भासिएर २० महिनादेखि अलपत्र पुल निरीक्षण गर्न यातायातमन्त्री श्रेष्ठ सिराहामा

सोमबार, १५ फागुन, २०७९
डिजिटल संस्करण

हुलाकी राजमार्गअन्तर्गत सिराहा–धनुषा जोड्न कमला नदीमा ११ वर्षदेखि निर्माणाधीन रहेको कमला नदीको पक्की पुल निरीक्षण गर्न उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ सिराहा आउने भएका छन्।

२० महिनाअघि भासिएर अलपत्र परेको कमला नदीको पक्की पुल निरीक्षण गर्न मन्त्री श्रेष्ठ सिराहा आउन लागेका हुन्।  

मन्त्री श्रेष्ठ विभागीय कर्मचारीहरूसहित पुल निरीक्षण गर्न कमला नदीमा आउने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका युवा नेता अरविन्द यादवले बताए। मन्त्री श्रेष्ठ पुल निरीक्षण गर्न भन्दै आइतबार नै प्रदेशको राजधानी जनकपुरधाम आइपुगेका छन्।

०६८ सालमा शिलान्यास भई निर्माण थालिएको पुल ०७८ साल असार १७ मा कमला नदीमा आएको बाढीले पुलको सिराहातर्फको पहिलो पाया जमिनमा भासिएको थियो। त्यसको चार महिनापछि कात्तिक ३ मा पुलको धनुषातर्फबाट तेस्रो पाया भासियो। 

पप्पु कन्स्ट्रक्सन लुम्बिनी बिल्डर्सले २५ करोडको लागतमा कमला नदीमा पुल निर्माण गर्ने सम्झौता गरे पनि ११ वर्ष बितिसक्दा पुल निर्माण पूरा नहुँदै भासिएको छ। भासिएको पुल निरीक्षण गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनादेखि मन्त्री र सांसदहरू आए पनि पुल पुनः निर्माण हुन सकेको छैन।

पुल भासिएको २० महिना पुगे पनि कुनै निकायबाट वास्ता नहुँदा सिराहा, सप्तरी र धनुषाका नागरिकलाई सास्ती खेप्नु परिरहेको छ। 

प्रदेशको राजधानी जनकपुरधाम पुग्न सिराहा र सप्तरीवासीलाई ग्राहो भइरहेको छ। त्यसैगरी धनुषाका स्थानीयलाई पनि सिराहा बजारमा किनमेलदेखि आफ्ना उत्पादनहरू बेच्न पुल निर्माण नहुँदा अप्ठ्यारो भएको छ।

See More On

सुझावित समाचार