एकदिवसीयमा नेपालको लगातार पाँचौँ जित

मंगलबार, १६ फागुन, २०७९
डिजिटल संस्करण

रोहितकुमार पौडेलको कप्तानीमा नेपालले कीर्तिमानी रूपमा आइसिसी पुरुष विश्वकप लिग–२ मा लगातार पाँचै खेलमा टस जितेर पाँचैपटक विपक्षी टोलीलाई स्तब्ध बनायो 

नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ मा लगातार पाँचौँ जित निकालेको छ । सोमबार दुबईमा नेपालले पपुवा न्युगिनी (पिएनजी) लाई चार विकेटले पराजित गरेको हो । लगातार पाँचौँ जितपछि नेपालले विश्वकप छनोट सम्भावना बलियो बनाएको छ । २९ खेलमा १३ जित १४ हारसहित २८ अंक जोडेको नेपाल छैटौँ स्थानमा छ । समान खेलबाट दुई खेल मात्रै जितेको पिएनजी पाँच अंकसहित पुछारमा छ । ५० अंकसहित स्कटल्यान्ड च्याम्पियन बनिसकेको छ । ४४ अंकसहित दोस्रो स्थानको ओमान सीधै विश्वकपको छनोट पुगिसक्यो । 

अब नामिबिया, युनाइटेड अरब इमिरेट्स (युएई) र नेपालबीच तेस्रो स्थानको दाबेदारी प्रस्तुत भइरहेको छ । शीर्ष तीन टोलीले जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् । नेपालले लगातार विश्वकप लिग–२ मा पाँचौँ जित निकाल्दा गत साता नामिबिया र स्कटल्यान्डलाई समान दुई खेलमा पराजित गरेको थियो । नेपालले शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न अब बाँकी ७ मध्ये ६ खेल जित्नुपर्ने हुन्छ । पिएनजीविरुद्ध युवा अलराउन्डर प्रतिश जिसीले डेब्यु गरेका छन् । बलर सोमपाल कामीले जिसीलाई ३७औँ एकदिवसीय डेब्यु क्याप दिएका हुन् । 

रोहितले पूर्वकप्तान मल्लको रेकर्ड तोडे
रोहितले पूर्वकप्तान ज्ञानेन्द्र मल्लको रेकर्डसमेत तोडेका छन् । एकदिवसीय खेलमा ज्ञानेन्द्रको नाममा लगातार चार खेलमा जित निकालेको रेकर्ड थियो । रोहितले आफ्नो कप्तानीमा ज्ञानेन्द्रको नाममा रहेको कीर्तिमान भंग गरेका हुन् । नेपालले गत साता टियू मैदानमा भएको विश्वकप लिग–२ मा स्कटल्यान्ड र नामिबियाविरुद्धको चार खेलमा जित निकालेको थियो । यसअघि ज्ञानेन्द्रको कप्तानीमा नेपालले सन् २०२० र २०२१ मा आयोजना भएको चार एकदिवसीयमा जित निकालेको थियो । 

सन् २०२० मा आइसिसी विश्वकप लिग–२ मा फ्रेबुअरीमा घरेलु मैदान टियूमा नेपालले अमेरिकालाई आठ विकेटले हराएको थियो । त्यसपछि सन् २०२१ सेप्टेम्बरमा पपुवा न्युगिनीलाई दुई एकदिवसीय खेलमा क्रमशः दुई विकेट र एक सय ५१ रनले हराएको थियो । विश्वकप लिग–२ मा मल्लको कप्तानीमा नेपालले अमेरिकालाई पहिलो खेलमा पाँच विकेटले हरायो । यसपटक रोहितको कप्तानीमा नेपालले नयाँ इतिहास रचेको हो । नेपालले सबै खेलमा टस जित्दै लक्ष्य पछ्याउँदा खेल जितेको हो ।

भुर्तेलको अर्धशतक 
विश्वकप लिग–२ अन्तर्गत एक सय २९औँ खेलमा टस हार्दै पिएनजीले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा नौ विकेट गुमाएर दुई सय तीन रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले ४५.२ ओभरमा ६ विकेटको क्षतिमा दुई सय सात रन जोड्यो । कुशल मल्लले सेसे बाउको ओभरमा चौका प्रहार गर्दै नेपालका लागि विजयी रन बटुले । कुशलले १४ बलमा १२ रन बनाए । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखबीच पहिलो विकेटका लागि १४.५ ओभरमा ७६ रनको साझेदारी भएको थियो । दोस्रो ओपनर आसिफले उराबाट रनआउट हुनुअघि ३९ बलमा ४४ रन बनाए । उनले आफ्नो इनिङ्समा पाँच चौका प्रहार गरे । त्यसपछि भुर्तेलले कप्तान रोहितसँग तेस्रो विकेटका लागि २६ रनको साझेदारी गरे । इनिङ्सको २१.३ ओभरमा कुशलले आफ्नो विकेट गुमाए । यसक्रममा उनले ५९ बलको सामना गरी पाँच चौकाको सहयोगमा ५६ रन बनाए । 

