विश्वविद्यालयका कक्षाकोठामा ‘लोकतन्त्र’

हाम्रा विश्वविद्यालयमा कार्यरत शिक्षकमा प्राज्ञिक इमानदारीको चरम अभाव छ, त्यसैले त्यहाँका कक्षाकोठामा लोकतन्त्रको प्रत्याभूति हुन सकेको छैन

मंगलबार, २३ फागुन, २०७९
डिजिटल संस्करण

विश्वविद्यालय दुनियाँभर अहिलेसम्म उपलब्ध सबै ज्ञान मिमांशाको संश्लेषण गर्ने थलो हो । मानवजातिले हासिल गरेका सबै ज्ञानविज्ञानबारे बौद्धिक विश्लेषण र थप नयाँ ज्ञानको खोजीका लागि विश्वविद्यालयले काम गरिरहेको हुन्छ । सबैखाले ज्ञानको केन्द्र नै अचेल विश्वविद्यालय हुने गरेको छ । त्यस्तो ज्ञानको केन्द्रमा लोकतन्त्रको अवस्थाचाहिँ कस्तो छ ?

विशेषगरी, नेपालको सन्दर्भमा यसको विवेचना गर्न आवश्यक छ । भर्खरै आमनिर्वाचन सम्पन्न भयो, पाँच वर्षमा एकपटक मत दिनु मात्र लोकतन्त्र होइन । लोकतन्त्रलाई पाँच वर्षमा एकपटक गरिने मत लगानीको घेरामा सीमित गरिनु हुँदैन । लोकतन्त्र त फराकिलो र व्यापक छ । यसै सेरोफेरोमा नेपालका विश्वविद्यालयमा लोकतन्त्रको स्थितिबारे विमर्श गरौँ । 

प्रत्येक आमनिर्वाचनमा मत हाल्ने काम हुँदै गए पनि हाम्रो समाजमा लोकतन्त्र साँघुरिँदै गइरहेको छ । विश्वका सबैभन्दा ठूलो लोकतान्त्रिक भनिने देश भारतमा अहिले लोकतन्त्र भाजपाका लागि मात्रै छ । भाजपाको हिन्दू राष्ट्रवादी र कट्टरपन्थी विचारसित असहमति राख्ने वा विश्वस्त नहुने जोकोहीका लागि त्यहाँ लोकतन्त्र केवल ‘लिप सर्भिस’ हुँदै आएको छ । समाज र राज्यका सबै अवयवको तीव्र गतिमा अलोकतान्त्रीकरण र दलीयकरण भइरहेको छ । समाज र राष्ट्रमा लोकतन्त्र फस्टिँदै र फैलिँदै जरा गाड्न त विश्वविद्यालयका कक्षाकोठामा लोकतन्त्रको अभ्यास हुन जरुरी छ । जति धेरै मात्रामा लोकतन्त्रको अभ्यास विश्वविद्यालयका कक्षाकोठामा हुन पाउँछ समाजमा त्यसको हाँगाबिँगा त्यति नै फैलिन पाउँछन् ।

लोकतन्त्रको पहिलो सर्त हो, प्रश्न गर्न पाउनु र विनात्रास निर्धक्क प्रश्न गर्न पाउने वातावरण सिर्जना हुनु । प्रश्नको उत्तरमा चित्त नबुझे त्यसमा स्वस्थ बहस विमर्श गर्न पाउनु । हाम्रा विश्वविद्यालयका कक्षाकोठामा के वास्तवमा प्रश्नलाई स्वागत गरिन्छ ? के विद्यार्थीलाई प्रश्न गर्न प्रोत्साहित गरिन्छ कि निरुत्साहित गरिन्छ ? ज्ञानको मिमांशा गर्ने, नयाँ–नयाँ विषयमा अध्ययन, अनुसन्धान गर्ने र नयाँ–नयाँ ज्ञान उत्पादन गर्ने विश्वविद्यालयमै हो । प्रश्नले नै नयाँ–नयाँ आविष्कार र नवप्रवर्तनको ढोका खोल्ने गर्छन् ।

सर आइज्याक न्युटनले स्याउ बोटबाट तल किन भुइँमै खस्यो भन्ने प्रश्न आफैँले आफैँलाई नसोधेका भए के गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लाग्थ्यो ? त्यस्तै राइट ब्रदर्सले चराहरू कसरी उड्छन् ? के मानिस त्यसरी चराजस्तै उड्न सक्दैनन् ? भनेर नघोत्लिएका भए के हवाईजहाज त्यतिखेर बन्दो हो ? अथवा, स्टिभ जब्सले सूर्यमुखी फूलको गुणबारे प्रश्नसहित अध्ययन नगरेका भए एप्पल डिभाइसको आविष्कार हुन सक्दो हो त ? यस्तै प्रश्न नगरेका भए अहिलेको नवीन आविष्कार, सूचना प्रविधिमा विश्वले यति चाँडै फड्को मार्न सक्थ्यो होला त ? के मानव सभ्यता यहाँसम्म आउन सक्दो हो त ? 

