‘उबर–पुँजीवाद’विरुद्ध बर्नी स्यान्डर्स

अमेरिकामा सबैभन्दा न्यून आयु सम्भाव्यता र उच्च आत्महत्याको दर मौजुद देखिनु अमेरिकी व्यवस्था अन्यायपूर्ण मात्र नभई घातक पनि हुनुको प्रमाण हो

बुधबार, १७ फागुन, २०७९
डिजिटल संस्करण

बर्नी स्यान्डर्सले आफ्नो नयाँ पुस्तक ‘इट्स ओके टु बी एंग्री एबाउट क्यापिटलिज्म’मा हालको अर्थ व्यवस्थालाई जनाउन ‘उबर–पुँजीवादी’ शब्दको प्रयोग गरेका छन् । यसले हालको अर्थव्यवस्थाले मुठीभरका व्यक्तिलाई पोसेर बाँकी सबैको जीवनलाई पीडादायी बनाइरहेको बुझाउँछ । यस्तो अवस्थालाई जनाउन ‘उग्र–पुँजीवाद’ वा ‘नयाँ चरणको पुँजीवाद’ शब्द पनि प्रयोग हुने गर्छ । जेसुकै नाम दिए पनि स्यान्डर्सका भाषामा ‘ओलिगाक्र्स’ (कुलीन पुँजीपति) बाहेक यो व्यवस्था कसैका लागि उपयोगी छैन ।

 केही मानिसका अनुसार जुनसुकै रूपको भए पनि पुँजीवाद अनैतिक छ । स्यान्डर्स ठ्याक्कै यही तर्क भने गर्दैनन् । स्यान्डर्स पर्याप्त सामाजिक सुरक्षा भएका स्केन्डिनेभिया क्षेत्रका मुलुकको कल्पना गर्छन् । उनी अमेरिकी पुँजीवादलाई सुधार गर्न चाहन्छन् र अमेरिकामा दोस्रो विश्वयुद्धताकाका राष्ट्रपति फ्रेन्कलिन डेलानो रुजभेल्ट (एफडिआर) ले अघि सारेको न्यू डिल उदारवाद लागू गर्न चाहन्छन् न कि लोकतान्त्रिक समाजवादी व्यवस्था । उनी ‘वास्तविक स्वतन्त्रताको अस्तित्व आर्थिक सुरक्षा र आत्मनिर्भरताविना सम्भव नहुने’ एफडिआरको भनाइमा विश्वास गर्छन् ।

ऋणमाथि ऋण थपिएको अवस्थामा ऋण तिर्नका लागि दिनरात काम गर्ने जोसुकैले एफडिआरको भनाइ मन पराउँछन् । मान्छे ‘स्वतन्त्र’ कसरी हुन सक्छ, जब कि उसले काम मात्रै गरिरहेको हुन्छ । उपचार खर्च व्यहोर्न नसकेर दिनानुदिन अस्वस्थ भइरहेको व्यक्ति कति ‘स्वतन्त्र’ हुन्छ ? रोजगारीका लागि आवश्यक शैक्षिक योग्यता पूरा गर्नकै लागि ऋणको भारी बोकेको युवा कति ‘स्वतन्त्र’ हुन सक्छ ? 

अधिकांश अमेरिकी सम्पत्ति र शक्ति थुपारिरहेका श्रमिकमाझ आवश्यक ज्याला पनि वितरण नगर्ने मुठीभर कुलीनका कामदार छन् । इकोनोमिक पोलिसी इन्स्टिच्युटका अनुसार सन् १९७८ देखि २०१८ सम्ममा कर्पोरेसनका कार्यकारी निर्देशकको तलब नौ सय प्रतिशतले बढेको छ भने श्रमिकको तलब १२ प्रतिशत मात्र बढेको छ ।

अमेरिकामा सबैभन्दा न्यून आयु सम्भाव्यता र उच्च आत्महत्याको दर मौजुद देखिनु अमेरिकी व्यवस्था अन्यायपूर्ण मात्र नभई घातक पनि हुनुको प्रमाण हो
 

लामो समयदेखि न्यून ज्यालामा दलाइएका यी श्रमिकलाई रोजगारदाताले वस्तुका रूपमा व्यवहार गर्छन् । द न्युयोर्क टाइम्सको एक अनुसन्धानअनुसार १० ठूला निजी अमेरिकी कम्पनीमध्ये आठले अधिकांश समय कार्यस्थलमै हरेक कर्मचारीको तथाकथित उत्पादकत्वको नियमन गर्छन् । अध्ययनअनुसार कर्मचारीले आफ्नो पेसा अथक रहेको, यसको आफूसँग नियन्त्रण नरहेको र केही परिस्थितिमा शौचालय प्रयोग गर्नसमेत पर्याप्त समय नभएको गुनासो गरेका छन् । यो बिलकुल स्वतन्त्रता होइन ।

