प्रहरीको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मात्रै शिशु स्याहार केन्द्र

मंगलबार, १६ फागुन, २०७९
डिजिटल संस्करण
प्रहरीको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा मात्रै शिशु स्याहार केन्द्र

उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानास्थित शिशु स्याहार केन्द्र । तस्बिर : दीपेन्द्र ढुंगाना/नयाँ पत्रिका

बग्गीखानाआसपास खटिने आमा प्रहरीले स्याहार केन्द्रमा राख्छन् शिशु, स्तनपान गराउन भने समस्या

नेपाल प्रहरीमा महिला सुरक्षाकर्मी आठ हजार तीन सय ४३ छन्, जुन कुल संख्याको ११ प्रतिशत हो । जसमध्ये अधिकांश विवाहित छन् र शिशु भएका महिला प्रहरीको संख्या उल्लेख्य छ । तर, उनीहरू ड्युटीमा खटिँदा बच्चा राख्न सम्बन्धित कार्यालयमा शिशु स्याहार केन्द्र छैनन् । प्रहरीका अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना)बाहेक अन्य ठाउँमा शिशु स्याहार केन्द्र छैन । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी पोषराज पोखरेलले प्रहरी प्रधान कार्यालयमा पनि शिशु स्याहार केन्द्र राख्ने योजना रहेको बताए । ‘महिला प्रहरीका लागि शिशु स्याहार केन्द्र लाभदायक रहेको हाम्रो बुझाइ छ । प्रहरी प्रधान कार्यालयमा पनि शिशु स्याहार केन्द्रको आवश्यकता महसुस भएको छ । राख्ने योजना पनि बनेको छ । नभएका अन्य कार्यालयमा पनि राख्ने योजना छ,’ उनले भने ।

बग्गीखानाआसपास खटिने आमा प्रहरीले स्याहार केन्द्रमा राख्छन् शिशु, स्तनपान गराउन भने समस्या 
काठमाडौं ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छिन् प्रहरी सहायक हवल्दार नारायणी सापकोटा । साढे दुई वर्षको छोरासँगै उनी बिहान ९ बजे कार्यालय आउँछिन् । कार्यालयपरिसरमै रहेको दिवा शिशु स्याहार केन्द्रमा छोरा राख्छिन् । साँझ ५ बजे ‘ड्युटी’ सकिएपछि छोरा लिएर अनामनगरस्थित डेरा फर्किन्छिन् । दुई वर्षदेखि उनको यो रुटिन नियमित छ । 

नारायणीका श्रीमान् देवीराम भण्डारी पनि नेपाल प्रहरीकै इन्स्पेक्टर छन् । उनी रोल्पामा छन् । काखे छोरा हेर्न डेरामा कोही सहयोगी नभएपछि आफूसँगै कार्यालय ल्याउनु नारायणीका लागि बाध्यता हो । उनी भन्छिन्, ‘बाबु सानो छ । कोठामा हेर्न मान्छे कोही छैन । बिहान ९ बजे आफूसँगै कार्यालय लिएर आउँछु । शिशु स्याहार केन्द्रमा राख्छु । ‘ड्युटी’ सकिएपछि छोरा लिएर फर्किन्छु । ६ महिनाको हुँदादेखि स्याहार केन्द्रमा राख्दै आएकी छु । स्तनपानका लागि समय मिलाउन निकै गाह्रो हुन्थ्यो, अहिले त दूध छुटाइसकेँ ।’ 

सिंहदरबारको दक्षिण ढोकामा ‘ड्युटी’ छ, प्रहरी सहायक हवल्दार मीना भट्टको । बिहानको ठीक ९ बजे उनलाई सिंहदरबार दक्षिण ढोका पुग्नुपर्छ । तीन वर्षकी छोरी छिन्, हेरचाह गर्न डेरामा कोही सहयोगी छैन । ८ नबज्दै उनी छोरी लिएर उपत्यका ट्राफिक कार्यालयस्थित शिशु स्याहार केन्द्र पुग्छिन् । छोरीलाई स्याहार केन्द्रमा राख्छिन् । अनि ‘ड्युटी’ भ्याउन पुग्छिन् । ड्युटी सकेर बेलुकाको ४:३० मा स्याहार केन्द्र पुग्छिन् । केन्द्रमै छोरीलाई दूध खुवाउँछिन् । त्यसपछि लिएर डेरामा फर्किन्छिन् । उनको यो नियमित रुटिन आठ महिनादेखि चलिरहेको छ । 

