सरकारले वर्ष ०७९ लाई राष्ट्रिय कृषि जैविक विविधता वर्षको रूपमा मनाइरहेको छ । कृषि विभागले बाली विकास तथा कृषि जैविक विविधता संरक्षणमार्फत देशका रैथाने कृषि उत्पादनको संरक्षण एवं उपयोग गर्न देशभरि सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिरहेको छ । हाम्रो खानपानमा रैथाने उपजको महत्व बढाउन सातै प्रदेशमा त्यहाँको स्थानीय रैथाने बालीको उत्पादन बढाएर त्यसबाट हुन सक्ने आम्दानीको गतिविधि बढाउने प्रयास भइरहेको देखिन्छ ।
नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रबाट ६६ प्रतिशत जनशक्ति संलग्न छन् भने राष्ट्रिय गाहस्थ्र्य उत्पादनमा एकतिहाइ योगदान छ । कृषि हाम्रो परापूर्वकालदेखि नै गरिआएको पेसा भएकाले यसको महत्व ठूलो छ । बहुभाषिक, बहुसांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो सामाजिक बनोट, जहाँ १२५ प्रकारका विभिन्न जनजातिको मौलिक खानपान, रीतिरिवाज, चाडपर्व आदि छन् ।
देशमा खाद्य उत्पादनको हिसाबले धान, गहुँ, मकै, कोदो, फापर र जौलाई मुख्य खाद्यान्न बाली मानिए पनि यसको उपयोग हुनसकेको छैन । विगतका केही वर्षमा यी बालीको उपयोग र उत्पादन योगदानमा समेत ठूलो असन्तुलन रहेको पाइन्छ । यहाँ सबैभन्दा बढी वार्षिक ३४ लाख ८० हजार टन चामल खपत हुन्छ, जसमा तीन–चार लाख टन चामल आयात गरिन्छ । जब कि अन्य बालीको उपभोग मुख्य खानाका रूपमा नभई अन्य प्रयोजनमा गरिन्छ । ती खाद्यान्न बाली पनि बर्सेनि आयात गरिन्छ । हाम्रो भान्सामा रैथाने कृषिउपजको उपयोग बढीभन्दा बढी हुने हो भने चामलको उपभोग आफैँ घट्छ ।
कृषि क्षेत्रको दिगो विकासका लागि सरकारले गरिरहेको निरन्तर प्रयाससहित संयुक्त राष्ट्र संघको खाद्य एवं कृषि विकास परियोजनाअन्तर्गत ‘एफएओ स्ट्राटेजी फ्रेमवर्क २०२२–२३’ बनाई दिगो विकास लक्ष्य (एसडिजी) पूरा गर्ने रणनीति बनाइएको छ । यसमा वर्तमान कृषिलाई रुपान्तरण एवं प्रभावकारी बनाउन कृषि उत्पादन बढाउने, सबैलाई पौष्टिक आहार पु¥याउने र कृषिलाई जीवनयापन गर्न सकिने पेसाका रूपमा विकास गर्ने योजनासहित सरकार, कृषक तथा कृषि उत्पादनको बजारीकरण एवं व्यवस्थापन गर्ने संस्थाहरूबीच समन्वय र सहकार्य होस् भन्ने उद्देश्यले दिगो रणनीति बनाई कार्यक्रमको आयोजना भइरहेको पाइन्छ ।
