शिवरात्रिमा राखिएको रोटेपिङ अझै हटेन

आइतबार, २१ फागुन, २०७९
डिजिटल संस्करण

पशुपति क्षेत्र विकास कोषले शिवरात्रिका अवसरमा मनोरञ्जनात्मक गतिविधि गर्ने गरी एक साताका लागि भाडामा दिएको वनकालीको करिब दुई रोपनी जग्गा अझै फिर्ता लिएको छैन । यो जग्गामा अझै पनि रोटेपिङसहित व्यापार, मेला चलिरहेको छ । 

शिवरात्रि (६ फागुन )लाई लक्षित गर्दै कोषले वनकाली क्षेत्रको करिब दुई रोपनी जग्गा २० लाख रुपैयाँमा एमएमबिकेएल इभेन्ट्स एन्ड बहुउद्देश्यीय प्रालिलाई भाडामा दिएको थियो । तर, हालसम्म पनि उक्त जग्गा खाली भएको छैन । यहाँ अहिले पनि दैनिकजसो विभिन्न मनोरञ्जनात्मक खेलसहित मेला र बजार लागिरहेको छ । कोषले उक्त कम्पनीलाई एक साताका लागि भाडामा दिए पनि पछि म्याद थपेर एक महिना पुर्याएको उल्लेख छ । 

कोषका प्रवक्ता रेवतीरमण अधिकारीले त्यसलाई तत्काल हटाइने बताए । ‘धेरैजसो स्थल खाली गरिसकेका छौँ,’ उनले भने, ‘रोटेपिङलगायत मनोरञ्जनात्मक सामग्री राखेको ठाउँ अब खाली हुन्छ ।’ उनले शिवरात्रिका केही दिनका लागि मात्रै दिएको भाडा आजसम्म लम्ब्याइएकोबारे जानकारी नभएको बताए । 

पशुपतिनाथ क्षेत्रभित्र निर्माण गरिएका अवैध संरचना हटाउन महानगरले निर्देशन दिएको छ । बिहीबार कोषलाई महानगरले २४ घन्टाभित्र अतिक्रमित संरचना हटाउन अल्टिमेटम दिएको हो ।

हाल पशुपति क्षेत्र विकास कोषको संरक्षणमा पशुपतिनाथ परिसर आसपास अवैध संरचना निर्माण तीव्र भइरहेको महानगरको भनाइ छ । बिहीबार महानगरपालिकाको टोली त्यस क्षेत्र पुग्दा यस्ता संरचनाले सडक अवरोध गरेकाले त्यसलाई हटाउन लगेको जनाइएको छ । 

सुझावित समाचार