ठेकेदारको लापरबाहीले शेरा–आटीचौर–थामलेख सडक कालोपत्रे सुस्त गतिमा

मंगलबार, ९ फागुन, २०७९
डिजिटल संस्करण

सम्झौता गरेको तीन वर्ष बित्न लाग्दासमेत शेरा–आटीचौर–थामलेख सडक कालोपत्रे पूरा हुन सकेको छैन । ठेकेदारले सम्झौताअनुसार काम नगर्दा उक्त सडक कालोपत्रेको काम अलपत्र अवस्थामा छ ।

०७६ सालमा अनक जयदेवी जेभी नेपालगन्जले तीन वर्षभित्र ५.६ किलोमिटर सडक कालोपत्रे गरिसक्ने सम्झौता गरेको थियो । तर, सडक निर्माणको काममा भने निकै सुस्तता देखिएको छ । समयमा सडक पिच नहुँदा निकै कठिनाइ भोग्नुपरेको स्थानीय सावित्रा थापाले बताइन् । उनले भनिन्, ‘सडक पिच नहुँदा यातायात गर्न कठिनाइ भइरहेको छ । सडकसँगै बालआश्रम जोडिएकाले बालबालिका धुवाँ, धुलोले बिरामी हुने अवस्था छ ।’

सेरा–आटीचौर–थामलेख सडकको काम हुन नसक्दा छोटो तथा लामो दूरीका सवारीसाधनहरू सञ्चालन गर्न निकै कठिनाइ भइरहेको सवारीचालक शेरबहादुर बुढाले गुनासो गरे । उनले भने, ‘कतै मोड सानो छ, कतै सडक भत्केको छ, जताततै खाल्डाखुल्डी छन् ।’

ठेकेदारको चरम लापरबाहीका कारण तीन वर्षभित्र सक्नुपर्ने सडक कालोपत्रेको काम अहिलेसम्म नहुँदा सर्वसाधारणले दुःख झेल्नुपरेको बुढीगंगा नगरपालिका– १ का अध्यक्ष रणबहादुर थापाले बताए । पटकपटक जानकारी गराउँदा पनि ठेकेदार कम्पनीले हालसम्म चासो नदिएको उनको भनाइ छ ।  उनले भने, ‘बाजुरादेखि बझाङसम्म सञ्चालन हुने सडक हो । ठेकेदारले सम्झौता अवधिमै पिच नगर्दा हामीहरू समस्यामा परेका छौँ ।’ ठेक्का सम्झौता देलेखका वीरेन्द्र शाहीको अनक जयदेवी जेभीसँग गरेको भए पनि काम गर्ने जिम्मा भने बाजुराकै स्थानीय पूर्ण अधिकारीले लिएकाे वडाध्यक्ष थापाको भनाइ छ ।

यता पूर्वाधार विकास कार्यालय आछमका प्रमुख रुद्र बोगटीले ठेकेदारको लापरबाहीले कामले तीव्रता नपाएको बताए । उनका अनुसार सम्झौता अवधिमै काम सम्पन्न गर्न कार्यालयले चिठी काटिसकेको छ । समयमा काम सम्पन्न गर्न नसके कानुनी कारबाही गर्ने उनी बताउँछन् ।

तर, ठेकेदार शाही भने एक वर्ष कोरोनाको कारण काम गर्न नसकिएको बताउँछन् । पछि स्थानीयले अवरुद्ध गर्नुका साथै आफूबाट कामको जिम्मेवारी लिएका पूर्ण अधिकारीको लापरबाहीका कारण समयमा काम गर्न नसकिएको उनले बताए । उक्त सडक ११ करोड ७९ लाख ७८ हजार २६ रुपैयाँ १८ पैसा लागतमा तीन वर्षभित्र सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौता भएको थियो । सम्झौताको ६० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम यस वर्षभित्रै सम्पन्न गर्ने शाहीको दाबी छ । सम्झौता अवधि यही चैत मसान्तसम्म मात्र छ ।

सुझावित समाचार