दैनिक १२०० परिवारलाई खाना पकाउन मिल्ने बायोग्यास सात महिनादेखि बालेर उडाइँदै

दमकमा साढे २० करोडको परियोजनाको बिजोग

शनिबार, २० फागुन, २०७९
डिजिटल संस्करण
दैनिक १२०० परिवारलाई खाना पकाउन मिल्ने बायोग्यास सात महिनादेखि बालेर उडाइँदै

दमक– ३ मा फोहोरबाट ग्यास उत्पादन गर्न जडान गरिएको ग्यास प्लान्ट (बायाँ) र ग्यास प्लान्टबाट उत्पादन भएको ग्यास प्रयोगमा नआएपछि बालेर खेर फालिँदै । सरकार र विश्व बैंकको २०–२० प्रतिशत अनुदानमा कुल साढे २० करोड लागतमा फोहोरबाट बायोग्यास उत्पादन थालियो । तर, न

दमक– ३ मा फोहोरबाट ग्यास उत्पादन गर्न जडान गरिएको ग्यास प्लान्ट (बायाँ) र ग्यास प्लान्टबाट उत्पादन भएको ग्यास प्रयोगमा नआएपछि बालेर खेर फालिँदै । सरकार र विश्व बैंकको २०–२० प्रतिशत अनुदानमा कुल साढे २० करोड लागतमा फोहोरबाट बायोग्यास उत्पादन थालियो । तर, न पाइपलाइन विस्तार गरियो न त सिलिन्डरमा ग्यास भरेर बिक्री गर्ने सम्झौता कार्यान्वयन भयो । दैनिक ६०० केजी ग्यास र १० हजार केजी प्रांगारिक मल खेर गइरहेको छ । 

झापाको दमकमा साढे २० करोड लागतको परियोजना सञ्चालनमा ल्याएर फोहोरबाट दैनिक ६ सय किलोग्राम बायोग्यास उत्पादन थालिएको सात महिना बित्यो ।तर, पाइपलाइन विस्तार नगर्दा झन्डै एक हजार दुई सय परिवारलाई खाना पकाउन सकिने ग्यास बालेर खेर फालिँदैछ । प्लान्ट व्यवस्थापनको जिम्मा पाएको नेक्स्टइरा इनर्जी पनि ग्यास सिलिन्डरमा हालेर बेच्ने पूर्ववर्ती सम्झौताबाट पछि हटेपछि झनै अन्यौल बढेको हो ।

नेक्स्टइराले ७० कर्मचारीलाई त्यही ग्यासबाट खाना पकाएर खुवाइरहे पनि बाँकी ग्यास भने त्यतिके बालेर छाडिदिन्छ । ‘ग्यासलाई त्यतिकै फालेमा वातावरणमा असर गर्छ,’ नेक्स्टइराका प्रबन्ध निर्देशक विमल खतिवडा भन्छन्, ‘त्यही भएर बालेर छाडिदिन्छौँ ।’ प्लान्टबाट गत भदौदेखि ग्यास उत्पादन सुरु भएको हो ।

४१ टन फोहोरबाट दैनिक एक हजार ८४ केजी ग्यास उत्पादन हुने भए पनि ग्यास प्रयोगमा नआएपछि प्लान्टमा फोहोर नै कम हाल्ने गरिएको छ । अहिले पनि दैनिक ६ सय केजी ग्यास खेर गइरहेको छ । ग्यास मात्र होइन दैनिक १० हजार किलोग्राम प्रांगारिक मल पनि खेर गइरहेको छ । कम्पनीले दमक–२ स्थित हम्सेदुम्से वन क्षेत्रमा दमक नगरपालिकाले उपलब्ध गराएको तीन विघा क्षेत्रफलमा ग्यास प्लान्ट निर्माण गरेको हो ।

