खेल श्रमसंस्कृति र कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ : प्रधानमन्त्री

मंगलबार, २३ फागुन, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मिहिनेतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको बताएका छन्। 

मंगलबार बिहान काठमाडौंको गोकर्णमा एसियन एथलेटिक्स एसोसिएसनको तत्वावधान तथा नेपाल एथलेटिक्स संघको आयोजनामा आयोजित १६औँ एसियन क्रस कन्ट्री च्याम्पियनसिपमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। 

प्रधानमन्त्रीले भने, ‘आजको आधुनिक युगमा खेलकुद राष्ट्रको गौरव, कूटनीतिको महत्वपूर्ण आधारस्तम्भ, अन्तर्राष्ट्रिय सम्बन्धको बलियो खम्बा, राष्ट्रिय अर्थतन्त्रको आधार र श्रम एवं मिहिनेतको संस्कृति विकासका निम्ति उत्प्रेरकसमेत भएको छ। जसले यसको महत्वलाई ठीक ढंगले बुझ्न सक्छ, त्यसले मात्रको राष्ट्रको सही नेतृत्व गर्न सक्छ, जनआकांक्षा सम्बोधन गर्न सक्छ। यसर्थ, खेल क्षेत्र विविधतामा एकता, सुशासन, दिगो विकास र समृद्धिको महत्वपूर्ण आधारका रूपमा विकसित भएकोमा हामी सबैले गौरव गर्नैपर्छ।’ 

प्रधानमन्त्रीले खेल कूटनीतिमार्फत ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएको, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका र आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएको भन्दै खेल क्षेत्रको विकास सरकारको प्राथमिकतामा रहेकोसमेत बताए। 
 

सुझावित समाचार