हाम्रा विश्वविद्यालयमा सामान्यतः प्रश्नलाई त्यति हार्दिकतासाथ लिइँदैन । शिक्षक र प्राध्यापकको पहिलो काम नै प्रश्न सोध्ने विद्यार्थीको सोच र प्रवृत्तिलाई प्रारम्भमै बन्ध्याकरण गर्नु हो कि जस्तो देखिन्छ । प्रश्न सोध्ने विद्यार्थीलाई बढ्ता जान्ने भएको भनेर अपमान गरिन्छ, हाम्रा विश्वविद्यालयमा । विद्यार्थीको नयाँ–नयाँ विषयबारे जान्ने उत्सुकता नै मर्ने गरी शिक्षकले कक्षाकोठामा आफ्ना सहपाठीका अगाडि होच्याउने, उडाउने काम गर्छन् । आफ्ना सहपाठीलाई त्यसरी सबैसामु अपमानित गरेका दृश्य प्रत्यक्ष देखेका विद्यार्थीले शिक्षकलाई प्रश्न गर्ने हिम्मतै गर्न सक्दैनन् । विद्यालयको आँगनमा गएकै दिनदेखि विद्यार्थीको प्रश्न गर्ने क्वालिटी (क्षमता) लाई शिक्षक र विद्यालयको वातावरणले निरुत्साहित गर्दै घनले हिर्काउँछ ।

त्यसरी शिशुकक्षादेखि विश्वविद्यालय तहसम्म घनले हिर्काउँदा हिर्काउँदा ती विद्यार्थी विश्वविद्यालयबाट प्रमाण–पत्र लिएर समाजमा आउँदा भुत्ते भएर निस्कन्छन् । सानैदेखि प्रश्न गर्न दुरुत्साहन गर्ने वातावरण र वर्षौंको घनको हिर्काइ सहँदै आएको व्यक्तिमा निहित सिर्जनशीलता बाँझोपनमा परिणत हुन जान्छ । हुन त फलामलाई निश्चित आकारमा ढालेर धारिलो बनाउन घनको हिर्काइ आवश्यक हुन्छ, तर हाम्रा विश्वविद्यालयमा विद्यार्थीको व्यक्तित्व नै ध्वस्त हुने गरी ‘ह्याम्मरिङ’ भइरहेको छ ।

विश्वविद्यालयको कक्षाकोठामा विद्यार्थीको व्यक्तित्व प्रस्फुटन गराउनभन्दा संकुचन गराउने कार्य हुँदै छ । विश्वविद्यालयबाट त्यस्तो बाँझो दिमाग लिएर समाजमा आएका विद्यार्थीले समाजलाई खासै नयाँ ज्ञान, प्रविधि र आविष्कार दिन सक्दैनन् । एक प्रकारले हाम्रा विश्वविद्यालयले वर्षौंदेखि आज्ञाकारी नोकरशाह उत्पादन गर्दै आएका छन् । एवंरीतले मेसिनरी पार्टपुर्जा उत्पादन गर्ने काम हाम्रा विश्वविद्यालयको मुख्य पेसा नै भएको छ । 

केही वर्षदेखि पुनः सेमेस्टर प्रणालीमा हाम्रा विश्वविद्यालय गएका छन् । सबै प्रणालीका आआफ्नै फाइदा र बेफाइदा हुन्छन् नै । हाम्रो सबैभन्दा जेठो त्रिभुवन विश्वविद्यालय पहिला किन सेमेस्टरबाट वार्षिकमा आयो र अहिले किन वार्षिकबाट एकाएक सेमेस्टरमा गयो ? त्यसमा पर्याप्त बहस भएन, हुन सकेन । सेमेस्टर प्रणालीमा लैजान दाताहरूको प्रत्यक्ष प्रभाव रहेकामा द्विविधा छैन ।

