दुई सेमिफाइनल खेलिसकेको मच्छिन्द्रले दुई फाइनलसहित चार खेल पूरा गर्नेछ
सहिद स्मारक ए डिभिजन लिगको पूर्वसन्ध्यामा साबिक विजेता मच्छिन्द्र फुटबल क्लबले ७२ घन्टाभित्र चार खेल खेल्ने भएको छ । लिगको तयारीस्वरूप चलिरहेको नकआउट फुटबल प्रतियोगितामा मच्छिन्द्रले दुईवटाको फाइनल खेल पक्का गरेको छ । मच्छिन्द्रले फिफाको नियमविपरीत चार दिनमा लगातार चार खेल खेल्ने तयारी गरेको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफालाई आधार मान्दा एक खेलपछि खेलाडीले कम्तीमा २४ घन्टा आराम गर्न पाउनुपर्छ । तर, मोफसलमा चलिरहेको गोल्डकप र सातदोबाटोमा चलिरहेको नकआउट फुटबल प्रतियोगितामा सहभागी भइरहेका क्लबहरूले फिफाको नियम पालना गरिरहेका छैनन् ।
ए डिभिजनमा सहभागी सबैजसो क्लबले नकआउट र गोल्डकप फुटबल प्रतियोगिता खेल्न भ्याइरहेका छन् । जसका कारण खेलाडी चोटग्रस्त हुने सम्भावना औधी बढेको छ । मच्छिन्द्र सातदोबाटोमा चलिरहेको केपी ओली कप र भद्रपुर–झापा गोल्डकपको फाइनलमा पुगेको छ । मच्छिन्द्रले दुवै प्रतियोगितामा उपविजेता पक्का गरेको छ ।
लगातार दुईपटक सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्रले बुधबारको फाइनलसहित पछिल्लो १४ दिनमा ९ खेल पूरा गर्नेछ । ‘लगातार खेल्दा पक्कै समस्या छ, तर खेल्नु पनि पर्नेछ,’ मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटवालले भने, ‘पक्कै पनि यस्तो किसिमको खेल तालिका राम्रो होइन, यसले खेलाडीलाई चोटग्रस्त बनाउने सम्भावना छ ।’ अखिल नेपाल फुटबल संघ (एन्फा)ले १९ फागुनदेखि ए डिभिजन लिग आयोजना गर्दै छ ।
खेलाडीले आराम पाएनन्
‘लिगअघि खेलाडीले विश्राम र आराम पाउनुपर्ने हो, तर लगातार खेल्दा खेलाडी थकित छन्,’ कटवालले भने, ‘खेलाडी कति घाइते भएका छन्, हामीले राम्रोसँग हेर्न पनि पाइरहेका छैनौँ ।’ सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मच्छिन्द्रले आयोजकको केपी एफसीलाई १–० ले पराजित गर्दै अन्तिम दुई स्थान बनायो । मच्छिन्द्रको जितमा राष्ट्रिय फुटबल टोलीका खेलाडी विमल घर्तीमगरले १९औँ मिनेटमा विजयी गोल गरे ।
रजिन धिमालले मिलाएको बललाई बक्सभित्र नियन्त्रणमा लिँदै विमलले उत्कृष्ट गोल गरेका थिए । विमलको निर्णायक गोलमा दुई दिनको अन्तरमा मच्छिन्द्र फाइनलमा प्रवेश गर्यो । गत साता मच्छिन्द्रले सर्लाहीमा आयोजना भएको राजर्षि जनक फुटबल प्रतियोगिता उपाधि जितेको थियो । यस सिजन मच्छिन्द्र तेस्रो नकआउट प्रतियोगिता जित्ने लक्ष्यमा छ । आइतबार भद्रपुर–मेची रंगशालामा विभागीय टोली एपिएफ फुटबल क्लबलाई १–० ले नै पराजित गर्दै मच्छिन्द्र उपाधिनजिक पुगेको थियो ।
विमल घाइते
केपी एफसीविरुद्ध निर्णायक गोल गरेका स्ट्राइकर विमल घाइते भएका छन् । दोस्रो हाफको अन्तिम समयमा विमल घाइते हुँदा मंगलबार भद्रपुरमा विमल मैदानमा उत्रनेछैनन् । विमलको खुट्टामा चोट लागेको छ । ‘विमल भद्रपुरमा आर्मीविरुद्ध हुनेछैनन्,’ प्रशिक्षक कटवालले भने । प्रशिक्षक कटवालले पूर्ण रूपमा तयार नभएपछि कप्तान सुजल र विदेशी खेलाडी आफिज ओलावालेलाई भद्रपुरमै विश्राम दिएका थिए ।
दुवै खेलाडी एन्फा कम्प्लेक्सको सेमिफाइनलमा उपलब्ध भएनन् । ‘सुजल र आफिज एक दिनको विश्रामपछि फर्कने विश्वास लिएको छु, विमलको स्थान आफिजले लिएपछि हामीलाई सहज हुन्छ,’ कटवालले भने । पछिल्लो दुई सिजन मनाङ मस्र्याङ्दी क्लबबाट खेलेका आफिज यसै सिजन मच्छिन्द्रसँग अनुबन्ध भएका छन् । प्रशिक्षक कटवालले आर्मी बलियो टोली रहेको र सजग हुँदै खेल्ने बताए । ‘आर्मीको युवा टोलीले संकटाविरुद्ध (सेमिफाइनल खेल) निकै राम्रो खेलेको छ । त्यसैले सजग भएर खेल्नेछौँ,’ उनले भने ।