नेपाली राजनीतिको चाकाचुली

एमाले अध्यक्ष ओलीले जुन खुबीसाथ कांग्रेस नेतृत्वको गठबन्धन तोडे, त्यसलाई टिकाइराख्न आवश्यक होसियारी देखाउन नसक्दा नयाँ गठबन्धन अस्तित्वमा आएको हो

बुधबार, १७ फागुन, २०७९
डिजिटल संस्करण

विगत केही दिनदेखि जारी नेपाली राजनीतिको चाकाचुलीले अनेक प्रश्न उब्जाएका छन् । ती उब्जिएका प्रश्न र तिनको उत्तर खोज्नुअघि थोरै चर्चा राजनीतिबारे नै गर्नु सान्दर्भिक होला । आजभन्दा झन्डै २५ सय वर्षअघि अरस्तुले राजनीतिलाई गुरुविज्ञान भने । यसलाई विज्ञानहरूको महारानी भन्नेहरू पनि छन् । तर, यस भाष्यको समानान्तर अर्को भाष्य पनि छ, जसले राजनीतिलाई फोहोरी कारोबार मान्छ । विडम्बनाचाहिँ के भने फोहोरी खेल ठानेर यसबाट जति नै टाढा बसे पनि यसको प्रभावबाट भने उम्कन सकिँदैन । 

अब यी दुई विपरीत भाष्यलाई आजको नेपाली राजनीतिसँग जोडेर हेरौँ । एमाले अध्यक्ष केपी ओलीको १० पुसको एक चालले राष्ट्रिय राजनीतिको पासा नै पल्टाइदियो । परिणामस्वरूप सत्ताका लागि मुख मिठ्याइरहेका शेरबहादुर देउवा ‘चेक मेट’ भए र प्रतिपक्षमा बस्नुपर्ने नियतिमा पुगेको एमाले सत्ता साझेदार मात्र होइन, त्यसको ‘गुरु–साँचो’ नै हत्याउने ठाउँमा पुग्यो । उनका अनुयायी र प्रशंसकहरूका नजरमा केपी ओली नेपाली राजनीतिका त्यस्ता दुर्दान्त खेलाडी बने, जसको समकालीन नेपाली राजनीतिमा अर्को जोडा छैन । सँगैमा निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी बनेको कांग्रेसका सभापति देउवाचाहिँ राजनीतिका कच्चा र हुस्सु खेलाडीमा दरिए । 

तर दुई महिनाको अन्तरालमै राजनीतिको पासा फेरि यसरी पल्टियो कि हिजो हुस्सु भनिएका देउवा राजनीतिका चम्बु खेलाडी साबित भए र चतुर मानिएका केपी ओली ‘चार चिताङ’ भए र उनको पार्टी सत्ताबाट हठात् बाहिरिने खण्ड आयो । हेर्दाहेर्दै देउवाको एक ‘मास्टर स्ट्रोक’ले उनी हारलाई जितमा बदल्ने ‘बाजिगर’ नै बने । र सम्पूर्ण राजनीतिक उछलकुदमा एक समय प्रचण्डका लागि असम्भवजस्तो देखिएको प्रधानमन्त्रीको कुर्सीमा उनी पालैपिलो घरि एमालेको पोल्टामा गएर त घरि कांग्रेसको पोल्टामा गएर भए पनि निरन्तर विराजमान हुन पुगे । 

तर यी र यस्तै परिदृश्य हेरेर राजनीतिलाई गुरुविज्ञान भनिएको चाहिँ होइन । वास्तवमा यो राज्यभित्र शक्ति वा बलसँग सम्बन्धित भएकाले नै यसले यस्तो महत्व र प्राथमिकता पाएको हो । किनकि राज्यभित्रका आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिकलगायत सबै क्रियाकलापको नियन्त्रण, नियमन र नीति निर्धारण राजनीतिकै मातहत हुन्छ । त्यसैले, राजनीतिमा अनिश्चितता आयो, सरकारकै स्थायित्वमा सवाल खडा भयो भने त्यसले सरकारको दैनिक कार्यसञ्चालन, सेवा प्रवाहदेखि समग्र विकास प्रयासमा अड्चन खडा गर्छ र जनतामा सरकारप्रति वितृष्णा र आक्रोश जगाउँछ । वस्तुतः यही महŒवका कारण राजनीतिलाई गुरुविज्ञान भनिएको हो । 

राजनीतिक चाकाचुलीमा तल्लीन नेपाली नेताहरू जनतामा बढ्दै गएको आफूहरूप्रतिको असन्तुष्टि र वितृष्णा व्यवस्थातर्फ नसोझियोस् भन्नेमा समयमै सचेत हुन सकेनन् भने मुलुकका लागि त्योभन्दा ठूलो दुर्भाग्य अर्को हुनेछैन । मुलुक ‘ब्लिडिङ प्वाइन्ट’मा पुगिसकेको यो अवस्थामा अब पनि नेताहरूले नचेते कहिले चेत्ने ?
 

