नेविसंघका कृष्ण सिटौलानिकट विद्यार्थीले क्याम्पसमा विद्यार्थीमाझ भिजेका पुपलर र स्वाभाविक विद्यार्थीलाई उम्मेदवार नबनाए विद्रोह गर्ने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौंमा आयोजित नेविसंघ भेलाले स्वाभाविक विद्यार्थीलाई उम्मेदवार नबनाएर आसेपासेलाई टिकट दिइए विद्रोह गर्ने चेतावनी दिएको हो।
त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिको दाबेदार रहेकी पदमा भुसालको सभापतित्वमा कार्यक्रम गरेर गुटको नाममा लामो समयदेखि विधान, पद्धति र विद्यार्थीको आवाज उठाउन खोजेका नेतालाई पाखा लगाउने कुचेष्टा नगर्न भन्दै देशभरिको क्याम्पसमा विद्रोह गर्ने संकेत सो समूहले गरेको हो।
भेलालाई सम्बोधन गर्दै लामो समयदेखि संगठन भनेर दुःख गरेको विद्यार्थीलाई कम आँक्ने काम भएमा हरेक क्याम्पसमा स्वतन्त्र उम्मेदवार उठाउने चेतावनी नेविसंघ पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीले दिए। आफूले विधान कार्यान्वयन हुनुपर्छ भन्दै संगठनभित्र ३२ वर्षे उमेरहद लागू गराउन आमरण अनशनसमेत बसेको स्मरण गर्दै उनले विधान र विद्यार्थीको हितविपरीत हुने सबै कुकृत्यको खुलेर प्रतिवाद गर्ने बताए।
‘विद्यालय गएर नेपालको वास्तविक नक्सा सिकाउने अभियान, चिनौँ सिमाना जोगाऔँ माटो, मास्क मुभमेन्ट, टपर्सजस्ता दर्जनौँ क्रियटिभ कार्यक्रम गरेको, विधान कार्यान्वयन गर्न आमरण अनशन बसेको समूहलाई कम आँक्ने काम भयो र यदि बजारमा सुनेको हल्लाजस्तै अन्य कुनै दलसँग मिलेर स्ववियु निर्वाचनमा भाग लिए हरेक क्याम्पसमा हाम्रो स्वतन्त्र उम्मेदवार हुन्छन्,’ त्रिपाठीले भने।
नेविसंघका पूर्वमहामन्त्री तथा बागमती प्रदेशका सचेतक साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा कांग्रेस बागलुङ जिल्ला सभापति जित शेरचन, नेविसंघकै पूर्वमहामन्त्री बलदेव तिमल्सिना, पूर्वउपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्वसहमहामन्त्री परमेश्वर शाह, पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी, युवा नेता इन्दु शर्मा, लीलाबल्लभ दाहाल, दीपेन्द्र क्षेत्री, सुशील भट्ट, दीपक ओझा, नीराजन शाही, मनीष रायमाझी, राजकुमार उप्रेती, महेश पौडेल, सुवास घिमिरे, प्रशान्त लामिछाने, विनोद बराललगायत उपत्यकाका अन्य नेता–कार्यकर्ता सहभागी भएको नेविसंघ नेता मनीष सिंखडाले बताए।