थ्रीस्टारको पहिलो जित, खुमलटार निराश

शुक्रबार, २६ फागुन, २०७९
डिजिटल संस्करण

सहिद स्मारक ए डिभिजन लिग ०७९-८० मा थ्रीस्टारले पहिलो जित हात पारेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा खुमलटार युथ क्लबलाई २–० गोलले हराउँदै थ्रीस्टारले पहिलो जित हात पारेको हो ।

यो जितसँगै थ्रीस्टारले महत्वपूर्ण तीन अंक हासिल गरेको छ । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ५४औँ मिनेटमा मार्टिन्सले वन भर्सेस वनमा बललाई सीधै जाली चुमाए । लकेन लिम्बूले दिएको पासलाई पेनाल्टी एरियाभित्र नियन्त्रणमा लिएर मार्टिन्सले गोल गरेका थिए । 

यस्तै, ८३औँ मिनेटमा मार्टिन्सले नै दोस्रो गोल गरी थ्रीस्टारको जित सुनिश्चित गरे । उक्त गोल पनि निकै आकर्षक थियो । 

आजको जितपछि थ्रीस्टारको तीन खेलबाट चार अंक भएको छ । पहिलो खेलमा एपीएपफसँग २–० ले पराजित भएको थ्रीस्टारले दोस्रो खेलमा फ्रेन्ड्स क्लबसँग अंक बाँडेको थियो । 
खुमलटारले यसअघि पहिलो खेलमा फ्रेन्डस क्लबलाई पराजित गर्दै महत्वपूर्ण तीन अंक बटुलेको थियो । तर, दोस्रो खेलमा भने खुमलटार जर्ज ब्वाइजसँग पराजित हुन पुग्यो । उसको तीन खेलबाट तीन अंक भएको छ ।

सुझावित समाचार