एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले माधव नेपाल प्रतिक्रियावादीहरूको सेवामा समर्पित भएको आरोप लगाएका छन्।
शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित पार्टीनिकट नेपाल खेलकुद महासंघको नवनिर्वाचन केन्द्रीय कमिटीको शपथग्रहण समारोहमा बोल्दै उनले राजनीतिमा इमानदार प्रयास नगरेका कारण माधव नेपालहरूले सफलता हासिल गर्न नसकेको तर्कसमेत गरे।
उनले विधि र प्रक्रिया भन्दै नेता नेपालले प्रतिक्रियावादीहरूको सेवाका लागि पार्टी विभाजन गरेर उनीहरूलाई चोइटो बुझाएको आराेप लगाए।
अध्यक्ष ओलीले दुईतिहाई पुगेको नेकपालाई कमजोर बनाएर प्रचण्ड, माधव नेपालहरूले राजनीतिमा बेइमानी गरेको बताए।
खेलाडीहरूलाई पनि फल खेलेर श्रेष्ठता हासिल हुन्छ भन्ने भ्रम नपाल्न पनि आग्रह गर्दै उनले इमानदार प्रयासबाट मात्रै खेलाडीले पनि सफलता हासिल गर्न सक्ने उल्लेख गरे।
‘हामीले हाम्रै आन्दोलनमा देखेका छौँ। फल खेल्नेहरूले दुईतिहाईमा पुगेको पार्टीलाई कमजोर बनाए। दुईतिहाईको हैसियतको पुगेको आन्दोलनलाई विभाजित गराए। विधि, प्रक्रिया भन्दै प्रतिक्रियावादीहरूको सेवामा समर्पित भएर पार्टी फुटाएर लगेर चोइटो प्रतिक्रियावादीहरूलाई बुझाउने दुष्चेष्टा गरे। सबै गरे। तर, तिनीहरूले वास्तविक सफलता हासिल गर्न सकेनन्। श्रेष्ठता हासिल बेइमानीले हुँदैन। इमानदार प्रयासबाट हुन्छ। त्यसकारण मैले सुरुमै भनेँ– सफलताको पुँजी, सफलताको रहस्य इमानदार प्रयास हो,’ उनले भने ।
अध्यक्ष ओलीले एम्बाप्पे, मेसीजस्ता खेलाडी नेपालमा पनि हुने सक्ने भन्दै त्यसका लागि ध्यान दिन पनि नेपाल खेलकुद महासंघलाई सचेत गराए।
उनले देखिने गरी खेल क्षेत्रको विकास गर्न र राजनीतिलाई पनि सही बाटोमा हिँडाउने काममा महासंघ सफल हुने विश्वाससमेत व्यक्त गरे।