वास्तवमा अमेरिकी धेरै नै काम गर्छन् । न्युयोर्क टाइम्सले नयाँ वर्षमा विचार शृंखलामा उल्लेख गरेको छ– साथी र प्रियजनसँग आठ मिनेटको फोन कलको समयतालिका बनाउँदा र तोकिएको समयभन्दा बढी कुराकानी नगर्ने सहमतिले खुसी बढाउँछ किनभने अमेरिकीसँग निकै कम फुर्सद हुने गर्छ । अनौठो कुरो के छ भने कुराकानी गर्न समय तोक्ने यस्तो प्रक्रियालाई कम्तीमा अमेरिकीले अनौठो मान्दैनन् । यो मुलुकमा ‘हस्टल एन्ड ग्राइन्ड’ अर्थात् दिनरात घोटिने वा जतिखेर पनि मालिकबाट जागिरबाट निकालिन सकिने कार्यस्थलको संस्कारलाई हामीले सामान्य मान्ने गरेका छौँ । जब कि हाम्रोजस्तै औद्योगिक मुलुकमा श्रमिकको मानसिक र शारीरिक स्वास्थ्यलाई महत्व दिइन्छ र उनीहरूले अधिक उत्पादकत्वको महत्वाकांक्षाको बोझ बोक्नुपर्दैन । 

ठूला अमेरिकी कर्पोरेसनले आफ्ना कर्मचारीप्रति अभद्र व्यवहार मात्र गर्दैनन्, यी कर्पोरेसन ग्राहक र समाजप्रतिको दायित्वको कुरा गर्दा न्यूनतम शिष्टतासमेत व्यक्त गर्दैनन् । औषधि कर्पोरेसनले कीर्तिमानी नाफा कमाउँछन् र आफ्ना कार्यकारी अधिकृतलाई अचाक्ली तलब दिन्छन् । तर, आमनागरिकलाई बाँच्न आवश्यक औषधिसमेतको मूल्य छुन नसकिने गरी बढाउँछन् । स्यान्डर्सले सरकार समर्थित कोभिड–१९ खोपको लागत चार गुणाले बढाउने मोडर्ना कम्पनीको मनसायको आलोचना गरेर ठिक गरेका छन् । हाल मोडर्नाले खोप निःशुल्क रहिरहनेछ भनेर घोषणा गरेको छ ।

समाजको एक तप्काले नयाँ–नयाँ घर खरिद गरिरहेका छन् भने अर्को तप्का एउटै घरका लागि पनि आवश्यक ऋण धितो जुटाउन सकिरहेका छैनन् । नगद हुने धनाढ्यले घर खरिद गरे पनि पहिलोपटक घर खरिद गर्नेको संख्या पछिल्लो ४१ वर्षकै सबैभन्दा कम छ । नेसनल एसोसिएसन अफ रियल्टर्सका प्रमुख अर्थशास्त्री लरेन्स युनका अनुसार केवल धनीले मात्रै घर खरिद गर्ने ल्याकत राख्ने अवस्था आएको छ । ‘यदि यो प्रवृत्ति जारी रह्यो भने यसले समग्र समाज स्वाभाविक रूपमा त्रुटिपूर्ण छ भनेर संकेत गर्छ,’ युन थप्छन् । हामीलाई पहिले नै थाहा छ, हाम्रो समाज समस्यामा छ, यसैकारण हामीलाई यो प्रवृत्ति जोगाउन आवश्यक छैन । परिणाम खुलस्त छन् ।

अमेरिकी व्यवस्था अन्यायपूर्ण मात्र नभई घातक पनि छ अर्थात् विश्वका धनी राष्ट्रमध्ये अमेरिकामा सबैभन्दा न्यून आयु सम्भाव्यता र उच्च आत्महत्याको दर मौजुद छ ।स्यान्डर्सले उबर–पुँजीवादविरुद्ध प्रतिरोध गर्न आफ्ना पुस्तकमा असंख्य समाधान प्रस्तुत गरेका छन् । यी सबै समाधानमा सहमत हुन नसकिए पनि उनले स्वतन्त्रताको मुद्दालाई उपयुक्त ढंगले उठाएका छन् । ‘भर्मन्ट’का सिनेटर स्यान्डर्सको उत्पादकत्वलाई प्राथमिकता दिने र धनाढ्यलाई अत्यधिक प्रेम र तिनको स्तूति गान गाउने संस्कृतिको विनाशकारी परिणामबारेको आकलन भविष्यवाणीभन्दा कम थिएन । स्यान्डर्सले आफ्नो अभियान र पुस्तक दुवैमा हालको अमेरिकी आर्थिक प्रणालीको पूर्ण नैतिक दिवालियापन र शिष्टताको कमीलाई प्रभावकारी रूपमा उठाएका छन् । यसको समाधानका लागि हामीले निर्णय लिन तयार हुनुपर्छ । 

(पावर्स सिएनएनका वरिष्ठ राजनीतिक विश्लेषक एवं लेखक हुन्) सिएनएनबाट

सुझावित समाचार