नेपालका राजनीतिक पार्टी र तिनका नेता तथा कार्यकर्तामध्ये जसले सत्ताधारी हुने अवसर पाए, तिनका लागि अहिलेका घटना र राजनीतिक चाकाचुली गज्जबको खेल लागे होलान् र जो त्यसबाट विमुख भए तिनका लागि नमिठो अनुभव । आमनेपाली नागरिकका नजरबाट हेर्ने हो भने यो सम्पूर्ण राजनीतिक नाटक यदि अन्य कुनै मुुलुकको राजनीतिक रंगमञ्चमा मञ्चन भएको भए पढ्न, सुन्न वा हेर्न कति मजा आउँथ्यो कति, भनिसाध्य छैन । तर, आफ्नै मुलुकमा घटित हुँदा कम्ता पीडादायी भएको छैन ।

आमजनता जो भोट हाल्ने दिनका राजनीतिज्ञ हुन्, तिनका लागि यो समग्र परिघटना बिर्सिनलायक अनि विद्रुप परिघटना भएको छ । हो, यस्तै घटना र गतिविधि हुने गरेका कारण राजनीतिलाई फोहोरी खेल भनिएको हो । त्यसैले हाम्रा गाउँघरतिर कसैले कसैलाई झुक्याउन वा छल्न खोज्यो भने तैँले मसँग राजनीति गर्न खोजेको ? भनेर प्रश्न गर्ने चलन कायम छ । मानौँ, राजनीति भनेको ढाँट र छल हो । आमनागरिकको यो बुझाइ यस्तै राजनीतिक गतिविधिबाट बन्ने गर्छ । आज नेपाली जनतामा छाएको निराशा यही फोहोरी खेलका कारण हो । अब एकपटक सत्ता समीकरणको यो उलटफेरको अन्तर्यलाई चियाऊँ र भावी राजनीतिक कोर्सतर्फ नियालौँ । एमाले अध्यक्ष ओलीले जुन खुबीसाथ कांग्रेस नेतृत्वको गठबन्धन तोडे, त्यसलाई टिकाइराख्न भने आवश्यक होसियारी देखाएनन् । 

उनका अरू नेतालाई नगन्ने हेपाहा शैली यसपटक पनि कायमै रह्यो । मन्त्रालय बाँडफाँड हेर्दा मात्र होइन, सरकारको साझा कार्यक्रम प्रस्तुतिका क्रममा उनको ठालू पल्टाइ टिभी हेर्नेलाई त खड्किने खालको थियो भने स्वयं प्रधानमन्त्री प्रचण्डलाई कस्तो अनुभूति भयो होला ? यी त बाहिर देखिएका कुरा मात्र हुन्, भित्रभित्र अझ केकस्तो भोग्नुप¥यो होला, त्यो समय क्रममा खुल्दै जाला । 

गठबन्धनलाई सहज बनाउन आफ्नै भागमा परेको मन्त्रालयमा पूर्वमाओवादीलाई नपठाएर बुद्धि पु¥याएकै हो, तर सभामुख चयनले राष्ट्रपतिको अनुहार पनि लख काट्न सकिने अवस्था थियो नै । हो, यिनै कुराले झस्किएर सार्वजनिक रूपमा अस्थिर र बैगुनीको आरोप सहन तयार भएरै भए पनि गठबन्धन बदल्न प्रधानमन्त्री प्रचण्ड अघि बढेका हुन् । 
यो बुझ्न धेरै निधार खुम्च्याउनैपर्दैन कि एमालेले अहिले अघि सारेका राष्ट्रपतिका उम्मेदवार सुवास नेम्बाङ उनका पहिलो रोजाइका पात्र होइनन् । 

जहाँसम्म कांग्रेस र अझ त्यसमाथि सभापति देउवाको कुरा छ, आफूमाथि लागेको हुस्सुपनको ‘ट्याग’ मेट्न राष्ट्रपतिमा सहयोग पाउने भएपछि उनी प्रधानमन्त्रीको पद तीन भाइमा बाँड्न पनि सहजै तयार भए । तर, आमजनताको नजरबाट हेर्दा लाख रुपैयाँको प्रश्न के उठ्छ भने यो राजनीतिक चाकाचुलीले तिनको जीवनमा के फरक ल्याउँछ ? र मुलुकको सन्दर्भमा हेर्ने हो यसले के तात्विक अन्तर ल्याउँछ ? के मुलुक ‘आफू–आफू मिलेर खाऊँ भाले’ मात्र हो ? 

