आठदलीय गठबन्धन र एमाले राष्ट्रपति निर्वाचन आफ्नो पक्षमा पार्न बेग्लाबेग्लै रणनीतिका साथ अघि बढेका छन् । गठबन्धनमा रहेको कांग्रेसले प्रतिस्पर्धी दल एमालेलगायत दलसँग हार्दिकता कायम गर्ने र गठबन्धन दलसँगको सम्बन्धलाई जोगाउने रणनीतिसहित सक्रियता बढाएको छ । एमाले भने कांग्रेसबाहेकका दलको मत आफ्नो पक्षमा पार्न आन्तरिक परामर्श र संवादमा केन्द्रित भएको छ । कांग्रेसबाट रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिका उम्मेदवार बनेका छन् ।
राष्ट्रपतिमा मनोनयनपछि सोमबार कांग्रेसले गठबन्धनबाहेकका दललाई पत्र लेखेर सघाउन आग्रह गरेको छ । कांग्रेस नेताहरू गठबन्धन दलहरूसँग निरन्तर सम्पर्कमा छन् । कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले दलहरूसँग समन्वय र सबै दललाई सहमतिमा ल्याउन प्रयास भइरहेको बताए । ‘सूचना सम्पर्क र समन्वयलाई व्यवस्थित रूपमा अगाडि बढाएका छौँ । हाम्रो पक्षमा अंकगणित स्पष्ट रहेकाले सबैमा उत्साह छ । हामीले स्थिरता र विकासका लागि सबैको एकतालाई जोड दिएका छौँ । त्यसका लागि हामीलाई समर्थन नगर्ने दलहरूलाई पनि आग्रह गरेका छौँ,’ उनले भने ।
ज्ञानेन्द्रबहादुर कार्की नेता, कांग्रेस
‘सूचना सम्पर्क र समन्वयलाई व्यवस्थित रूपमा अगाडि बढाएका छौँ । हाम्रो पक्षमा अंकगणित स्पष्ट रहेकाले सबैमा उत्साह छ । हामीले स्थिरता र विकासका लागि सबैको एकतालाई जोड दिएका छौँ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धनबाहेकका दललाई पत्र पठाएर निर्वाचनमा सहयोगका लागि आग्रह गरेका छन् । कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार गठबन्धनमा नरहेका सबै दल र स्वतन्त्र सांसदलाई सहयोगमा लागि पत्र पठाइसकिएको छ । ‘कांग्रेसको उम्मेदवारलाई सघाउने दलबाहेक र एमालेसहित संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका अध्यक्ष र स्वतन्त्र सांसदलाई सभापतिज्यूले पत्र पठाउनु भएको छ,’ उनले भने । पत्रमा २५ फागुनमा हुने निर्वाचनमा राष्ट्रपतिका उम्मेदवार पौडेललाई मत दिन आग्रह गरिएको छ । पत्रमा पौडेल साझा र निर्विवाद उम्मेदवार भएकाले अझै सहमतिको सम्भावना औंल्याइएको छ ।
ओलीले बुझे राष्ट्रपतिमा सघाउन देउवाले पठाएको पत्र
कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको निर्वाचनमा पार्टीका उम्मेदवार पौडेललाई सहयोग गर्न एमाले अध्यक्ष केपी ओलीलाई पत्र पठाएका छन् । सो कांग्रेस मुख्यसचिव पौडेलले बालकोटस्थित निवासमै पुगेर ओलीलाई हस्तान्तरण गरेका छन् । पौडेलले पत्रबारे जानकारी गराएका थिए । तर, ओलीले कुनै जवाफ भने फर्काएनन् । ‘उहाँले राष्ट्रपतिमा मत मागेको त होला, होइन भन्दै हाँस्दै पत्र बुझ्नुभयो,’ पौडेलले भने । पत्रमा राजनीतिक सहमतिको आवश्यकता औँल्याउँदै देउवाले पौडेललाई सघाउन आग्रह गरेका छन् । मुख्यसचिव पौडेलले अरू राजनीतिक दललाई पनि आफूले भेटेर पत्र बुझाएको जानकारी दिए । राष्ट्रपति निर्वाचनमा सम्भव भए समर्थन गर्न, सम्भव नभए मित्रवत् प्रतिस्पर्धाका लागि देउवाको आग्रह छ ।
घरमै भेटघाटमा व्यस्त पौडेल
राष्ट्रपतिका उम्मेदवार पौडेल अहिले बोहोराटारस्थित निवासमै नेता कार्यकर्तासँग भेटघाटमा व्यस्त छन् । पछिल्लो समय पार्टीका नेता कार्यकर्ताहरू उनलाई भेट्न निवासमै पुग्ने गरेका छन् । पौडेलका स्वकीयसचिव चिरञ्जीवी अधिकारीले पछिल्लो समय पौडेल घरमै नेता कार्यकर्तासँगको भेटघाटमा व्यस्त रहेको बताए । उनले अरू दलका नेता र पार्टीकै ठूला नेताहरूसँग भेटघाट नभएको जानकारी दिए । पौेडेलले टेलिफोनमार्फत भने नेताहरूसँग सम्पर्क गरिरहेका छन् । पौडेलले राष्ट्रपतिको मनोनयनअघि भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उनकै निवासमा पुगेर सघाउन आग्रह गरेका थिए । त्यसबाहेक पौडेलले ठूला नेतालाई भेटेका छैनन् ।
