कैलाश गाउँपालिकाका नागरिकले गाउँमै आँखाको उपचार पाउने

शनिबार, १३ फागुन, २०७९
डिजिटल संस्करण

मकवानपुरको विकट क्षेत्र कैलाश गाउँपालिकाका स्थानीयले चैतको अन्तिम सातादेखि आफ्नै पालिकामा आँखाको उपचार सुविधा पाउने भएका छन्।

गाउँपालिका र तिलगंगा आँखा प्रतिष्ठानबीच पालिकामा सामुदायिक आँखा केन्द्र सञ्चालन गर्ने सहमति भएपछि विकट ठाउँका स्थानीयले पालिकामै आँखा उपचारको सुविधा पाउने भएका हुन्। पालिका र प्रतिष्ठानबीच उपचार केन्द्र सञ्चालन गर्ने सहमति-पत्रमा हस्ताक्षर भएको छ।

तिलगंगा आँखा प्रतिष्ठान हेटौँडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठ र कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन्। सहमतिअनुसार आउँदो चैतको अन्तिम सातादेखि सामुदायिक आँखा केन्द्र सञ्चालनमा आउनेछ।

सहमति-पत्रमा हस्ताक्षरपछि बोल्दै पालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले सामान्यभन्दा सामान्य रोगको उपचारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता भएका स्थानीयले पालिकामै आँखा उपचार गराउने व्यवस्था गर्न पाउँदा खुसी लागेको बताए।

उनले वडा नम्बर ३ कालिकाटारस्थित पालिकाको भवनसँगै निर्माणाधीन अस्पतालको काम सकिएपछि आँखा केन्द्रको सुविधासमेत सोही अस्पतालबाट दिने व्यवस्था गरिने बताए। आँखा केन्द्रमा एक नेत्र सहायकसहित ३ कर्मचारी रहनेछन्।

सुझावित समाचार