलविद्युत् समूह ३८.०७, लगानी समूह १.५, उत्पादन तथा प्रशोधन समूह १७.८६, लघुवित्त समूह ३०.६५, म्युचुअल फन्ड ०.६, व्यापार समूह २४.८७ र अन्य समूह ८.८१ अंकले घटेको छ।
आज २६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ८६ वटा कम्पनीको सेयर मूल्य घटेको छ । सबैभन्दा धेरै शुभम् पावर लिमिटेडको सेयर मूल्य ९.९८ अंकले बढेको छ। सबैभन्दा धेरै गुमाउनेमा गुडविल फाइनान्स लिमिटेड डिभेन्चर– २०८३ को सेयर मूल्य ६.५५ प्रतिशतले घटेको छ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रु. आठ करोड २१ लाख ५८ हजार नौ सय ४३ बराबरको एक लाख ८१ हजार दुई सय ३४ कित्ता सेयर कारोबार भएको छ।