प्रधानमन्त्री–नेम्वाङबीच ‘वन अन वन’ कुराकानी
एमालेले राष्ट्रपतिका उम्मेदवार र सुवासचन्द्र नेम्वाङलाई जिताउन दलहरूसँग आन्तरिक सम्पर्क र संवाद बढाएको छ । कांग्रेस नेतृत्वमा सत्तारूढ दलभित्र अहिले देखिएको आठदलीय समीकरण भत्काएर २५ फागुनमा हुने निर्वाचनसम्म नेम्वाङको पक्षमा अनुकूलता सिर्जना गर्ने गरी अध्यक्ष केपी ओलीसहितका नेताहरूले कांग्रेसबाहेकका दलसँग सम्पर्क र संवाद अघि बढाएका हुन् ।
मंगलबार राष्ट्रपतिका उम्मेदवार नेम्वाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सरकारीनिवास बालुवाटारमा भेटेर सहयोगका लागि आग्रह गरेका छन् । वाम पार्टीहरूको नेतृत्वमा रणनीतिक हिसाबले बनाइएको १० पुसपूर्वको सहमतिअनुसार आफू उम्मेदवार बनेको जानकारी गराउँदै नेम्वाङले प्रधानमन्त्रीलाई सहयोगका लागि आग्रह गरेका हुन् । ‘उहाँहरूबीच विकसित राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचनको तयारीका विषयमा कुराकानी भयो,’ नेम्वाङलाई उद्धृत गर्दै एमालेका एक पदाधिकारीले भने, ‘अहिले सबै राजनीतिक पार्टीहरू मिलेर अघि बढ्नुपर्ने आवश्यकता छ, सहमतिभन्दा बाहिर गएर आपसी तिक्तता बढाउनु राम्रो हुँदैन भन्ने सुझाव राखेर सहयोग र शुभकामनाका लागि आग्रह गर्नुभयो ।’
पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव, एमाले
हामीले आन्तरिक तयारी र योजनाअनुसार नै दलहरूसँग आन्तरिक सम्पर्क र संवाद अगाडि बढाइरहेका छौँ ।
जवाफमा प्रधानमन्त्री प्रचण्डले राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने अहिलेको अवस्थालाई ध्यानमा राखेको र नेम्वाङ राष्ट्रिय सहमतिको उपयुक्त उम्मेदवार भएकाले सद्भाव रहेको भन्दै विजयका लागि शुभकामना व्यक्त गरेका थिए । ‘मैले सबै दल मिलेर अघि बढ्नुपर्छ भन्ने अहिलेको अवस्थालाई ध्यानमा राखेको छु, व्यक्तिगत रूपमा भन्नुपर्दा तपाईं सहमतिको उपयुक्त उम्मेदवार हो, त्यसैले तपाईंप्रति मेरो सद्भाव छ, विजयका लागि शुभकामना छ,’ प्रचण्डले भनेका थिए ।
एमालेले नेम्वाङलाई सहयोग गर्न आग्रह गर्दै उम्मेदवारी दर्तालगत्तै १३ पुसमा कांग्रेसबाहेक संसद्मा रहेका १७ दललाई औपचारिक रूपमा पत्राचार गरेको थियो । अध्यक्ष ओलीले माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायत पार्टीका अध्यक्षसहित स्वतन्त्र सांसदलाई सम्बोधन गर्दै राष्ट्रपतिको निर्वाचनमा नेम्वाङलाई सहयोग गर्न पत्र लेखेका थिए ।
एमालेमा ओलीसहितका नेताहरू सक्रिय
भोट माग्दै पत्र पठाइएका दलहरूसँग अध्यक्ष ओली, उम्मेदवार नेम्बाङ, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली, पृथ्बीसुब्बा गुरुङ र विष्णु रिमाललगायतले दलहरूसँग आन्तरिक संवाद गरिरहेका छन् । ‘हामीले आन्तरिक तयारी र योजनाअनुसार नै दलहरूसँग आन्तरिक सम्पर्क र संवाद अगाडि बढाइरहेका छौँ,’ उपमहासचिव गुरुङले भने ।
