खेलाडीले राम्रो खेल्दा अम्पाएरको भूमिका पनि राम्रो देखिन्छ : सभामुख घिमिरे

मंगलबार, ९ फागुन, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो भूमिका अम्पाएरको जस्तो हुने बताएका छन्। आफू कुशल अम्पाएर हुने बताउँदै सभामुख घिमिरेले खेलाडीहरूको अनुशासन भने जरुरी रहेको तर्क गरे।

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको अध्यक्षकप खेलकुद महोत्सवको मंगलबार उद्घाटन गर्दै सभामुख घिमिरेले हरेक विषयमा भने खेल्न नहुने धारणा राखे। ‘विकासका लागि, समृद्धिका लागि, जनताको खुसीका लागि खेल्नुपर्छ। अनावश्यक खेलले देशको हित हुँदैन,’ उनले भने, ‘चौरमा हुने खेलले त स्वस्थ बनाउँछ, अनुशासन सिकाउँछ, मर्यादित बनाउँछ।’

सभामुख घिमिरेले गाउँपालिकाको १५ शय्याको अस्पतालको समेत शिलान्यास गरेका छन्। स्वास्थ्य र खेलकुदको क्षेत्रमा ऐन नियम बनाउन आफ्नो क्षेत्रबाट पहल गर्ने उनले प्रतिबद्धता जनाए। जनताले स्वास्थ्य सुविधा सहज तरिकाले पाउनुपर्ने भन्दै सभामुख घिमिरेले यसका लागि सबै सरोकारवाला निकायको सक्रियता आवश्यक रहने औँल्याए।

गाउँपालिकाले विगत ४ वर्षदेखि अध्यक्ष कप खेलकुद महोत्सव आयोजना गर्दै आएको छ। खेल क्षेत्रको विकासका लागि अन्य स्थानीय तहको तुलनामा प्राथमिकता दिएको कालीगण्डकी गाउँपालिकाले नीति तथा कार्यक्रममा खेल महोत्सवलाई समेटेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए।

तीन दिन चल्ने अध्यक्ष कपमा फुटबल, भलिबल, क्रिकेट, ब्याडमिन्टन, टेबलटेनिस र एथलेटिक्स गरी ६ विधाका १९ खेल हुनेछन्। खेल सञ्चालनका लागि झन्डै ४० लाख खर्च हुने गाउँपालिकाले जनाएको छ। सबै खेलमा करिब ५ लाखबराबरको पुरस्कार राशी खर्च हुनेछ।

सुझावित समाचार