रैथाने उत्पादन अवसर र अवस्था : तराई, पहाड र हिमाली क्षेत्रको भूवनोट, मौसम र स्थानीय जैविक विविधताबमोजिम नै कृषि उत्पादन र उपभोग हुने गरेको पाइन्छ । तराईमा धान, गहुँ र उखु, पहाडमा मकै, आलु र हिमाली क्षेत्रमा जौ, फापर, कोदो र आलु बढी उत्पादन हुन्छ । यी कृषिबाली, तरकारीमा रैथाने प्रजातिको बिउ उपयोग गरी उत्पादन गर्ने कार्यचाहिँ अत्यन्त न्यून हुन थालेको देखिन्छ ।
सरकारी निकायले जिल्ला वा प्रदेश विशेष मौलिक परिकारलाई त्यहाँ हुने सभा–सम्मेलनमा भोज तथा खाजाका रूपमा गर्वका साथ समावेश गर्ने नीतिगत निर्णय नै गरी लागू गर्नुपर्छ
हाल ९५ प्रतिशत विदेशी जिनको बिउ हाम्रो कृषिबाली, तरकारी, फलफूल, माछा, कुखुरा, खसीआदिको उत्पादनमा छ । त्यसको मुख्यकारण, उत्पादन बढाउन र किरा लाग्नबाट खेती बचाउन छिटो उत्पादन गर्ने रहेको देखिन्छ ।जुन देश कृषिमा आत्मनिर्भर छ, त्यही देश धनी हुन्छ । आज आठ अर्ब जनसंख्याको पेट भर्नुपर्ने आवश्यकता छ । देशभित्र उत्पादन भएन भने आयात गर्नुपर्छ । सञ्चित धन बिदेसिने भएकाले देशहरूबीच आफनो कृषि उत्पादनलाई विकासको प्रमुख एजेन्डामा राखी देशभित्रै उत्पादन बढाउने होडबाजी चलेको पाइन्छ । उत्पादन बढाउन रासायनिक मल र नयाँ प्रविधिको प्रयोग हुने गरेको छ । त्यसै दौडमा हामी पनि लागेका छौँ ।
देशभित्र रासायनिक मल उत्पादन नहुने हुँदा हरेक वर्ष भारत तथा अन्य छिमेकी देशकै भर पर्नुपर्ने देखिन्छ । खेतीको समयमा रासायनिक मलको हाहाकार र भारतीय नाकाबाट ब्ल्याकमा मल खरिदको समाचार सुनिन्छ । अर्कातिर, हामीले हाम्रो मौलिक रैथाने बालीहरूको संरक्षण पनि गर्न सकेका छैनौँ । उदाहरणका लागि आज बासमती चामलको पेटेन्ट राइट भारतले दर्ता गरेको छ । जब कि पश्चिमी नेपालको पहाडी भागमा उत्पादन हुने मार्सी चामलको जैविक बिउ विश्वका ६८ देशले प्रयोग गरी त्यसबाट राम्रो बिउ उत्पादन गर्ने गरेको पाइन्छ ।
रैथाने उत्पादन तथा प्रवद्र्धन र पर्यटन : देशमा नेपाल सरकारको नार्कअन्तर्गत राष्ट्रिय जिन बैंक स्थापना भएको छ, जहाँ हामीले हाम्रो रैथाने बालीको बिउ १०० वर्षसम्म राख्न सक्छौँ । हालका दिनमा नेपालले आफ्नो रैथाने बाली लगभग २२ वटा सम्मको मात्र रजिस्ट्रेसन गरेको छ, जुन पर्याप्त छैन । यतातिर तीनै तहका सरकारको प्राथमिकता हुनुपर्छ । त्यसका लागि सर्वप्रथम त कृषक इच्छुक हुनुपर्छ । अनि मात्र कृषि बालीबाट राम्रो आर्थिक लाभ लिने देशव्यापी माहोल बन्नुपर्छ ।
