गुरुप्रति गान्धीको सम्मान

मंगलबार, १६ फागुन, २०७९
डिजिटल संस्करण

एकपटक भारतको गुजरात सहरको राजकोट जिल्लाको काठियाबाडान राज्यमा प्रजा परिषद्को अधिवेशन चलिरहेको थियो । मञ्चमा महात्मा गान्धी र अन्य ठूला नेता बसिरहेका थिए । कोही भाषण गर्दै थिए । मञ्चमा बसिरहेका गान्धी दर्शकका रूपमा उपस्थित जनसमुदायलाई ध्यानपूर्वक हेर्दै थिए । अचानक उनको दृष्टि केही पर दर्शकदीर्घामा बसेका एक वृद्धमाथि पर्यो । उनले तुरुन्तै ती वृद्धलाई चिने । उनी अरू कोही नभई गान्धीका प्राथमिक तहका शिक्षक थिए । 

आफ्ना गुरुलाई दर्शकदीर्घामा बसिरहेको देखेपछि गान्धी तुरुन्तै मञ्चबाट तल ओर्लिए र गुरु भएको स्थानमा पुगे । गान्धीले गुरुलाई प्रणाम गर्दै उनको पाउ स्पर्श गरे । आराम, कुशलको सोधपुछपछि गान्धी गुरुसँगै भुइँमा बसे । गान्धीको सरलता देखेर गुरु भावविभोर भए । उनले गान्धीलाई भने– अब तपाईं देशकै एक ठूला नेता भइसक्नुभयो । त्यसैले, तपाईं यहाँ बस्नु ठिक हुँदैन । माथि मञ्चमै जानुहोस् । 

गुरुको भनाइ सुनेपछि गान्धीले भने– म जे–जे भए पनि आखिर तपाईंको शिष्य हुँ र जहिल्यै शिष्य नै रहनेछु । त्यसैले, म तपाईंसँगै बस्छु । गान्धी पूरै कार्यक्रमभर गुरुसँगै दर्शकदीर्घामा बसे । जब कार्यक्रम समाप्त भयो, तब गान्धीका वृद्ध गुरुले उनलाई आशीर्वाद दिँदै भने– तपाईं जस्तो विनम्र र अहंकाररहित व्यक्ति सायद यस संसारमा कोही छैन होला । सायद यही गुणले गर्दा नै तपाईं आज यति ठूला नेता बन्नुभएको छ । तपाईंको जहिल्यै कुशलमंगल होस् ।

सुझावित समाचार