सिलिन्डरमा ग्यास भरेर बेच्ने सम्झौताबाट पछि हट्यो कम्पनी
ग्यास सिलिन्डरमा भरेर बेच्ने सम्झौता भए पनि महँगो हुने भएकाले नसकिएको खतिवडा बताउँछन् । २० वर्षका सञ्चालन गर्ने जिम्मा लिएको कम्पनीले सिलिन्डरमा ग्यास बेच्दा प्रतिफल नआउने जनाएको छ । 

‘हालसम्म हामीले २० करोडभन्दा धेरै खर्च गरेका छौँ । ग्यास सिलिन्डरमा भरेर बेच्दा थप १० करोड खर्च बढ्छ,’ उनले भने, ‘यहाँ ठूला उद्योग पनि छैनन् । एउटा घरमा एक सिलिन्डर ग्यास खपत हुन एक महिना लाग्छ । हामी दैनिक ७५ सिलिन्डर उत्पादन गर्छौँ । उत्पादन भएको ग्यास नबिक्ने सम्भावना छ । सिलिन्डरमा थप दश करोड खर्च गर्दा २० वर्षमा प्रतिफल नआउने खतरा छ ।’

अहिले दमक नगरपालिकाले फोहोर व्यवस्थापनबापत नेक्स्टइरा इनर्जी प्रालि र रोहन ट्रेडर्स जेभीलाई मासिक १० लाख उपलब्ध गराउँदैछ । कम्पनीले दमकबासीबाट झण्डै मासिक पाँच लाख रुपैयाँ संकलन गर्छ । ‘आयस्रोत यति नै हो । यसले हाम्रो अफिस र स्टाफ खर्च पनि पुगेको छैन,’ खतिवडाले नयाँ पत्रिकासँग भने, ‘अहिले पनि घाटामा छौँ । बैंकको ब्याज तिर्न सकेको छैन । हामीले कसरी पाइपलाइन विस्तार वा सिलिन्डरमा भरेर बिक्री गर्न सक्छौँ ?’

नगरपालिकाले चालु आर्थिक वर्षमा कुहिने र नकुहिने फोहोर वर्गिकरण गर्ने मेसिन खरिदका लागि ५० लाख बजेट विनियोजन गरेर पनि मेसिन खरिद नगरिदिँदा पनि समस्या भएको उनले बताए । ‘नगरपालिकालाई कबाडी बेचेबापतको मासिक एक लाख रुपैयाँ हामी दिँदैछौँ । तर, उसले बजेटमा राखेको मेसिन खरिद गर्ने पैसा पनि दिएन,’ उनले भने, ‘त्यसकारण हामीले हातले नै कुहिने र नकुहिने फोहोर फ्याक्नुपर्ने बाध्यता छ । मेसिन नहुँदा अहिले पनि अधिकांश फोहोर बाहिरै पुरिरहेका छौँ ।’ प्लान्टबाट त्यहाँबाट उत्पादन भएको मल राज्यले खरिद गरिदिएर किसानलाई दिन सके सहज हुने उनी बताउँछन् । 

दमकका मेयर रामकुमार थापा भन्छन्– ग्यास प्रयोगमा ल्याउने जिम्मा कम्पनीकै हो
दमक नगरपालिकाका मेयर रामकुमार थापा भने फोहोरबाट उत्पादन भएको ग्यासलाई प्रयोगमा ल्याउने सम्पूर्ण जिम्मा कम्पनीको रहेको बताउँछन् ।

२० वर्षसम्म सञ्चालनको जिम्मा लिएको नेक्स्टइरा इनर्जी प्रालि र रोहन ट्रेडर्स जेभीले ग्यास प्रयोगमा ल्याउनुपर्ने उनको भनाइ छ ।

‘ग्यास किन प्रयोगमा आएन उहाँहरूले नै जान्नुपर्ने कुरा हो, उहाँहरूकै जिम्मामा छ । नाफा–घाटा भनेको उहाँहरूकै कुरा हो । हामीले गरेर उहाँहरूले नाफा कमाउने त होइन नि !’ मेयर थापाले भने । 

सुझावित समाचार