यससँगै व्यापारको नयाँ बजारको सम्भावना देखिनुपर्छ । त्यसका लागि रैथाने बालीको संरक्षण तथा विकासको कार्य कृषि विभाग एवं स्थानीय कृषक आदि सरोकारवालाको देखिन्छ । बजार विस्तार र उपभोक्तासमक्ष पु¥याउने पर्यटन उद्योगको होटेल, रेस्टुरेन्ट, होमस्टे, रिसोर्ट आदिद्वारा त्यसको खपत हुन गएका रैथाने कृषिबालीको माग बढ्छ । त्यसले प्रत्येक गन्तव्यमा स्थानीय मौलिक स्वादको रैथाने परिकारले प्रत्येक स्थानीय बासिन्दाले समेत गर्वका साथ परिकारकोे प्रचार–प्रसार गर्न सकून् ।
रैथाने कृषि उत्पादन गर्ने कृषकाई उनीहरूको मिहिनेतको उचित मूल्य दिई कृषि पेसामा दिगो राखिराख्ने माहोल बनाउनु त्यत्तिकै चुनौतीपूर्ण देखिन्छ । रैथाने स्वादका लागि जैविक खेतीलाई पनि प्राथमिकता दिने हो भने त्यसको उचित मूल्य पाइन्छ । स्थानीय उत्पादनको उपयोग हुने अभ्यासलाई जनमानससमक्ष पुर्याउने कामको निरन्तरता दिनुपर्छ । साथै, सरकारका निकायले पनि आफ्नो जिल्लाविशेष वा प्रदेशविशेष मौलिक परिकारलाई त्यहाँ हुने सभा, सम्मेलन, भोज तथा खाजा आदिमा गर्वका साथ समावेश गर्ने नीतिगत निर्णय नै गरी लागू गर्नुपर्ने देखिन्छ ।थाइल्यान्ड, चीन, भियतनाम, भारत तथा श्रीलंकाले आफ्ना विभिन्न गन्तव्यमा त्यहाँ पाइने स्थानीय परिकारको यसरी प्रचार–प्रसार गरेका छन् कि त्यसको स्वाद नलिई पर्यटक फर्किन सक्दैनन् ।
हाम्रो प्रयास र साझेदारी : हाम्रो देशभित्र पनि विभिन्न प्रदेशका गन्तव्यले मौलिक स्वादका परिकारबाट पर्यटकलाई आकर्षित गर्दै आइरहेको पाइन्छ । सन् २०१९ को जुलाईतिर नेपाल पर्यटन बोर्ड र हिमालखबर पत्रिकाको साझेदारीमा नेपाली लोक परिकारको शोधकार्य भई देशभरिकै विस्तृत स्थानीय परिकारको कथायात्रा एवं गन्तव्यको स्वादिला खानाको सचित्र परिचय दिइएको थियो । त्यस्तै, नेपाल पर्यटन बोर्डले होटेल संघ नेपाल, रेवान,सेफ्स एसोसिएसन अफ नेपालको संयुक्त प्रयासमा नेपाली मौलिक परिकारबारे ‘नेपाली हेरिटेज कुक बुक’ पुस्तिका प्रकाशन गरी देशका प्रमुख गन्तव्यका होटेलमा र विदेशमा यसको प्रचारप्रसार गर्न गैरआवासीय नेपाली संघको साझेदारीमा आयरल्यान्ड, इंग्ल्यान्ड र युरोपका केही सहरमा ग्यास्ट्रोनोमी (पाकविद्या) टुरिजमबारे प्रस्तुति दिइएको थियो ।
सन् २०१९ का उल्लेखित दुईवटा साझेदारी कार्यक्रम उदाहरण मात्र हुन् । विभिन्न संघ–संगठन एवं निजी क्षेत्रले देश–विदेशमा स्थानीय परिकारको खाना महोत्सव आयोजना गर्ने गरेकोे पाइन्छ । त्यसमध्ये रेवान पोखराले वार्षिक रूपमा आयोजना गर्ने पोखरा स्ट्रिट फुड फेस्टिभल उदाहरणीय खाना महोत्सवका रूपमा स्थापित भइसकेको छ ।
