नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले स्थापनाको ३५औँ वर्ष पूरा गरी ३६औँ वर्षमा प्रवेश गरेको अवसरमा देशभरका ३४ वटा बाल र वृद्धाश्रममा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो ३६औँ वार्षिकोत्सव यसका साथै रक्तदान तथा विभिन्न खेलकुद कार्यक्रम गरी मनाएको हो ।
कम्पनीको केन्द्रीय कार्यालय लाजिम्पाटमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ५० जनाभन्दा बढी कर्मचारीको सहभागिता रहेको जनाइएको छ । त्यस्तै, कम्पनीका कर्मचारीमाझ प्रतियोगितात्मक खेलकुद कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीले विगत वर्षसरह चालू आवमा राम्रो व्यावसायिक प्रगति गरेको दाबी गरेको छ । संस्थापक समूह र सर्वसाधारण समूहको ५५ः४५ को अनुपात रहेको यस कम्पनीले आव ०७७/७८ को मुनाफाबाट सेयरधनीहरूलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि नगद लाभांश पारित गरी साधारणसभा सम्पन्न गरिसकेको उल्लेख गरेको छ । जीवन बिमा कोषमा ५६ अर्ब रुपैयाँको हाराहारीमा रकम जम्मा भएको जनाइएको छ । आव
०७७/७८ को बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी चार अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । कम्पनीले आव ०७७/७८ को बिमांकीय मूल्यांकनपश्चात् बिमितलाई न्यूनतम प्रतिहजार ६३ रुपैयाँदेखि अधिकतम प्रतिहजार ८५ रुपैयाँसम्म बोनस प्रदान गरेको जनाएको छ । हाल एक सय १७ शाखा र चार सय ६० कर्मचारी तथा एक लाखभन्दा बढी अभिकर्तामार्फत जीवन बिमासम्बन्धी सेवा दिइरहेको कम्पनीले जनाएको छ ।