पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीमा १ नम्बर प्रदेशस्तरीय बौद्ध सम्मेलन सुरु भएको छ । लुम्बिनी विश्वविद्यालय र जिल्ला समन्वय समिति संखुवासभाको आयोजनामा शनिबार खाँदबारीमा तीनदिने बौद्ध सम्मेलनको उद्घाटन गरिएको हो ।
तमु (गुरुङ)हरूको धर्मगुरु १०४ वर्षीय मानवीर पैजो गुरुङ (दारी लामा)ले पानसमा बत्ती बालेर सम्मेलनको उद्घाटन गरेका थिए । प्रदेश१ का मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्ने तय भए पनि अन्तिम समयमा उनी अनुपस्थित भए ।
विभिन्न जातजातिहरूको झाँकी र्याली नयाँ बजारबाट सुरु भई देवकोटा, प्रहरी गेट र टुँडीखेल हुँदै नगर परिक्रमासहित कार्यक्रमस्थल पोखरीबजार पुगेको थियो । हिमाली जिल्ला संखुवासभाको बौद्ध दर्शन र सम्पदा संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले प्रदेशस्तरीय बौद्ध सम्मेलन गरिएको हो । उद्घाटन कार्यक्रममा विभिन्न जातजातिहरूको झाँकी तथा नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा डा. मातृकाप्रसाद तिम्सिनाले संखुवासभाका बौद्ध दर्शनबारे अनुसन्धान केन्द्र बनाउने उद्देश्य रहेको बताए । उनले संखुवासभा जिल्लाका कुनाकाप्चासम्म बौद्धमार्गी रहेको र उनीहरूको बारेमा अध्ययन–अनुसन्धान गर्न जरुरी रहेको बताए ।
कार्यक्रमको दोस्रो दिन आज आइतबार विज्ञहरूका कार्यपत्र प्रस्तुत, भिक्षुहरूको प्रवचन, बौद्ध दर्शनबारे छलफल र अन्तर्क्रिया र तेस्रो दिन कार्यपत्र र कार्यक्रमको निष्कर्ष प्रस्तुत गरिने आयोजक जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले जानकारी दिए ।
कार्यक्रममा तमु (गुरुङ)हरुरूको धर्मगुरु मानवीर पैजो गुरुङ (दारी लामा)लाई अभिनन्दन गर्नुका साथै ‘हिमाली बौद्ध दर्शन’ नामक पुस्तकसमेत विमोचन गरिएको थियो ।