क्रिएटिभिटीका लागि कति खतरनाक च्याटजिपिटी ?

च्याटजिपिटीले छोटो समयमा विश्वभर तरंग फैलाइरहँदा कतिले यसलाई सिर्जनात्मक खतराको पूर्वसंकेतसमेत भएको बताएका छन्

बुधबार, २४ फागुन, २०७९
डिजिटल संस्करण

कृत्रिम बौद्धिकता (एआई)को एउटा टुल सार्वजनिक भएको धेरै समय भएको छैन । गत वर्ष नाभेम्बरमा सार्वजनिक भएको च्याटजिपिटीले छोटो समयमा विश्वभर तरंग फैलाएको छ । कतिले यसलाई सिर्जनात्मक खतराको पूर्वसंकेतसमेत भएको बताएका छन् ।

खासमा च्याटजिपिटीले कन्टेन्ट लेख्ने काम गर्छ, जुन अति सटिक हुन्छ । झट्ट हेर्दा मान्छेले नै लेखेको जस्तो प्रतीत हुन्छ । यही टुल गुगलका लागि खतराको संकेत बनेको र दुई वर्षभित्र यसले गुगललाई ध्वस्त पार्ने जिमेलका संस्थापक पलले केही समयअघि भनेका थिए । हाल यो प्रोग्राममा केही कमी देखिन्छन् । तर, समयसँगै च्याटजिपिटी बलियो हुँदै जानेछ । यसलाई लिएर केहीले खुसी व्यक्त गरिरहँदा केहीले भने भयको महसुस गरेका छन् । इन्टरनेटमा च्याटजिपिटीबारेका टीकाटिप्पणी पढ्दा बारम्बार खतरा भन्ने शब्द आउँछ । केही मानिस यो प्रोग्रामले तीव्र रूपमा मानव मस्तिष्कको नक्कल गरिरहेको बताउँछन् । 

के हो च्याटजिपिटी ? :  च्याटजिपिटी च्याटबट हो । यसले विभिन्न प्रश्नको लिखित जवाफ दिन्छ । त्यो पनि सटिक । साथै, व्यक्तिगत समस्यामा पनि यसले सल्लाह दिन्छ । अतः यो टुल्समार्फत बढीभन्दा बढी कन्टेन्ट सिर्जना गर्ने अपार सम्भावना देखिएको छ । 

उदाहरणका लागि यसले सरल उपाय सुझाउन सक्छ । साथै, सोही उपायको नयाँ संस्करण पनि तत्काल सिर्जना गर्न सक्छ । कविता लेख्नेदेखि एकेडेमिक पेपर र विशेष मान्छेलाई लेखिने पत्र लेख्नमा पनि च्याटजिपिटीले सहयोगी भूमिका खेल्न सक्छ । च्याटजिपिटी एउटा यस्तो प्रोग्राम हो, जसले हरेक प्रश्नको जवाफ केही क्षणमै दिन्छ । कविता लेख्ने काम दिनुस् या प्रेमपत्र, यसले तत्काल लेखेर स्क्रिनमा देखाइदिन्छ । यद्यपि, यसको स्तरबारे अनेक कोणबाट बहस गर्न सकिन्छ । तर, जुन गतिमा लेख्छ, त्यसबारे होइन । अंग्रेजीसहित करिब १०० वटा भाषामा उपलब्ध च्याटजिपिटीले अंग्रेजीमा भने सटिक उत्तर दिन्छ । 

यो सिस्टमलाई ओपन–एआई नामक कम्पनीले सन् २०१५ मा स्याम अल्टमेन र एलन मस्कले विकसित गरेका थिए । तर, पछि सन् २०१८ मा मस्क यसबाट छुट्टिएका थिए । सार्वजनिक भएको पाँच दिनमै च्याटजिपिटीका पाँच लाखभन्दा बढी प्रयोगकर्ता बने । यो प्रोग्रामलाई परिष्कृत बनाउन प्रयोगकर्तासँग च्याटबटको प्रश्नोत्तर प्रयोग गरिएको थियो । 

ओपन–एआईका अनुसार च्याटबट परीक्षण र शोधको अवधिमा सबैका लागि निःशुल्क हुनेछ । तर, केही मानिसले भविष्यमा च्याटजिपिटी प्रयोगार्थ ओपन–एआईले शुल्क लिन सक्ने आकलन गरेका छन् । यसैबीच, कम्पनीले च्याटबट अझै परीक्षण अवधिमै रहेकाले कहिलेकाहीँ गलत उत्तर पनि दिन सक्ने बताएको छ । कारण, च्याटबटमा सन् २०२१ सम्मको मात्रै डेटा हिस्ट्री समावेश छ ।

गुगललाई चुनौती :  अहिले सबैभन्दा ठूलो गुरु भनेकै गुगल हो । आफूलाई चाहिने जानकारी गुगलबाट एक क्लिकमै पाउन सकिन्छ । तर, कतिपय भने गुगलको दबदबालाई चुनौती हुने बताउँछन् । यति हुँदा पनि च्याटबटले सही नै उत्तर बताउँछ भनी आँखा चिम्लनु गलत हुनेछ । 

यस्तो एआई प्रोग्रामले धेरैभन्दा धेरै डेटा संकलन गरेर राख्छ । च्याटजिपिटीको मुख्य ध्येय शब्द र संवादबीचको अनुमानमा उत्तर दिने हो । यसले अल्गोरिदम प्रयोग गरी शब्द वा वाक्यलाई सही ढंगले लेख्छ । यसलाई ‘लार्ज ल्यांग्वेज मोडल’ (एलएएम) पनि भनिन्छ ।

