आठौंँ संस्करणको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी, नेपाल हाउजिङ एन्ड इनभेस्टमेन्ट एक्स्पो र नेपाल हेभी इक्विपमेन्ट एन्ड कन्स्ट्रक्सन एक्स्पो एकैसाथ सुरु भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको संयुक्त आयोजनामा बिहीबारदेखि काठमाडाैंको भृकुटीमण्डपमा उक्त एक्स्पोहरू सुरु गरिएको हो ।
आगामी आइतबारसम्म सञ्चालन हुने उक्त एक्स्पोको सहरी विकासमन्त्री विक्रम पाण्डेले उद्घाटन गरेका छन् ।उद्घाटनपछि मन्त्री पाण्डेले घर निर्माणदेखि विकास निर्माणसम्मको कार्यका लागि एक्स्पो फाइदाजनक हुने बताए । ‘घर निर्माणदेखि विकास निर्माणको कार्य गर्न आवश्यक पर्ने सामग्री यस प्रदर्शनमा राखिएका छन् । तसर्थ, कुनै पनि निर्माण कार्यका लागि यो कार्यक्रम अत्यन्तै महत्वपूर्ण छ,’ उनले भने, ‘सबैलाई आएर यो कार्यक्रमको अवलोकन गर्न अनुरोध पनि गर्दछु ।’
प्रदर्शनीलाई नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तथा नेपाल क्रसर तथा खानी उद्योग महासंघले सहयोग गरेका छन् । प्रदर्शनीमा नेपालबाहेक भारतसहित विभिन्न देशका तीन सयभन्दा बढी ब्रान्डहरूको दुई सयभन्दा बढी स्टल राखिएका छन् ।
निर्माण मेसिनरी, कन्स्ट्रक्सन हेभी इक्विपमेन्ट, आवास र अपार्टमेन्टको आउटलेट, प्रि–फ्याब संरचना, युपिभिएस विन्डोज मेसिनरी तथा प्रोफाइल, ढोका र झ्यालहरू, वास्तुकला हार्डवेयर, बाथरुम फिटिङ, पाइप, टाइल र सेनेटरी वेयर, पूर्वइन्जिनियरिङ भवन, पावर उपकरण, विन्डोज, कंक्रिट ब्लक मेसिनरी निर्माता, मुभिङ इक्विपमेन्ट, मेटेरियल ह्यान्डलिङ इक्विपमेन्टलगायतका सामग्री प्रदर्शनीमा राखिएका छन् । साथै, कार्यक्रममा भवन, निर्माण, डिजाइन र इन्जिनियरिङ सम्बन्धमा जानकारीसमेत गराइनेछ ।
यो कार्यक्रम निर्माणसम्बन्धी नेपालकै सबैभन्दा ठूलो एक्स्पो हो । विकास, प्रतिस्पर्धात्मकता, पूर्वाधारमा लगानी प्रवद्र्धन, मानव पुँजीको विकास र सामाजिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गरेको आयोजकको भनाइ छ ।
यस वर्ष एक्स्पोलाई निर्माणमा आएका नयाँ प्रविधिमा फोकस गराइएको छ । विश्वभरि प्रयोग भइरहेको नवीनतम प्रविधि र आविष्कारलाई प्रदर्शनीमा राखिएको आयोजकको भनाइ छ । यस्तै, कार्यक्रमले कोरोना महामारीपछि प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान गर्न सहयोग पुग्ने विश्वास पनि गरिएको छ ।