आठदलीय गठबन्धन बनेपछि विजयका लागि चुनौती देखिएकाले एमालेले गोप्य आन्तरिक रणनीतिअनुसार संवाद बढाइरहेको नेताहरूको भनाइ छ । ‘अहिले एमाले एकातिर, आठदलीय गठबन्धन अर्कोतिर छ, कतिपय दल नखुलेको अवस्था छ, त्यसैले यी सबै परिस्थितिलाई ध्यानमा राखेर गोप्य मतदानबाट परिणाम आउने गरी नै सचिवालयका सबै नेताहरू आ–आफ्नो ठाउँमा क्रियाशील हुनुहुन्छ,’ एक पदाधिकारीले भने । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरू रहेको निर्वाचकमण्डलले गोप्य मतदानमार्फत राष्ट्रपति चुन्ने भएकाले अनिर्णीत दलहरूलाई आफ्नो पक्षमा पार्ने र गठबन्धनमा सहभागी दलका सांसदहरूबाट व्यक्तिगत मत तान्न सक्दा विजयको सम्भावना बढ्ने विश्लेषणसहित एमाले नेताहरू गोप्य भेटघाट र सम्पर्कमा क्रियाशील बनेका हुन् ।
राष्ट्रपति निर्वाचनमा कुल ५२ हजार पाँच सय ४९ मतभार रहेको निर्वाचकमण्डल छ । त्यसमध्ये एमालेको पक्षमा १५ हजार तीन सय ९१ मत छ । चुनाव जित्न एमालेलाई १० हजार आठ सय ८४ मत आवश्यक पर्छ । एमालेका प्रतिनिधिसभामा ७९, राष्ट्रिय सभामा १८, प्रदेश सभामा १६१ सांसद छन् । अनिर्णीत राप्रपा, रास्वपा, नेमकिपा, हाम्रो नेपाली पार्टी र संघीय समाजवादीसहित स्वतन्त्र प्रतिनिधिसभा सदस्य तीन, राष्ट्रिय सभा एकसहित चार हजार नौ सय ७० मत छ । यो मत तान्ने एमालेको प्रयास छ । राप्रपासँग १४ प्रतिनिधिसभा, २८ प्रदेश सभा सांसदसहित २४ सय ५० मतभार छ । राप्रपाले कसलाई मतदान गर्ने निर्णय नगरे पनि यो मत लिने एमालेको कोसिस रहेको छ ।
बुधबारदेखि आचारसंहिता, ३ चैतसम्म लागू हुने
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू हुँदै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले १७ फागुनदेखि ५ चैतसम्म आचारसंहिता लागू हुने बताए । निर्वाचन अधिकृतको कार्यालयले बुधबार उम्मेदवारलाई बोलाएर आचारसंहिताबारे जानकारी दिँदै छ ।
आचारसंहितामा मतदानको ४८ घन्टाअघिदेखि सभा, जुलुस, नाराबाजीलगायत प्रचारप्रसार गर्न नपाउने व्यवस्था छ । साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल तथा अन्य कुनै साधन प्रयोग गर्न नपाउने पनि उल्लेख छ । बाजा, सार्वजनिक भोज, हुलहुज्जत गर्न नपाइने, मादक पदार्थ निषेध र हातहतियार लिएर हिँड्न नपाइने व्यवस्था गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा मतदान केन्द्र तोकेको छ । केन्द्रको लोत्से हलमा केन्द्र तोकेर मतदान गर्ने तय भएको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए । सुरुमा संसद्को क्यान्टिनको हलमा गर्ने भनिए पनि संसद् सचिवालयको परामर्शमै लोत्से हलमा राख्ने तय भएको हो ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यक्रमअनुसार मंगलबार १०–४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय थियो । शनिबार मनोनयन दर्ता गराएका रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले निर्धारित समयमा उम्मेदवारी फिर्ता नलिएपछि २५ फागुनमा दुवैबीच प्रतिस्पर्धा हुने भएको हो । अहिलेको समीकरण हेर्दा आठदलीय गठबन्धनका उम्मेदवार पौडेलको जित सुनिश्चित छ । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले तोकिएको समयभित्र कुनै पनि उम्मेदवारले नाम फिर्ता नलिएको जानकारी दिँदै पौडेल र नेम्वाङको नाम समेटेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिइन् ।
‘सूचना सम्पर्क र समन्वयलाई व्यवस्थित रूपमा अगाडि बढाएका छौँ । हाम्रो पक्षमा अंकगणित स्पष्ट रहेकाले सबैमा उत्साह छ । हामीले स्थिरता र विकासका लागि सबैको एकतालाई जोड दिएका छौँ ।
हामीले आन्तरिक तयारी र योजनाअनुसार नै दलहरूसँग आन्तरिक सम्पर्क र संवाद अगाडि बढाइरहेका छौँ ।