राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नेकपा एमालेले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको छ। नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएलगत्तै एमालेले एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको हो।
राष्ट्रपति निर्वाचनमा सहयोग माग्दै एमालेले १० पुसको सहमतिलाई पनि आधार बनाएको छ। तर, १० पुसको सहमतिमा एकीकृत समाजवादी सहभागी थिएन। केही समयअघिसम्म एकीकृत समाजवादीलाई पार्टीको हैसियतमा मान्न तयार नभएको एमालेले अध्यक्ष नेपाललाई सम्बोधन गर्दै औपचारिक पत्र पठाएको हो।
‘राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभाका माननीय सदस्यहरू मतदाता हुने यस निर्वाचनमा तपाईंको पार्टीका तर्फबाट माननीय सुवासचन्द्र नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग प्राप्त हुने विश्वासका साथ हार्दिक अुनरोध गर्दछु,’ ओलीले नेपाललाई पठाएको पत्रमा उल्लेख छ ।