नेपालको अपराजित यात्रामा ब्रेक लाग्यो

आइसिसी पुरुष विश्वकप लिग–२ को बिहीबार भएको खेलमा युएईसँग नेपाल ६८ रनले पराजित

शुक्रबार, १९ फागुन, २०७९
डिजिटल संस्करण

आइसिसी पुरुष विश्वकप लिग–२ सिरिज क्रिकेट प्रतियोगितामा नेपालको विजय यात्रा रोकिएको छ । लगातार पाँच खेल जित निकालेको नेपालको अर्को स्पष्ट दुई अंक जोड्ने सपना युएईले तोडेको छ । दुबईमा भएको खेलमा युएईले नेपाललाई ६८ रनको फराकिलो अन्तरले हरायो । हारसँगै शीर्ष तीन र पाँचको दाबी गरिरहेको नेपालको यात्रामा धक्का लागेको छ । युएई र नेपालले समान ३० खेल खेलेका छन् । युएईले नेपालमाथि महत्वपूर्ण जित निकाली दुई अंक बटुल्यो । 

युएई ३१ अंकका साथ पाँचौँ स्थानमा छ । नेपाल ३१ अंकका साथ छैटौँ स्थानमा छ । युएईले पाँचौँ स्थानमा रहेको नेपाललाई तीन अंकले पछि पारेको छ । नेपालले १३ जित र १५ हारको सामना गरेको छ । युएईले १४ जित र १३ हार व्यहोरेको छ । विश्वकप लिग–२ को शीर्ष तीनमा रहने राष्ट्रहरू सीधै विश्वकप छनोट खेल्नेछन् । पाँचौँ स्थानमा रहने टोलीको एकदिवसीय मान्यता जोगिनेछ । छैटौँ र सातौँ स्थानमा रहने राष्ट्रहरूले एकदिवसीय मान्यता गुमाउनेछ । 

नेपाल एक सय ३९ रनमै समेटियो 
पहिलो ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय सात रनको मध्यम योगफल बनाएको थियो । नेपालले युएईलाई मध्यम योगफलमा रोक्दा लगातार छैटौँ जित निकाल्ने सम्भावना बढेको थियो । तर, म्यान अफ दी म्याच रोहन मुस्तफा र मेयाप्पनले घातक बलिङ गरेपछि नेपाली ब्याट्सम्यान ३१.५ ओभरभन्दा बढी टिकेनन् ।

 नेपालले सबै विकेट गुमाउँदा स्कोर बोर्डमा केवल एक सय ३९ रन मात्र बनाएको थियो । रोहनले १० ओभरमा दुई मेडन राखी तीन विकेट लिए । उनले आफ्नो इनिङ्समा दुई मेडन ओभर गरेका थिए । यसैगरी, मियाप्पनले ८.५ ओभरमा २६ रन खर्चेर नेपालका महत्वपूर्ण विकेट हात पारे । उनले एक मेडन ओभर फ्याँके । 

कुशल मात्र टिके
नेपालको कमजोर ब्याटिङमा मध्यक्रममा कुशल मल्ल मात्र टिके । उनले नेपालका लागि सर्वाधिक ६० रनको योगदान दिए । आक्रामक ब्याटिङ गरेका कुशलले ५३ बलमा नौ चौका र एक छक्का प्रहार गरेका थिए । नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि १.२ ओभरमा १२ रन जोडेका थिए । 

यसपटक युएईसँगको प्रतिस्पर्धामा नेपालका कुशलबाहेक अन्य ब्याट्सम्यान लामो समय क्रिजमै बसेनन् । नेपालका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, कप्तान रोहितकुमार पौडेल तथा आरिफ शेख डकआउट भए । शेखले १० बल, मल्लले ६ बल तथा पौडेलले दुई बलको सामना गरेका थिए । कुशल आउट हुँदा नेपाल १८.१ ओभरमा ९३–६ को स्थितिमा थियो । नेपालको इनिङ्समा अर्का पूर्वकप्तान सन्दीप लामिछानेले २४ बलमा चार चौकाको सहयोगमा २६ रन बटुले । सन्दीपले आफ्नो उत्कृष्ट फर्मलाई जारी राखेका छन् । उनले १० ओभर बलिङ गर्दै सर्वाधिक तीन विकेट लिए । 

सुझावित समाचार