यी हुन् राष्ट्रपति निर्वाचनमा अनुपस्थित प्रदेश सांसद

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण

नयाँ राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ। कुल आठ सय ८२ मतदाता रहेको राष्ट्रपति निर्वाचनमा कुल आठ सय ३१ मत खसेको छ। 

संघतर्फ तीन सय १३ र प्रदेशतर्फ पाँच सय १८ मत खसेको सहायक निर्वाचन अधिकृत अमृता शर्माले जानकारी दिइन्।   

शर्माका अनुसार प्रदेशतर्फ ३२ जना सदस्यले निर्वाचन प्रक्रियामा भाग लिएका छैनन्। जसमा राप्रपाका २८, नेमकिपाका तीन र जसपाका एक प्रदेश सांसद निर्वाचन प्रक्रियामा सहभागी भएनन्। 

प्रतिनिधिसभाका दुई सय ७५ र राष्ट्रिय सभाका ५९ गरी कुल तीन सय ३२ सदस्य छन्। यसमध्ये सांसद डा. चन्द्र भण्डारी र वर्षमान पुन बिरामी भएकोले उनीहरू निर्वाचन प्रक्रियामा भाग लिएनन्। 

यस्तै, सांसद लक्ष्मी कोइरीको मुद्दा विचाराधीन अवस्थामा छ भने सांसद सहनाज रहमानको मृत्यु भइसकेको छ। नयाँ राष्ट्रपति चयन प्रक्रिया राप्रपा १४ र नेपाल मजदुर किसान पार्टीका एकल सांसद प्रेम सुवाल तटस्थ रहे।  

मतदान बिहान १० देखि नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा संघीय सांसद र प्रदेश सभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र कायम गरिएको थियो। 

राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र आठदलीय गठबन्धनबाट रामचन्द्र पौडेल मैदानमा छन्। 

निर्वाचन आयोगले ४ बजेबाट मतगणना सुरु गर्ने निर्णय भएको छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको अन्नपूर्ण स्काई लाइट हलमा थालिने मतगणनाको परिणाम ढिलोमा आजै साँझ ७ बजेभित्र घोषणा गर्ने तयारी छ। 

सुझावित समाचार