हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडिसिएल)ले अघि बढाएका दुई जलविद्युत् आयोजनाको निर्माणमा अब नेपाल विद्युत् प्राधिकरण र विद्युत् उत्पादन कम्पनीले पनि साझेदारी गर्ने भएका छन् । एचआइडिसिएले दुई सहायक कम्पनी स्थापना गरेर ७७.३ मेगावाटको घुन्सा खोला र ७०.५ मेगावाटको सिम्बुवा खोला जलविद्युत् आयोजना अघि बढाएको थियो ।
यसका लागि बिहीबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा उक्त तीनै निकायबीच समझदारीपत्रमा हस्ताक्षरसमेत गरिएको छ । समझदारीपत्रमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम र विद्युत् उत्पादन कम्पनीका प्रबन्ध सञ्चालक सूर्यप्रसाद रिजालले हस्ताक्षर गरेका छन् ।
समझदारीअनुसार सिम्बुवा खोला जलविद्युत्को प्रवद्र्धक सिम्बुवा रेमिट हाइड्रोको संस्थापकतर्फको ५१ प्रतिशत सेयर तीनै निकायलाई बाँडफाँट गरिनेछ । त्यसमा विद्युत् उत्पादन कम्पनीलाई २१ प्रतिशत, एचाआइडिसिएल र प्राधिकरणलाई १५–१५ प्रतिशत सेयर दिइनेछ ।
यस्तै, घुन्सा खोला जलविद्युत्को प्रवद्र्धक रेमिट हाइड्रोको ५१ प्रतिशत सेयर पनि तिनै निकायलाई बाँडफाँट गरिनेछ । त्यसमा प्राधिकरणलाई २१ प्रतिशत सेयर दिइनेछ । बाँकी ३० प्रतिशत सेयर भने आइडिसिएल र विद्युत् उत्पादन कम्पनीलाई १५–१५ प्रतिशतका दरले दिने समझदारी भएको छ । यसैगरी, दुवै कम्पनीको सञ्चालक समितिमा प्राधिकरण, एचआइडिसिएल र विद्युत् उत्पादन कम्पनीतर्फबाट एक–एकजनाको प्रतिनिधित्व राख्ने समझदारी पनि भएको छ ।
यस्तै, दुवै कम्पनीको सर्वसाधरण सेयर (आइपिओ)मा वैदेशिक रोजगारीमा गएका नेपालीलाई समेत आरक्षण दिने समझदारी भएको छ । उनीहरूलाई २९ प्रतिशत सेयर दिने सहमति भएको छ । एचआइडिसिएलले पहिला नै उक्त दुई कम्पनीको आइपिओमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई आरक्षण दिने घोषणा गरेको थियो ।