प्रश्न त के पनि उठ्छ भने के नयाँ आठदलीय गठबन्धन साँच्चै टिकाउ होला ? के यसले जनताको अपेक्षाअनुसार सेवा प्रवाह गर्न सक्ला ? के यसले मुलुकका लागि अत्यावश्यक विकासका मागको समुचित सम्बोधन गर्न सक्ला ? गठबन्धन टिकाउने खुबीका हिसाबले हेर्ने हो भने प्रचण्ड भनेका देउवापछिका त्यस्ता नेता हुन्, जो अनावश्यक टेक लिनुभन्दा सम्झौता गर्न सिपालु छन् । अतः उनको र उनीपछिका प्रधानमन्त्रीको नेतृत्वमा यो गठबन्धन टिकाउ हुने अवस्था देखिन्छ ।

शक्तिको शान्तिपूर्ण हस्तान्तरणका हिसाबबाट हेर्ने हो भने पनि गठबन्धनभित्रै नेतृत्व हस्तान्तरण गर्ने मामिलामा प्रचण्डको ‘ट्र्याक रेकर्ड’ राम्रो छ । किनकि उनैले हो विगतमा आफूले गरेको भद्र सहमतिमा अडिएर सहज ढंगले आफ्नो प्रधानमन्त्री पद देउवालाई हस्तान्तरण गरेको थिए । जहाँसम्म स्थिरता–अस्थिरताको प्रश्न छ, प्रधानमन्त्रीको पदमा पात्रको परिवर्तनलाई त्यसवेलासम्म अस्थिरता भन्न मिल्दैन, जबसम्म सरकारले लिएका नीति र कार्यक्रमले निरन्तरता पाइरहन्छन् । तसर्थ, यस मामिलामा यो आठदलीय गठबन्धन कतिको जिम्मेवार र चनाखो हुन्छ, त्यो त समयले नै बताउला । 

मैले बारम्बार भन्ने गरेको थिएँ कि सातदलीय गठबन्धन टिक्छ टिक्दैन, त्यसको पानीढलो राष्ट्रपतिको निर्वाचन हुनेछ । नभन्दै यही निर्वाचनमा उठाउने उम्मेदवारका विषयलाई लिएर पुरानो गठबन्धन भत्कियो र नयाँ गठबन्धन अस्तित्वमा आयो । हामीकहाँ दाउपेचको राजनीति यति हाबी छ कि प्रधानमन्त्री प्रचण्डले आफ्नो बाटो मोडिसक्दा पनि एमाले सुरुमा सरकारबाट नबाहिरिएरै प्रधानमन्त्री प्रचण्ड र नयाँ आठदलीय गठबन्धनलाई दबाबमा राख्न चाहन्थ्यो । तर, प्रधानमन्त्रीसामु दाल नगल्ने देखेपछि सरकारबाट बाहिरिएर र समर्थन फिर्ता लिएर नयाँ ढंगले ऊ दबाब दिन चाहिरहेछ । 
त्यो के भने मन्त्रिमण्डल निर्माण हुँदा पद नपाउने वा पाए पनि रोजेको मन्त्रालय नपाएका कारण उत्पन्न हुने असन्तुष्टिमा खेल्न सकिएला कि ? वास्तवमा गठबन्धनको राजनीतिमा सबैभन्दा पेचिलो विषय भनेकै भागबन्डा मिलाउने काम हो । 
यसको संवेदनशीलता बुझेर नै प्रधानमन्त्रीले विश्वासको मत लिने र मन्त्रिमण्डलको विस्तार गर्ने कार्य दुवै राष्ट्रपतिको निर्वाचनपछि गरे भने अनौठो नमाने हुन्छ । फेरि, राष्ट्रपति निर्वाचन सभामुखको जस्तो खुला नभई गोप्य हो । अतः असन्तुष्टहरूले पनि आफ्नो छाला जोगाएरै ‘क्रस भोटिङ’ गर्न सक्छन् । तर, मतभारको खाई यति ठूलो छ कि ठूलै पहिरो नआई नयाँ गठबन्धनको बाल बाँका हुनेवाला देखिँदैन । 

यतिवेला राजनीतिक चाकाचुलीमा तल्लीन नेपाली नेताहरूले के बुझ्न जरुरी छ भने जनतामा उनीहरूप्रतिको असन्तुष्टि र वितृष्णा व्यवस्थातर्फ नसोझियोस् । त्यसो भयो भने यो मुलुकका लागि त्योभन्दा ठूलो दुर्भाग्य अर्को हुनेछैन । मुलुक ‘ब्लिडिङ प्वाइन्ट’मा पुगिसकेको यो अवस्थामा अब पनि नेताहरूले नचेते कहिले चेत्ने ?

सुझावित समाचार