राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्ने निष्कर्षसहित माओवादीले त्यसबारे निर्णय लिने जिम्मा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । सरकार गठन हुँदाको १० पुसको राजनीतिक परिस्थिति अहिले बदलिएको माओवादीको ठहर छ ।
सोमबार साँझ पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी पदाधिकारी बैठकले नयाँ परिस्थितिअनुसार अघि बढ्ने र राष्ट्रपति निर्वाचनबारे अन्तिम निर्णय लिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको माओवादी उपाध्यक्ष एवं प्रवक्ता
कृष्णबहादुर महराले जानकारी दिए । ‘गणतन्त्र र संविधानको रक्षा तथा शान्तिप्रक्रिया टुंग्याउने विषयमा केन्द्रित भएर राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजी हुनुपर्छ भन्नेमा छलफल भयो । राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोज्ने नै निर्णय भयो,’ महराले भने, ‘यो विषयमा अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष कमरेडलाई दिइएको छ ।’
एक नेताका अनुसार बैठकमा प्रचण्डले पूर्वसहमतिविपरीत १० पुसमा प्रधानमन्त्री हुन नदिएको कांग्रेसले राष्ट्रपति निर्वाचनपछि फेरि गडबड गर्छ कि भन्ने आशंकासमेत व्यक्त गरेका थिए । प्रचण्डले समग्र परिस्थितिको विश्लेषण गरेको प्रवक्ता महराले बताए । ‘१० पुसको परिस्थिति बदलिएको पार्टीको निष्कर्ष छ, नयाँ परिस्थितिअनुसार अघि बढ्ने भन्ने छ,’ महराले भने ।
माओवादी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महरा भन्छन् – गणतन्त्र र संविधानको रक्षा तथा शान्तिप्रक्रिया टुंग्याउने विषयमा केन्द्रित भएर राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजी हुनुपर्छ भन्नेमा छलफल भयो । राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोज्ने नै निर्णय भयो । यो विषयमा अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष कमरेडलाई दिइएको छ । १० पुसको परिस्थिति बदलिएको पार्टीको निष्कर्ष छ, नयाँ परिस्थितिअनुसार अघि बढ्ने भन्ने छ ।
बैठकमा राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवार टुंग्याउने निष्कर्ष बैठकले निकाले पनि पात्रका बारेमा भने कुनै छलफल भएन । यसका लागि अन्य दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ । बैठकमा प्रचण्डले ‘ओलीको इच्छाअनुसार चल्ने व्यक्तिलाई राष्ट्रपतिमा नस्विकार्ने’ घुमाउरो गरी बताएको एक नेताले बताए । सबै पद एमालेलाई दिँदा अप्ठ्यारो पर्ने प्रचण्डको ब्रिफिङ थियो ।
ओलीले सुरुमा आफ्नो खास मान्छेलाई अघि सार्ने र त्यसपछि पूर्वएमाले वा पूर्वमाओवादीलाई पनि अघि सार्न सक्ने अनुमान प्रचण्डको छ । स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसम्मलाई राष्ट्रपति बनाउने आश्वासन दिइसकेका छन् ।
सरकार निर्माण गर्दाको गठबन्धन राष्ट्रपति निर्वाचनमा भत्किन सक्ने माओवादी सचिव गणेश शाहको विश्लेषण छ । ‘सरकारको गठबन्धन एउटा र राष्ट्रपतिको गठबन्धन अर्को हुन सक्ने सम्भावना प्रबल देखिन्छ,’ उनले भने । भावी राष्ट्रपतिको चाबी माओवादी नै भएकाले उसको निर्णय अर्थपूर्ण हुने उनी बताउँछन् ।
सहमतिको वातावरण निर्माणमा लाग्ने प्रचण्ड–नेपाल समझदारी
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सहमतिको वातावरण बनाउन लाग्ने समझदारी गरेका छन् । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा सोमबार दिउँसो भएको छलफलमा दुई नेताले राष्ट्रिय सहमति आवश्यक रहेको निष्कर्ष निकाल्दै पहल गर्ने समझदारी गरेका हुन् ।
‘राष्ट्रिय सहमतिमा राष्ट्रपतिकोे उम्मेदवार आउनुपर्छ । यसमा सबै पक्षसँग कुराकानी गरेर मिलाउने कामको पहल प्रधानमन्त्रीले गर्नुपर्छ, उहाँले पहल गर्नुहोस्,’ प्रचण्डसँगको छलफलपछि नेपालले भने, ‘हाम्रो सम्बन्ध बलियो होस्, असमझदारी केही पनि नहोस्, लामो यात्रामा जाऔँ भन्ने न हो ।’
भेटमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले राष्ट्रपति निर्वाचनसहित वर्तमान राजनीतिक परिस्थितिबारे छलफल भएको बताए । ‘राष्ट्रपतिको सवाल स्वाभाविक रूपमा आउने नै भयो । राष्ट्रिय सहमति कायम गरेर जाने कुरा भएको छ । राष्ट्रिय सहमति एक वा दुई पार्टीबीचको मात्रै कुरा भएन । अन्य पक्षसँग पनि छलफल गरेर राष्ट्रिय सहमतिको माहोल बनाउने कुरा भएको छ,’ उनले भने । पात्रको विषयमा भने छलफल नभएको हमालको दाबी छ ।
माओवादी उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महरा भन्छन् – गणतन्त्र र संविधानको रक्षा तथा शान्तिप्रक्रिया टुंग्याउने विषयमा केन्द्रित भएर राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजी हुनुपर्छ भन्नेमा छलफल भयो । राष्ट्रपति चुनावमा राष्ट्रिय सहमति खोज्ने नै निर्णय भयो । यो विषयमा अन्तिम निर्णय गर्ने जिम्मा अध्यक्ष कमरेडलाई दिइएको छ । १० पुसको परिस्थिति बदलिएको पार्टीको निष्कर्ष छ, नयाँ परिस्थितिअनुसार अघि बढ्ने भन्ने छ ।