अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर एस्क्र्टस्को नेपालका लागि आधिकारिक वितरक आइएमई अटोमोटिभले महिला सशक्तीकरणका लागि नयाँ अभियान सुरु गरेको छ । कम्पनीले सैद्धान्तिक एवं व्यावहारिक ज्ञानसहितको निःशुल्क तालिम प्रदान गर्ने अभियान सुरु गरेको हो ।
उक्त तालिममार्फत महिलालाई ब्याक हो लोडर चलाउने सीप हासिल गर्न, सवारीसाधनको इजाजतपत्र प्राप्त गर्न मद्दत गर्नुका साथै सम्बन्धित क्षेत्रमा सुरक्षित रोजगारीका अवसर खोज्न मद्दत पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ । यस्ता अभियानले महिला सशक्तीकरणमा जोड दिँदै परम्परागत मान्यतामा परिवर्तन आउने कम्पनीले अपेक्षा गरेको कम्पनीले जनाएको छ ।
आइएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले निर्माण उद्योगमा महिलाले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास रहेको बताए । उनले भने, ‘यो निःशुल्क तालिम प्रदान गरेर, हामी महिलालाई सशक्तीकरण गर्ने र उनीहरूलाई सफल हुन आवश्यक पर्ने उपकरण उपलब्ध गराउन सफल हुने विश्वासमा छौँ ।’ यो अभियान सबै पृष्ठभूमि र उमेरका महिलाका लागि खुला हुने जनाइएको छ । तालिमको अन्त्यमा सहभागीले प्राप्त गर्ने पूर्णताको प्रमाणपत्रले सम्भावित रोजगारदातालाई आफ्नो नयाँ प्राप्त सीप प्रदर्शन गर्न प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।