युद्धकालीन मुद्दामा जेलमा रहेका पूर्वमाओवादी नेता पुष्कर गौतम रिहा भएका छन् । ओखलढुंगाको टारकेराबारीका उज्जनकुमार श्रेष्ठको हत्या मुद्दामा जन्मकैद सजाय तोकिएका गौतमलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपतिले आममाफी दिएसँगै रिहा भएका हुन् ।
१० असार ०५५ मा उज्जन श्रेष्ठको हत्या भएको थियो । उक्त प्रकरणमा नौजनाविरुद्ध अभियोग लागेको थियो । ओखलढुंगा जिल्ला अदालतले तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेल र पुष्कर गौतमलगायतलाई दोषी ठहर गरेको थियो । जिल्ला अदालतले ढुंगेल र गौतमविरुद्ध सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।
ओखलढुंगाका तत्कालीन जिल्ला न्यायाधीश कोषकुमार नेम्वाङले श्रेष्ठ हत्याबारे संकलित प्रमाणका आधारमा ढुंगेल र गौतमविरुद्ध अभियोग पुष्टि गरेको भन्दै जन्मकैद फैसला सुनाएका थिए। तत्कालीन समयमा माओवादीका जिल्ला सदस्य भनिएका गौतमले टर्च देखाउने र ढुंगेलले गोली हानेको अभियोगपत्रमा दाबी गरिएको थियो । माओवादीले भने उज्जनको हत्या आरोपमा आफ्ना नेता–कार्यकर्तालाई फसाइएको बताउँदै आएको थियो ।
माओवादीबाट संविधानसभा सदस्यसमेत भएका ढुंगेललाई पनि यही मुद्दामा सर्वस्वसहित जन्मकैदको फैसला भएको थियो। सर्वोच्चको परमादेशपछि पक्राउ परेर थुनामा रहेका ढुंगेल ०७६ सालमा राष्ट्रपतिबाट माफी पाएर रिहा भएका थिए । जेलबाट छुटेपछि एमालेको राजनीतिमा लागेर पोलिटब्युराे सदस्य भएका ढुंगेलको शौचालयमा लडेर ज्यान गइसकेको छ ।
तत्कालीन समयमा फरार रहेका गौतमलाई प्रहरीले ०७१ मा पक्राउ गरेर जेल चलान गरेको थियो । उनी पक्राउ पर्नुअघि द्वन्द्व विज्ञानमा विद्यावारिधि गर्न विदेश पनि पुगेका थिए ।
गौतमले ०५४ सालमै माओवादीबाट आत्मसमर्पण गरी सक्रिय राजनीति त्यागेका थिए । जनयुद्धकालीन मुद्दामा करिब नौ वर्ष जेल बसेर छुटेका गौतमलाई स्वागत गर्न माओवादी नेता पेशल खतिवडालगायतका नेता–कार्यकर्ता सेन्ट्रल जेल पुगेका थिए ।