नवनिर्वाचित राष्ट्रपतिको निवासमै पुगेर सभामुखले दिए बधाई

शुक्रबार, २६ फागुन, २०७९
डिजिटल संस्करण

सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई आज बिहान उनकै निवासमा पुगेर भेट गरी बधाई दिएका छन् । मुलुकको राष्ट्राध्यक्षमा निर्वाचित भएकामा पौडेललाई सफल कार्यकालका लागि सभामुख घिमिरेले शुभकामनाका साथ बधाई ज्ञापन गरेका छन् । नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

सभामुख घिमिरेले बहराइनमा शनिबारदेखि हुने अन्तरव्यवस्थापिका संघको एक सय ४६औँ बैठकमा भाग लिन आफू आज त्यसतर्फ जान लागेको पनि सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई जानकारी गराएका छन् ।

उक्त बैठकमा जाने कार्यक्रम यसअघि नै निर्धारण भइसकेकाले नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ कार्यक्रममा सहभागी हुन नपाउने व्यहोरासमेत सभामुख घिमिरेले जानकारी गराएको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेलले उक्त बैठकका लागि नेपालका तर्फबाट सफलताको शुभकामना व्यक्त गरेका थिए ।
 

सुझावित समाचार