तनहुँको भानु नगरपालिका– १३ का सामाजिक अभियन्ता गलबहादुर गुरुङले सामाजिक सञ्जालमार्फत एक बालकको उपचार सहयोग खर्च जुटाएका छन्।
फोक्सो र कलेजोपीडित सोही वडानिवासी १६ वर्षीय मनोज मौरातीको उपचारका लागि गुरुङले सामाजिक सञ्जालको प्रयोग गरी उपचार खर्च जुटाएका हुन्।
फोक्सो र कलेजोमा जुकाले अन्डा बनाएपछि मौरातीको उपचारका लागि गुरुङको सक्रियतामा देश तथा विदेशबाट हालसम्म तीन लाख ५० हजार संकलन भएको गुरुङले बताए।
संकलित रकम दमौलीमा पीडित मौरातीलाई हस्तान्तरण गरिएको छ। उठेको रकममध्ये रु. एक लाख ७८ हजार चार सय ७८ आज हस्तान्तरण गरिएको हो। बाँकी रकम भने यसअगाडि नै पीडितलाई हस्तान्तरण भइसकेको छ।
बुबाको मृत्यु भइसकेको र घरको आर्थिक अवस्था कमजोर भएपछि मौरातीको परिवारले सहयोगको अपिल गरेको थियो। गुरुङले मौरातीको उपचारका लागि सहयोगको अपिल गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत अनुरोध गरेपछि तनहुँ घर भई विभिन्न देश पुगेका तथा जिल्लाबाहिर रहेकाहरूले सहयोग गरेका छन्।
अहिलेको सूचना प्रविधिको युगमा सामाजिक सञ्जालको प्रयोग गर्दै केही रकम संकलनको प्रयास गरेका छौँ, यो रकमले बालकको उपचारमा सहयोग पुग्ने विश्वास लिएका छौँ,’ गुरुङ भने, ‘हालसम्म उठेको रकम पीडितलाई हस्तान्तरण गरेका छौँ । अझै पनि केही दाताले रकम हस्तान्तरण गर्न बाँकी छ।’
गत भदौदेखि मौरातीले फोक्सो र कलेजोमा समस्या आएपछि औषधि सेवन गरिरहेका छन्।