बाँकेका एलपी ग्यास उद्योगमा म्याद गुज्रेका सिलिन्डर फेला

आइतबार, ७ फागुन, २०७९
डिजिटल संस्करण

बाँकेका एलपी ग्यास उद्योगमा म्याद गुज्रेका ग्यास सिलिन्डर फेला परेका छन् । पछिल्लो समय ग्यास सिलिन्डर पड्किएर ज्यान जाने घटना भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जले ग्यास उद्योगको अनुगमन गर्ने क्रममा दुइटा उद्योगमा म्याद गुज्रेका सिलिन्डर फेला परेको हो । 

जिल्लास्थित मनकामना ग्यास उद्योगको अनुगमन गर्दा म्याद गुज्रेका एक सय ६०, लिकेज, बिग्रेका, कुच्चिएका जोखिमयुक्त ५० र तत्काल म्याद सकिन लागेका करिब ५० गरी जम्मा दुई सय ६० थान सिलिन्डर फेला परेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईंले बताए । 

त्यसैगरी, भेरी ग्यास उद्योगमा म्याद सकिएका करिब तीन हजार, लिकेज भएका, कुच्चिएका र बिग्रेका दुई हजार पाँच सय, म्याद सकिन लागेका दुई सय गरी पाँच हजार आठ सय सिलिन्डर फेला परेको छ । ‘अनुगमनका क्रममा कैफियत भेटिएका सिलिन्डर बजारमा नपठाउन निर्देशन दिएका छौँ,’ उनले भने । 

म्याद गुज्रेका, लिकेज भएका र कुच्चिएका सिलिन्डर बजारमा फेला परे कारबाही गर्ने उनले चेतावनी दिए । मनकामना ग्यास उद्योगको बन्द रहेको ग्यास लिकेज टेस्टिङ मेसिनलाई तत्काल सञ्चालन गर्न निर्देशन दिएको समेत उनले जानकारी दिए । 

ग्यास सिलिन्डरका विषयमा उच्च अदालत तुलसीपुर इजलास नेपालगन्जले यसअघि नै ग्यास सिलिन्डरको तौल, गुणस्तर जाँच तथा मापदण्ड पूरा गर्न निर्देशनात्मक आदेश दिइसकेको छ । तर, ग्यास उद्योगले अदालतको आदेश पालना नगरी गुणस्तरहीन सिलिन्डर बिक्री गर्दै आएको अधिवक्ता विश्वजित तिवारीले बताए । ‘ग्यास अति संवेदनशील वस्तु भए पनि उद्योगहरूले त्यसतर्फ ध्यान दिएको पाइँदैन,’ उनले भने, ‘नियमनकारी निकायले वास्ता नगर्दा उद्योगीहरूले प्रश्रय पाइरहेका छन् । यसले उपभोक्ताहरू उच्च जोखिममा छौँ ।’ 

See More On

सुझावित समाचार