सांसद एनपी साउदले संसद्को शून्य समयमा उठेका विषयमा सरकारका मन्त्रीहरू जवाफदेही नहुँदा संसद्को गरिमा घटेको बताएका छन्।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले मन्त्रीहरूले संसदमा उठेका विषयको जवाफ नदिँदा शून्य समयको गरिमा घटेको बताएका हुन्।
‘संसदीय अभ्यासमा शून्य समयको ठूलो महत्व छ। देशभरिका समस्यालाई एक मिनेटभित्र सांसदहरूले सदनसमक्ष प्रस्तुत गर्ने परम्परा छ,’ साउदले भने, ‘तर, यसबारे सरकारका मन्त्रीहरूले आएर जवाफ दिने नगर्नुभएको हुनाले यसको गरिमा घटेको छ।’
उनले प्रजातन्त्रमा सुशासन र जवाफदेहितको महत्व हुने जिकिर गर्दै संसद्ले मन्त्री र सरकारलाई रुलिङ गरेर जवाफ दिने प्रबन्ध गर्नुपर्नेमा पनि जोड दिए।
‘प्रजातन्त्रमा सुशासन र जवाफदेहिताको महत्व हुन्छ,’ कांग्रेसका नेतासमेत रहेका सांसद साउदले भने, ‘मन्त्रीहरूलाई, सरकारलाई स्पष्ट रूपमा रुलिङ गरेर यहाँ आएर जवाफ दिने प्रबन्ध गरियोस्।’