तुलनात्मक रूपमा प्रश्न गर्ने वातावरणको दृष्टिकोणले वार्षिकभन्दा सेमेस्टर प्रणाली प्रतिकूल देखिन्छ । सेमेस्टर प्रणालीमा आन्तरिक मूल्यांकनलाई विशेष महत्व दिइएको हुन्छ । कक्षाशिक्षकले निश्चित आन्तरिक मूल्यांकनमा विद्यार्थीलाई ग्रेडिङ गर्छन् वा अंक प्रदान गर्छन् । उदाहरणका लागि त्रिविमा आन्तरिक ४० प्रतिशत र बोर्ड ६०, पोखरा विविमा आन्तरिक ६० प्रतिशत र बोर्ड ४० प्रतिशतमा अंकभार विभाजन गरिएको हुन्छ ।

हाम्रा विश्वविद्यालयमा सामान्यतः विद्यार्थीका प्रश्नलाई हार्दिकतासाथ लिइन्न । शिक्षक र प्राध्यापकको पहिलो काम नै प्रश्न सोध्ने विद्यार्थीको सोच र प्रवृत्तिलाई ‘बन्ध्याकरण’ गर्नु हो कि जस्तो देखिन्छ । त्यहाँका कक्षाकोठामा प्रश्न सोध्ने विद्यार्थीलाई बढ्ता जान्ने भएको भनेर अपमानित गरिन्छ ।
 

आन्तरिक मूल्यांकनमा टर्म पेपर, पुस्तक समीक्षा, प्रस्तुतीकरण, मिड टर्म र इन्ड टर्म हुन्छन् । ती आन्तरिक परीक्षामा शिक्षकले कम ग्रेडिङ गर्छन् कि भन्ने त्रासले विद्यार्थीले कक्षामा प्रश्न गर्ने हिम्मत नै गर्दैनन् । कतिपय शिक्षकले त विद्यार्थीलाई पहिलो दिनदेखि नै डोमिनेट गर्छन् र मनोवैज्ञानिक रूपमा त्रसित र आतंकित बनाउँछन् । विद्यार्थीले प्रश्न गर्दा रिसाउने गर्छन् र प्रत्युत्तरमा कतिपयले तिखो जवाफ दिन्छन् ।

त्यसैले, शिक्षक रिसाउलान् र आफूलाई कम अंक वा ग्रेड दिइएला भन्ने डरले कक्षामा शिक्षकलाई प्रश्न गर्नुभन्दा उनको भक्त बन्नुमै आफ्नो कल्याण देख्छन् । त्यसकारण उनीहरू कक्षामा केवल असल भक्तजन, दर्शक र प्रशंसक बन्छन् । शिक्षकले जे पढाए पनि, जसरी पढाए पनि र जस्तो पढाए पनि उनैको जयजयकार गर्छन् । दक्षिण एसियामा प्राचीनकालदेखि गुरुकुल परम्परा रहँदै आएको छ । गुरुकुल परम्परामा गुरु नै सर्वेसर्वा हुने भएकाले गुरुलाई प्रश्न गर्ने कसैले हिम्मत गर्दैनन् । अनावश्यक रूपमा गुरुद्वारा दण्डित हुनुभन्दा असल चेला बन्ने ध्याउन्नमा विद्यार्थीहरू केन्द्रित हुन्छन् । विद्यार्थीले शिक्षकको ‘हनुमान्’ बन्नुमै आफ्नो कल्याण देख्छन् ।

डोरबहादुर विष्टले ‘विकास र भाग्यवाद’ पुस्तकमा नेपाली समाजको चाकरी गर्ने सामन्ती संस्कारलाई गहिरोसित विश्लेषण गरेका छन् । त्यस्तै, विश्वविद्यालयको कक्षामा पनि विद्यार्थीले शिक्षकलाई चाकरी या जिहजुरी गर्नैपर्ने जबर्जस्त वातावरण तयार पारेको छ । जसले प्रश्न सोध्छन्, तिनले आफ्नो अपमान गरेको शिक्षकले ठान्छन् । तिनले आफ्नो सम्मान नगरेको र चाकरी नगरेको ठान्ने प्रवृत्तिले गर्दा कक्षाकोठामा विद्यार्थीको लोकतन्त्र धरापमा छ । विद्यार्थी र शिक्षकको सम्बन्ध शासक र शासित (रुलर एन्ड रुल्ड) को जस्तो छ । हाम्रा शिक्षक र प्राध्यापकहरू विद्यार्थीमाथि गभर्नरजस्तो व्यवहार गर्छन् ।