पछिल्ला दिनमा स्थानीय मौलिक खानाको व्यापार प्रचार एवं जनस्तरमा पुर्याउने काम विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय मास्टर सेफ प्रतियोगितामार्फत पनि हुने गरेको पाइन्छ । सेफ सन्तोष शाहको ‘युके बिबिसी मास्टर सेफ’ उपविजेताको पदवीले विश्वमाझ नेपाली खानालाई चिनाउन मद्दत गरेको छ । उक्त प्रतियोगितामार्फत प्राप्त भएको प्रसिद्धि र प्रचार–प्रसारलाई दिगो बनाउनु छ भने देशभित्र रहेका अनेक रैथाने स्वादका परिकारलाई अझ व्यापक रूपमा प्रचार–प्रसार गरी चिनाउनुपर्ने देखिन्छ ।
अध्ययनको क्रममा मैले पाएको जानकारीबमोजिम सातै प्रदेशका गन्तव्यमा त्यहाँको स्थानीय भान्सामा पाकिरहेका परिकारको विशेष सूची विवरण र सोही स्थानका केही रेस्टुरेन्ट एवं खाजाघरले पनि ती परिकार खुवाउँदै आइरहेको पाइन्छ ।
प्रदेश १ मा शेर्पाको गाउँमा घ्यूको रोटी सोमार, किराँतीको गाउँमा वाचिपा, लिम्बूको किनिमा र मेसु, सिन्की गुन्द्रुक भक्का आदि पाइन्छ भने मधेस प्रदेशमा तरवा, जनकपुरको लस्सी, माछाभात, करेला भरवा, बगिया, माछा तारेको, मुराई, तिलैरी, मखनाको खिर पाइन्छ ।
यस्तै, बाग्मती प्रदेशमा मःम, छोइला, कचिला, बारा, आलुतामा, चटामरी, नेवारी खाजा सेट समयबजी, योमरी, मलेखुको माछा, चितवनको तास पाइन्छ । गण्डकी प्रदेशमा थकाली थाली, मुस्ताङ आलु टिमुर र जिम्बुको स्वादसहित सिमी दाल, अनदीको लट्टे, हिमाली ढिँडो पाइन्छ ।
साथै, लुम्बिनी प्रदेशमा चुकौनी, भैरहवाको पेडा, एकपाक मासु, गुल्मेली कफी, बदिया भालेको कटिया (खसी), ढिक्री खाजा, दाङ थारूहरूको लट्ठी ढिक्री, नेपालगन्जको रबडी, घोँगी, गेडटो सुँमर आदि पाइन्छ भने कर्णाली प्रदेशमा तितेफापरको ढोडो, टी मःम र तरकारी झोल, सिस्नोको झोल र कोदोको फाँडो, स्याउको सुकुटी, मार्सी चामल र मासुको झोल, लगड रोटी, चिनोको खिर आदि पाइन्छ ।
यसैगरी, सुदूरपश्चिम प्रदेशमा गहतानी डुक्का, पुरी, माडा रोटी, चोतापल्यो, बेथे पलेउ, खिर, ढिक्री खाजा सेट, कागुनोको भात, अनारसा, थारूको घरमा अनदीको रबाट, मासको बरिया, घोँगी, चामोडो भातलगायका परिकार पाइन्छन् ।प्रत्येक गाउँ, सहर, समुदाय, वर्ग समाज एवं प्रदेशको मौलिक खानपान, रहनसहन, परम्पराहरूको विशेषता बेग्लाबेग्लै छ ।
विश्वमा यति धेरै फरकपन यति सानो क्षेत्रफलमा विरलै पाइएला । यस सुन्दर फूलबारीको मौलिक स्वाद र सुगन्ध राखिराख्न रैथाने कृषि उपजका परिकारहरूलाई एक पिँढीदेखि अर्को पिँढीको मुखमा स्वाद बसाइराख्न र यस माध्यमबाट आन्तरिक एवं अन्तर्राष्ट्रिय पर्यटकद्वारा पर्यटन क्षेत्रलाई प्रत्येक गन्तव्य, समुदायको पहिचान जीवित राख्न सकिन्छ ।