नेकपा एमालेका सचिव योगेश भट्टराईले पुस १० को सहमतिअनुसार नभए नेकपा एमाले सरकारमा नबस्ने बताएका छन् । प्रेस चौतारी नेपाल रुकुम पश्चिमले जिल्ला सदरमुकाम मुसिकोटमा बिहीबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सहमति पालना हुन्छ भन्नेमा एमाले विश्वस्त रहेको र यदि नहुने अवस्था भयो भने सरकारमा नबस्ने बताएका हुन्। पुस १० मा एमालेले राष्ट्रपति पाउने सहमति भएको उनले दाबी गरे।
सोही सहमतिअनुसार सत्तासमीकरणभित्रबाट राष्ट्रपतिमा एमालेको उम्मेदवार हुनुपर्ने उनको भनाइ छ । ‘तत्कालीन गठबन्धन भत्किएर नयाँ समीकरण बन्दा पुस १० मा माओवादीले प्रधानमन्त्री र एमालेले राष्ट्रपति, सभामुख पाउने सहमति भएको हो,’ उनले भने, ‘सभामुख, उपसभामुखसम्म आइपुग्दा उक्त सहमति कार्यान्वयन भएको छ, अहिले पनि सहमतिअनुसार नै सत्तासमीकरण चलिरहेको छ, एमालेलाई विश्वास छ त्यो सहमति राष्ट्रपतिको चुनावसम्म पनि कायम हुन्छ ।’
यदि सहमतिविपरीत हुने अवस्था आएमा एमाले सरकारमा नरहने उनले स्पष्ट पारे । ‘एमालेले दुईवटा डुंगामा खुट्टा हाल्दैन, १० गतेको सहमति कार्यान्वयन भयो भने हामी सरकारमा रहन्छौँ, १० गतेको सहमति कार्यान्वयन भएन भने हामी कसरी सरकारमा रहन्छौँ ?’ उनले उल्टै प्रश्न गरे ।
साथै उनले एमाले पनि राष्ट्रिय सहमतिको पक्षमा रहेको बताएका छन् । एमालेको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै उनले कांग्रेसले पनि एमालेको उम्मेदवारमा सहमति जनाउनुपर्ने र त्यसो भएन भने कांग्रेसले आफ्नो उम्मेदवार उठाएर राष्ट्रपतिको चुनावमा जान सक्ने उनको भनाइ छ ।