अहिले सबैभन्दा ठूलो गुरु भनेकै गुगल हो । आफूलाई चाहिने जानकारी गुगलबाट एक क्लिकमै पाउन सकिन्छ । तर, कतिपय भने च्याटजिपिटी गुगलको दबदबालाई चुनौती हुने बताउँछन् । यति हुँदा पनि च्याटबटले सही नै उत्तर बताउँछ भनी आँखा चिम्लनु गलत हुनेछ । 
 

साओ पाउलो विश्वविद्यालयका प्रोफेसर अल्भारो मचादो डायसका अनुसार यस्तो च्याटबट निर्माण गर्दा यसलाई कैयौँ साधारण प्रश्न सोधिन्छ । त्यसपछि टेक्निसियनले यसको विस्तृत जवाफ दिन्छन् । यदि च्याटबटको जवाफ सही नभएको खण्डमा सिस्टममा सही जवाफ राखिन्छ । र, यस्तो थुप्रै प्रश्नमा गरिन्छ । च्याटजिपिटी हुबहु मान्छेझैँ बोल्न सिक्छ । मचादोका अनुसार भाषा बुझ्न सक्ने भएकैले यसलाई विशेष बनाउँछ । इन्जिनियर पनि अहोरात्र यसलाई स्मार्ट बनाउन लागिपरेका छन् । 

खासमा, इन्जिनियर अल्गोरिदममार्फत दिइएका जवाफ चेक गर्छन् । अनि प्रोग्रामलाई प्रतिक्रिया दिँदै यसलाई अझै सुदृढ बनाउने कोसिस गर्छन् । प्रयोगकर्ताको प्रश्नको जवाफ अक्षरमा हुन्छ, जुन आफैँमा गम्भीर हुन्छ । यस्तै, च्याटजिपिटीलाई गल्ती स्वीकार गर्ने तालिम पनि दिइएको हुन्छ । यसले गलत धारणालाई ठीक गर्दै असान्दर्भिक प्रश्नलाई अस्वीकारसमेत गर्छ । 

कति खतरनाक ? :  च्याटजिपिटीले सुविधा र संकट सँगसँगै ल्याएको छ । जुन जागिर शब्द र वाक्यमा निर्भर थिए, त्यसमा खतराको घण्टी बज्न थालेको छ । उदाहरणका लागि पत्रकारितालाई लिन सकिन्छ । यदि सिस्टम अझै सुदृढ बन्यो भने पत्रकारको जागिर अपेक्षाअनुसार कम हुनेछ । हुन सक्छ, यस्तो समय पनि आउँछ, जहाँ उनीहरूको आवश्यकता नै पर्नेछैन । किनकि, हरेक आर्टिकल च्याटबटले नै लेख्नेछ । च्याटजिपिटीले कोडिङ गर्ने कम्प्युटर प्रोग्रामिङ सेक्टरमा पनि हस्तक्षेप गर्न सक्ने देखिन्छ । अमेरिकास्थित न्युयोर्कमा विद्यार्थीले च्याटजिपिटीमार्फत गृहकार्य गर्न थाले । परिणाम, लगभग सबै स्कुल र सार्वजनिक डिभाइसमा प्रतिबन्ध लगाउनुप¥यो । 

ओपन–एआई पनि आफ्नो च्याटबटद्वारा उत्पादित कन्टेन्टलाई भिन्दै परिचय दिने कोसिस गरिरहेको छ । टेक्स्ट (सामग्री) च्याटबटले लेख्यो वा कुनै व्यक्ति भन्ने पत्ता लगाउने अल्गोरिदम यसमा छन् । च्याटबटबाट नक्कल गरी होमवर्क र असाइनमेन्टमा पेस्ट गर्न सक्ने सम्भावनाले शिक्षा क्षेत्रमा भय सिर्जना गरिरहेको छ ।

आधा मानिस, आधा मेसिन :  ‘आर्टिफिसियल इन्टेलिजेन्स : फ्रम जिरो टु मेटाभर्स’ कृतिका लेखकले परिवर्तन हुँदै गइरहेको समयसँगै आफूहरू पनि परिवर्तन हुनुपर्ने धारणा राख्छन् । उनका अनुसार जवाफभन्दा पनि प्रश्न विशेष बनेको छ । कसरी प्रश्न गर्ने र प्रश्न गर्न कसरी सोच्ने भन्नेतिर ध्यान दिनुपर्छ । यसले विद्यार्थीलाई आधा मान्छे र आधा मेसिनमा रूपान्तरण गर्नेछ । तर, अध्यापकले पनि यसलाई सही तरिकाले प्रयोग गर्न सिक्नुपर्ने माग उठिरहेको छ । 

यहाँ विद्यार्थीको चिन्ताको विषय मात्रै होइन, क्रिएटिभिटी र कन्टेन्टको काम गर्ने मान्छेमा चिन्ता र भयको सिर्जना गरेको छ । च्याटजिपिटी सार्वजनिक भएको १० दिनभित्रै सन फ्रान्सिस्कोका एक डिजाइनरले दुई दिनमा बालबालिकाका लागि सचित्र किताब तयार पारेका थिए । प्रोफेसर डायसका अनुसार क्रिएटिभिटी (सिर्जनात्मक शक्ति) का लागि असाधारण खुबी चाहिन्छ । तर, अल्गोरिदमको सहयोगमार्फत सिर्जना गरिएका चिजले मानिसमा सिर्जनात्मक हुने प्रवृत्ति कम हुन्छ ।

सुझावित समाचार