यसैगरी, नेपालका बलर गुलसन झाले पिएनजीविरुद्ध उत्कृष्ट बलिङ गर्न सफल भए । गुलसनले ९ ओभरमा २८ रन खर्चिएर तीन विकेट लिएका थिए । यसैगरी, कुशलले दुई विकेट हात पारे । सोमपाल कामी, करण केसी र डेब्यु गरेका प्रतिशले एक–एक विकेट लिएका थिए । ब्याटिङमा पिएनजीका कप्तान असाद भाला र चाद सुपरले सर्वाधिक समान ३६ रन बनाएका थिए । चादले ५३ बलमा अविजित ३६ रन बनाएका थिए । 

हङकङमाथि नेपाल ९ विकेटले विजयी
नेपाली यू–१९ क्रिकेट टोलीले आइसिसी यू–१९ विश्वकप एसियन छनोटमा लगातार तेस्रो जित निकालेको छ । नेपालले सोमबार हङकङलाई नौ विकेटले हराउँदै छनोट प्रतियोगितामा ह्याट्रिक जित हात पारेको हो । पहिलो ब्याटिङ गरेको हङकङ ४६.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय २० रन मात्र बनायो । प्रत्युत्तरमा नेपालले २७ ओभरमा एक विकेटको नोक्सानीमा एक सय २६ रन बनायो । 

लिग तालिकाको शीर्ष स्थानमा रहेको युएईले ६ अंक जोडेको छ । नेपालले पनि तीन खेलबाटै समान ६ अंक हात पारेको छ । रनरेटमा युएई शीर्ष स्थानमा छ । प्रतियोगिताको च्याम्पियन टोलीले यू–१९ विश्वकप खेल्नेछ । छनोट खेलमा मलेसिया, सिंगापुर र हङकङले समान तीन खेलबाट दुई–दुई अंक जोडेका छन् । कुवेतले तीन खेल नै गुमाएको छ । 

आकाशको अर्धशतक
सहज लक्ष्य पछ्याएको नेपालका लागि ओपनर आकाश त्रिपाठीले नटआउट अर्धशतकीय इनिङ्स खेलेका थिए । उनले ७२ बलको सामना गरी ६४ रन बनाए । यसक्रममा आकाशले पाँच चौका र चार छक्का प्रहार गरे । नेपालले पहिलो विकेट ५.२ ओभरमा गुमाएको थियो । अर्जुन कुमालले १२ बलमा १६ रन जोडे । उनी विकेटपछाडि अंश रुपेशबाट क्याचआउट भए । 

त्यसपछि आकाशले उत्तम थापामगरसँग दोस्रो विकेटका लागि ९३ रनको अविजित साझेदारी गरेका थिए । उत्तमले ५० बलमा चार चौकाको सहयोगमा ३९ रनको योगदान दिए । नेपालले सात अतिरिक्त रन पाएको थियो । बलिङका क्रममा हङकङका डयानिल मार्गोनले १५ रन खर्चेर एक विकेट लिए । 

हेमन्तको घातक बलिङ
हङकङले नेपाली बलरको सामना गर्न सकेन । ओपनर बलरद्वय हेमन्त धामी र आकाश चन्दले एकआपसमा पाँच विकेट लिँदा हङकङको ब्याटिङ कमजोर भयो । इनिङ्सको २.३ ओभरमै नेपाली बलरले हङकङको विकेट लिएका थिए । हेमन्तले नौ ओभरमा १९ रन खर्चेर तीन विकेट हात पारे । उनले तीन मेडन ओभर पनि फ्याँके । यसैगरी, आकाशले ८.३ ओभरमा ४३ रन खर्चंदै दुई विकेट लिए । 

सन्दीपलाई राख्न आइसिसीसँग अनुमति माग्छौँ : अध्यक्ष चन्द 
सर्वाेच्च अदालतले विदेश जान स्वीकृति दिएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले आइसिसीसँग सन्दीप लामिछानेलाई टोलीमा समावेश गर्न अनुमति माग्ने भएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई टोलीमा राख्न आइसिसीसँग अनुमति माग्ने बताएका हुन् । ‘अदालतको आदेशसँगै हामी आइसिसीसँग वार्तालाप गरिरहेका छौँ, सन्दीपलाई टोलीमा राख्न अनुमति माग्छौँ,’ चन्दले नयाँ पत्रिकासँग भने । 

यसअघि पाटन उच्च अदालतले सन्दीपलाई २० लाख धरौटीमा विदेश जान रोकसहित विभिन्न सर्तसहित रिहा गर्न आदेश दिएको थियो । यसपछि सन्दीपले घरेलु मैदानमा आयोजना भएको नेपाल, स्कटल्यान्ड र नामिबियाविरुद्धको शृंखला खेलेका थिए । चार खेल खेलेका सन्दीपले १३ विकेट लिएका थिए । शृंखलापछि सन्दीपले विदेश जान पाउने मागसहित अदालतमा रिट हालेका थिए । सोमबार न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो । ‘हामीले आइसिसीको टेक्निकल कमिटीलाई सन्दीपलाई विदेश जान अनुमति आएको बताउँछौँ, उताबाट अनुमति आए भिसा लगाउनेछौँ,’ चन्दले भने । नेपाली टोली युएईमा छ । नेपालले २ मार्चमा आयोजक युएईसँग खेल्नेछ । 

सुझावित समाचार