छोरी लिन पुग्दा स्याहार केन्द्रमै भेटिएकी उनले भनिन्, ‘श्रीमान् पनि प्रहरी नै हुनुहुन्छ । उहाँको ‘ड्युटी’ हेडक्वार्टरमा छ । छोरी हेर्ने मान्छे छैन । त्यसो हुँदा कार्यालय आउँदा छोरीलाई सँगै ल्याउँछु । स्याहार केन्द्रमा राख्छु । दिनभर ‘ड्युटी’ गर्छु । ड्युटी सकेपछि छोरी लिएर घर फर्किन्छु ।’ 

छोरी अझै सानी छँदा उनले झन् ठूलो कष्ट भोगिन् । यसअघि उनको ‘ड्युटी’ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा थियो । मन्त्रालयमै छोरी लिएर जान्थिन्, तर त्यहाँ शिशु स्याहार केन्द्र थिएन । त्यसवेला छोरी हुर्काउन उनलाई निकै कठिन पर्यो । ‘ड्युटी’स्थल बदलिएसँगै उनले छोरीलाई उपत्यका ट्राफिक प्रहरी कार्यालयपरिसरस्थित शिशु स्याहार केन्द्रमा राख्न थालेकी हुन् । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयमै कार्यरत अर्की प्रहरी सहायक हवल्दार हुन्, सावित्रा खड्का । उनको पनि १६ महिनाको छोरा छ । श्रीमान् प्रहरी संगठनमै कार्यरत हुँदा छोराको हेरचाह गर्ने डेरामा कोही छैन । त्यसो हुँदा उनी प्रत्येक बिहान ९ बजे छोरालाई आफूसँगै कार्यालय लिएर आउँछिन् । शिशु स्याहार केन्द्रमा राख्छिन् । दिनभर ‘ड्युटी’ गर्छिन् । सकेर छोरा लिन जाँदा सधैँ साँझ पर्छ ।

अनामनगर बस्दै आएकी उनी भन्छिन्, ‘बिहान ९ बजे नै छोरा लिएर कार्यालय आउँछु । छोरालाई स्याहार केन्द्र राख्छु । आफू ‘ड्युटी’मा जान्छु । काम सकेर बाबु लिन जाँदा सधैँ बेलुका हुन्छ ।’ 

प्रहरीको ‘ड्युटी’ स्थान र समय सधैँ निर्धारित हुन्छ । त्यसभन्दा दायाँबायाँ गर्ने छुट उनीहरूलाई हुँदैन । विशेषगरी आमा प्रहरीका लागि यो नियम कहिलेकाहीँ व्यावहारिक हुँदैन । स्याहार केन्द्रमा राखे पनि बच्चालाई स्तनपान गराउन भने समस्या छ । स्याहार केन्द्रमै भेटिएकी सहायक हवल्दार खड्काले भनिन्, ‘प्रहरीको ‘ड्युटी’ कडा हुन्छ । खटिएको ठाउँ र निर्धारित समयभन्दा दायाँबायाँ गर्न पाइँदैन । यस्तो वेला बच्चा रोए पनि दूध खुवाउन पाइँदैन । आफ्नो भने दूध चुहिएर खेर जान्छ ।’ 

सिंहदरबारस्थित प्रहरी गणमा कार्यरत प्रहरी सहायक हवल्दार जमुना घिसिङ उपत्यका ट्राफिक कार्यालयस्थित शिशु स्याहार केन्द्र पुग्दा दुई वर्षको छोरालाई स्तनपान गराइरहेकी थिइन् । बिहान ९ बजे उनले छोरालाई शिशु स्याहार केन्द्रमा छाडेकी थिइन् । ‘ड्युटी’ सकेर छोरा लिन स्याहार केन्द्र पुग्दा अपराह्न ५ बजेको थियो । १५ महिनादेखि केन्द्रमा छोरा राख्दै आएकी उनले भनिन्, ‘श्रीमान् पनि प्रहरीमै जागिरे हुनुहुन्छ । घरमा बच्चा हेर्ने कोही सहयोगी छैन । त्यसो हुँदा कार्यालय आउँदा सँगै ल्याउँछु ।’ 