यस्तो सम्बन्धको धरातलले गर्दा पनि कक्षाकोठामा लोकतन्त्रको अभ्यास विद्यार्थीले गर्न पाउँदैनन् । विद्यार्थीहरू निरीह हुन्छन्, कक्षाकोठामा निष्क्रिय बस्छन् । विद्यार्थी जति निष्क्रिय बस्छन्, त्यति नै सिकाइको गुणस्तर बढ्न सक्दैन । अहिले पनि विश्वविद्यालयमा लेक्चर विधिमै पढाइन्छ । यस विधिका कारण पनि विद्यार्थी प्यासिभ लिस्नर (निष्क्रिय स्रोता) बन्न बाध्य हुन्छन् ।

घन्टौँसम्म शिक्षकको लेक्चर सुनेर बस्नुपर्दा कक्षाकोठा पट्यारलाग्दो हुन्छ । एकोहोरो लेक्चर सुन्न बाध्य विद्यार्थी देख्दा यस्तो लाग्छ, विद्यार्थी कुनै बोरा हो र त्यसको मुख खोलेर सामान हाल्नु नै शिक्षकको प्रमुख धर्म हो । आजको सूचना र प्रविधिको जमानामा पनि शिक्षकको घन्टौँ लेक्चर सुन्नुपर्ने बाध्यताले गर्दा पनि विद्यार्थीमा ‘बाँझोपन’ वृद्धि भइरहेको छ । कुनै सिर्जनात्मकता र आलोचनात्मक चेत (क्रिटिकल थिंकिङ) को विकासमा यस्तो भाषण विधिले खासै योगदान गर्दैन । कक्षाकोठामा यस्तो निरस लेक्चर सुन्दा लाग्छ, ‘गुगल गुरु’भन्दा पनि भेट्रान गुरुले बोल्दै छन् । 

हाम्रो विश्वविद्यालयले उत्पादन गरेका जनशक्ति दक्ष र सिर्जनशील नहुनुका कारण यस्तै विद्यार्थीले आफ्नो कक्षाकोठामा लोकतन्त्रको अभ्यास गर्न नपाउनाले हो । त्यही कारणले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय फोरममा हाम्रा विद्यार्थीले प्रतिस्पर्धा गर्न सकेका छैनन् । हाम्रा विश्वविद्यालयमा कार्यरत शिक्षकमा प्राज्ञिक इमानदारीको चरम अभाव छ, त्यसैले त्यहाँका कक्षाकोठामा लोकतन्त्रको प्रत्याभूति हुन सकेको छैन । विद्यार्थीका हरेक प्रश्नको ज्ञान शिक्षकमा नहुन सक्छ । त्यस्तो अवस्थामा यो मेरो विज्ञताको क्षेत्र होइन भनेर इमानदारीपूर्वक स्विकारेर सम्बन्धित विषयका विज्ञसित सम्पर्क गर्न विद्यार्थीलाई प्रोत्साहित गर्नुभन्दा हकारपकार गर्ने कारणले गर्दा पनि विद्यार्थी आफ्नो लोकतान्त्रिक अभ्यास गर्न चाहँदैनन् ।

त्यस्ता कक्षाकोठाबाट उत्पादित जनशक्ति नै समाजका विभिन्न क्षेत्रमा आबद्ध हुन्छन् । समाज र देशको नेतृत्व पनि तिनैले गर्दै जाँदा त्यसको असर पनि क्रमशः समाज र देशमै देखा पर्दै जान्छ । तसर्थ, समाज र राष्ट्रमा लोकतन्त्रको बिरुवा हुर्कनका लागि विश्वविद्यालयका कक्षाकोठामा अभ्यास हुने लोकतन्त्रले महत्वपूर्ण स्थान राख्छ । उन्नत लोकतन्त्रका लागि विश्वविद्यालयका कक्षाकोठामा लोकतन्त्र सुनिश्चित हुन अति आवश्यक छ । त्यसका लागि शिक्षकहरू मात्रै लोकतान्त्रिक भए पुग्छ । 
(थिङ नीति अनुसन्धान प्रतिष्ठानमा विज्ञका रूपमा आबद्ध छन्) 

सुझावित समाचार