पूर्वउपराष्ट्रपति झाले मागे पूर्वराष्ट्रपतिबराबर सेवा–सुविधा

शुक्रबार, १९ फागुन, २०७९
डिजिटल संस्करण


गणतन्त्र स्थापनापछिका पहिलो उपराष्ट्रपति परमानन्द झाले सेवा–सुविधा कम भएको भन्दै सरकारसँग थप सुविधा मागेका छन् । 

उनले दुई महिनाअघि थप सुविधाका लागि गृह मन्त्रालयमा निवेदन नै दिएका छन् ।

पूर्वन्यायाधीशको हैसियतमा पेन्सन लिइरहेकाले सरकारले उनलाई गाडी र पिएसओबाहेकका सुविधा उपलब्ध गराएको छैन । सरकारले दिएको सेवा–सुविधा कम भएको भन्दै उनले दुई महिनाअघि थप सुविधाका लागि गृह मन्त्रालयमा निवेदन दिएका हुन् । 

कार्यकाल सकिएपछि ०७३ सालदेखिका आफ्ना स्वकीय सचिव र चालकलाई राज्यले तलब दिनुपर्ने उनको माग छ । साथै आफूले पूर्वराष्ट्रपतिबराबरकै सुविधा पाउनुपर्ने जिकिर निवेदनमा गरिएको छ । 

झाको निवेदनउपर कुनै निर्णय भने भइसकेको छैन । अवकाशपछि उनी गौरीघाटस्थित आफ्नै घरमा बस्दै आएका छन् ।
 

पूर्वराष्ट्रपति यादवलाई वार्षिक ५० लाखको सेवा–सुविधा

पूर्वराष्ट्रपति डा. रामवरण यादव बसेको घरको मासिक भाडा एक लाख ९२ हजार छ । घरभाडासहित बिजुली, पानी, पत्रपत्रिका, इन्टरनेट, टेलिफोनको खर्च सरकारले उपलब्ध गराउँदै आएको छ । त्यस्तै, मासिक ५० हजार भत्ता, इन्धन २०७ लिटर तथा गाडी, उपसचिवस्तरको एक स्वकीय सचिव, कार्यालय सहयोगी, एक सवारीचालक र २१ सुरक्षाकर्मी पनि दिइएको छ । उनको सेवा–सुविधामा वार्षिक करिब ५० लाख खर्च हुँदै आएको गृहको तथ्यांक छ । काठमाडौंमै घर भए पनि साँघुरो भएको भन्दै डा. यादव ललितपुरमा भाडाको घरमा बस्छन् । यसबाहेक उनले अहिलेसम्म राज्यबाट एक करोडभन्दा धेरै उपचार खर्च लिइसकेका छन् ।

सुझावित समाचार