सेनाको देशभर ६ स्थानमा मात्रै शिशु स्याहार केन्द्र 
नेपाली सेनामा महिला सुरक्षाकर्मी तथा कर्मचारीको संख्या ६ हजार ६ सय ३२ छ । यो कुल सैनिक संख्याको करिब ६ प्रतिशत हो । जसमध्ये पाँच हजार चार सय एक साधारणतर्फ छन् भने बाँकी एक हजार दुई सय ३१ प्राविधिक र कर्मचारी छन् । सेनामा पनि शिशुसहितका आमा निकै छन् । उनीहरूका लागि सेनाले मुलुकभर ६ स्थानमा शिशु स्याहार केन्द्र खोलेको छ । जसमध्ये उपत्यकामा सैनिक जंगी अड्डा भद्रकाली र छाउनीमा छ । बाँकी चार स्याहार केन्द्र उपत्यकाबाहिर छन् । 

सेनाका अनुसार प्रत्येक शिशु स्याहार केन्द्रले दैनिक ३० देखि ४० सैनिकका बच्चालाई सेवा दिँदै आएको छ । केन्द्रमा ६ महिनादेखि तीन वर्षसम्मका बच्चा राख्ने गरिएको छ । कार्यालयमा कार्यरत सैनिकले बिहान ९ बजे आफूसँगै बच्चा लिएर आउँछन् । स्याहार केन्द्रमा राख्छन् । ‘ड्युटी’ सकेर साँझ पुनः स्याहार केन्द्र पुग्छन् र बच्चा लिएर घर फर्किन्छन् । 

नेपाली सेनाका जवान गोमा बस्नेतले शिशु स्याहार केन्द्रमा बच्चा राख्दा दिनभर ‘ड्युटी’मा खटिन सहज भएको बताइन् । उनले भनिन्, ‘स्याहार केन्द्रमा बच्चा राख्न पाउँदा ढुक्क छु । स्याहार केन्द्रले रेखदेख राम्रोसँग गरेको पाएँ । दुई–तीन दिनको अध्ययनपछि मैले यहाँ बच्चा राखेकी हुँ ।’ 

सशस्त्र प्रहरीको सबै बटालियनमा शिशु स्याहार केन्द्र 
सशस्त्र प्रहरीमा महिला सुरक्षाकर्मीको संख्या दुई हजार तीन सय ९९ छ । ३७ हजारको फौजमा यो संख्या ६.४८ प्रतिशत मात्रै यो । सेना र नेपाल प्रहरीको तुलनामा यो संख्या कम हो । तर, सशस्त्रले प्रधान कार्यालयदेखि मुलुकका ४४ वटै बटालियनमा शिशु स्याहार केन्द्र खोलेको छ । त्यसबाहेक अधिकांश गुल्ममा पनि शिशु स्याहार केन्द्र खोलिएको सशस्त्र प्रहरीको भनाइ छ । सशस्त्रको मुलुकभर ३७ वटा गुल्म छन् । 

सशस्त्रका केन्द्रीय प्रवक्ता डिआइजी पुरुषोत्तम थापाले शिशु स्याहार केन्द्र प्रधान कार्यालयसहित मुलुकको सबै बटालियनमा रहेको बताए । 

‘समावेशी सिद्धान्तका आधारमा हामीकहाँ ठूलो संख्यामा महिला सुरक्षाकर्मी छन् । उनीहरूबाट काम लिनुपर्ने हुन्छ । सानो बच्चाका कारण समस्या पर्ने देखियो । यसको निराकरणका लागि हामीले सबै बटालियन र गुल्ममा शिशु स्याहार केन्द्र राख्न लगाएका छौँ । केही गुल्ममा भने राख्न बाँकी होलान्,’ उनले भने, ‘प्रधान कार्यालयमा त मन्टेसरी नै चलाउने योजना छ । यसो गर्दा बच्चासहितका आमा सुरक्षाकर्मीलाई फाइदा हुन्छ । उनीहरूबाट संगठनले काम पनि लिन सक्छ ।’
 

सुझावित समाचार