नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेससँगको संलग्नता त्याग गरेका छन्। पार्टीको वरिष्ठ नेता रहेका उनी यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन्।
पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकाले पार्टीको सदस्यबाट अलग भएको जानकारी गराएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
नेपालको संविधानमा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भए निजको त्यस्तो पद स्वतः रिक्त हुने उल्लेख छ।
नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि सोमबार पद तथा गोपनीयताको शपथग्रहण गर्नेछन्। राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह गर्ने तयारी गरेको छ।