आसिफको मेडन ओडिआई शतक, एक हजार रन पनि पूरा

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण
आसिफको मेडन ओडिआई शतक, एक हजार रन पनि पूरा

तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका

नेपाली ओपनिङ ब्याटर आसिफ शेखले एकदिवसीय क्रिकेटमा मेडन शतक बनाएका छन् । आइसिसी विश्वकप क्रिकेट लिग– २ को अन्तिम शृंखलाअन्तर्गत पपुवा न्युगिनीविरुद्धको जारी खेलमा आसिफले सानदार शतक बनाएका हुन् । 

पछिल्लो आसिफको ब्याटिङ सानदार फर्ममा देखिएको छ । यसअघि युएईमा भएको सिरिजअन्तर्गत पपुवा न्युगिनीविरुद्धको अन्तिम म्याचमा पनि उनले उत्कृष्ट ब्याटिङ गर्दै नटआउट ८६ रन बनाएका थिए ।  

आजको म्याचमा उनले एक सय एक बलमा दुई छक्का र दश चौकाको सहायताले शतक पूरा गरे । यसक्रममा उनले कुशल भुर्तेलसँग एक सय १० रनको शतकीय साझेदारी गरी नेपाललाई सुदृढ सुरुवात गराए । पिएनजीका फिल्डरबाट दुईपटक जीवनदान पाएका आसिफले त्यसको भरपूर लाभ उठाए । 

एकदिवसीय म्याचमा यो उनको पहिलो शतक हो । यी २१ वर्षीय विकेटकिपर ब्याटरले सात अर्धशतक बनाएका छन् । यसबीच उनले एकदिवसीय म्याचमा एक हजार रन पूरा गरेका छन् । 

७ सेप्टेम्बर २०२१ मा एकदिवसीय क्रिकेटमा डेब्यु गरेका आसिफले ३२औँ म्याचमा एक हजार रन पूरा गरे । उनी नेपालका लागि सबैभन्दा धेरै रन बनाउने दोस्रो खेलाडी बनेका छन् । 

एकदिवसीयमा सबभन्दा धेरै रन बनाउने रेकर्ड कप्तान रोहितकुमार पौडेलको नाममा छ । 

सुझावित समाचार