सहिद स्मारक ए डिभिजन लिग : नवप्रवेशी भिडन्तमा चर्च ब्वाइज बलियो

बुधबार, २४ फागुन, २०७९
डिजिटल संस्करण

चर्च ब्वाइज युनाइटेडले सहिद स्मारक ए डिभिजन लिगमा लगातार दोस्रो जित निकालेको छ । च्यासल मैदानमा मंगलबार भएको खेलमा चर्च ब्वाइजले अर्काे नवप्रवेशी क्लब खुमलटारलाई ३–१ ले हरायो । दोस्रो जितपछि चर्च ब्वाइजले दुई खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।

पहिलो खेलमा फ्रेन्ड्सलाई १–० ले हराएको खुमलटार दोस्रो खेलमा फिक्का रह्यो । खुमलटारको दुई खेलबाट तीन अंक छ । पहिलो खेलमा चर्च ब्वाइजले नेपाल पुलिसविरुद्ध २–१ को पुनरागमन जित निकालेको थियो । गत वर्ष सहिद स्मारक बी डिभिजन लिगमा चर्च ब्वाइज च्याम्पियन र खुमलटार उपविजेता हुँदै ए डिभिजन लिगमा बढुवा भएका थिए । चर्च ब्वाइजका प्रशिक्षक प्रदीप हुमागाईंले योजनाअनुसार खेल्दा जित प्राप्त भएको बताए । ‘हामी योजनाअनुसार खेल्दा सफल भयौँ, खेलाडीले धेरै मिहिनेत गरे,’ प्रदीपले भने, ‘हामी यो जितका लागि योग्य थियौँ ।’ 

आशिषको दुई गोल 
चर्च ब्वाइजको जितमा आशिष चौधरीले दुई गोल गरे । पहिलो र दोस्रो हाफमा आशिषले गोल गरे । खेलको ११औँ मिनेटमा आशिषले चर्च ब्वाइजलाई १–० को अग्रता दिलाए । खुमलटारका डिफेन्डर पदम भट्टराई र गोलरक्षक देव लिम्बूबीच तालमेल नमिलेको फाइदा उठाउँदै आशिषले टोलीलाई अग्रता दिलाए । एरिक विष्टले १८औँ मिनेटमा गोल गर्दा चर्च ब्वाइजले २–० को अग्रता लियो ।

खुमलटारका डिफेन्डरले गरेको गल्तीमा एरिकले सहजै डिबक्सबाट गोल गरे । खेलको ४०औँ मिनेटमा विदेशी खेलाडी मेसौके ओलोमोउले खुमलटारलाई २–१ को अवस्थामा ल्याए । मेसौकेको लिगमा दोस्रो गोल हो । पहिलो खेलमा फ्रेन्ड्सविरुद्ध मेसौकेले विजयी गोल गरेका थिए । चर्च ब्बाइजले ७१औँ मिनेटमा ३–१ को अग्रता बनायो । आशिषले व्यक्तिगत दोस्रो गोल गरे । पहिलो खेलमा एक विदेशी खेलाडी मैदान उतारेको चर्च ब्वाइजले दोस्रो खेलमा गोलरक्षक प्रिसो एनजान्गा र मिडफिल्डर अलुसु बेम्हापलाई मैदानमा उतारेको थियो । 

थ्री स्टार र फ्रेन्ड्स बराबरी
मंगलबार दुई ललितपुरे क्लबबीच रोमाञ्चक भिडन्त भयो । थ्री स्टार र फ्रेन्ड्स क्लब एकआपसमा प्रतिस्पर्धा गर्दा खेलको अन्तिम नतिजा ३–३ को बराबरी निस्कियो । खेलसँगै थ्रीस्टार र फ्रेन्ड्सले तालिकामा अंक खोलेका छन् । पहिलो खेलमा थ्री स्टार एपिएफ फुटबल क्लबसँग २–० ले पराजित भएको थियो । फ्रेन्ड्स उद्घाटन खेलमा खुमलटारसँग १–० ले स्तब्ध भयो । एक अंक जोडेको फ्रेन्ड्स दशौँ र थ्री स्टार ११औँ स्थानमा छन् । 

विदेशी खेलाडीलाई मैदानमा उतारेका फ्रेन्ड्स र थ्री स्टारबीचको खेल निकै रोमाञ्चक बनेको थियो । थ्री स्टारका लागि मार्टिन कयोडे अजयी, योगेश गुरुङ र प्रदीप लम्सालले गोल गरे । कुशल फुँयाल, अख्रोरबेक उक्तामोभले गोल गर्दा थ्री स्टारका अनिल महर्जनले आत्मघाती गोल गरेका थिए । 

सुझावित समाचार