राष्ट्रपति संस्था निष्पक्ष हुने सम्भावना कम देखेपछि तटस्थ बस्ने निर्णय गर्‍यौँ : राजेन्द्र लिङ्देन

बिहिबार, २५ फागुन, २०७९
डिजिटल संस्करण
राष्ट्रपति संस्था निष्पक्ष हुने सम्भावना कम देखेपछि तटस्थ बस्ने निर्णय गर्‍यौँ : राजेन्द्र लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

भावी राष्ट्रपतिको भूमिकामाथि आशंका गर्दै तथा आफ्नो राजनीतिक एजेन्डालाई ध्यानमा राखेर संसद्को पाँचौँ शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले भावी राष्ट्रपतिका दुवै उम्मेदवारको व्यक्तित्वमाथि शंका गर्दै मतदानमा तटस्थ बस्ने निर्णय लिएको छ । राप्रपा राजतन्त्र पक्षधर शक्ति हो । 

मतदानमा सहभागी नहुने निर्णय गर्नुको कारण के हो ?
पार्टीभित्र समीक्षा गर्दा यही उपयुक्त भन्ने देखियो । सैद्धान्तिक हिसाबले पनि संविधानले राष्ट्रपति पदलाई सेरेमोनियल र निष्पक्ष हुनुपर्छ भनेर परिकल्पना गरेको छ । तर, दुवै उम्मेदवार दलको सक्रिय व्यक्तित्व पर्नुभयो । दुवै दलबाट निर्वाचित भएर आउनुभएका प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । त्यसकारण फेरि पनि राष्ट्रपति संस्था निष्पक्ष हुने सम्भावना कम देखेका कारण हामीले तटस्थ बस्ने निर्णय गर्यौँ । 

राजसंस्थाको पक्षधर भएका हिसाबले पनि राष्ट्रपतिमा मत हाल्नुहुन्न भन्ने कारण पनि हो ?
त्यो कुरा त छँदै छ । त्यो हाम्रो आमशुभेच्छुकको राप्रपा तटस्थ बस्योस् भन्ने चाहना पनि थियो । र, सँगसँगै यो व्यावहारिक यथार्थ पनि हाम्रोसामु देखियो । अभिभावकीय संस्थाको भूमिका निर्वाह गर्न सक्ने स्वतन्त्र व्यक्ति भइदिएको भए हुन्थ्यो भन्ने हो । 

अस्ति भर्खर राष्ट्रपतिबाटै तपाईंलगायत राप्रपाका मन्त्रीहरूले शपथ खाएको अवस्थामा अहिले राजसंस्थालाई कारण देखाउँदै मत नहाल्दा त तपाईंहरूमाथि नैतिक प्रश्न उठ्दैन र ?
होइन, अहिले पनि राष्ट्रपति पदलाई बहिष्कारभन्दा पनि निर्वाचनमा भाग नलिने भन्ने निर्णय मात्रै गरेका हौँ । अहिलेलाई राष्ट्रपति निर्वाचनमा राप्रपा तटस्थ बसेको हो भन्ने मात्रै बुझ्नु पर्यो ।

सुझावित समाचार