लोकतन्त्र बचाउन ट्याक्स हेवेन बन्द गर्नुपर्छ

आइतबार, ७ फागुन, २०७९
डिजिटल संस्करण

युक्रेन युद्धले नियममा आधारित विश्व व्यवस्थामाथि अफसोर वित्तको खतरालाई उजागर गरेको छ 

मानिसले अनादिकालदेखि नै करछली गर्दै आएका छन् । तर, भूमण्डलीकरणले करछली एवं चुहावटका साथै सम्पत्ति शुद्धीकरणलाई आकर्षक व्यापारिक मोडेलमा परिणत गरेको छ । गत केही दशकमा केम्यान प्रायद्वीप, बर्मुडा, साइप्रस र आयरल्यान्डजस्ता अफसोर (अपतटीय) ट्याक्स हेवेनले व्यावसायिक निगम र धनाढ्यहरूलाई अभूतपूर्व स्तरमा मुनाफा र निजी सम्पत्ति लुकाउन सक्षम बनाएका छन् ।

अफसोर ट्याक्स हेवेनमा लगेर कति सम्पत्ति थुपारिएको छ भनेर मापन गर्न एकदमै कठिन छ । सन् २०१८ को एउटा अध्ययनले विश्व–जिडिपीको १० प्रतिशतजति सम्पत्ति करको दर एकदमै न्यून रहेको र सम्पत्तिको स्रोत खोजी नहुने मुलुकमा लगेर थुपारिएको अनुमान गरेको थियो । 

हालकै वर्षमा पानामा पेपर्स, प्याराडाइज पेपर्स र पान्डोरा पेपर्सजस्ता लिक (सूचना चुहावट)हरूले यस छाया वित्तीय प्रणाली र विश्वका व्यवसायी एवं राजनीतिक ठालु वर्गले प्रयोग गर्ने करछलीका युक्तिलाई उजागर गरेका छन् । यी प्रत्येक रहस्योद्घाटनले जनआक्रोश बढाउनुका साथै सुधारको माग गरेका छन् । पोप फ्रान्सिसले पनि करछली पाप हो भनी उद्घोष गरे ।

तानाशाही शासनलाई आडभरोसा दिन ट्याक्स हेवेनहरूले महत्वपूर्ण भूमिका खेल्ने तथ्यलाई उजागर गरेर युक्रेनमाथिको रुसी हमलाले अफसोर वित्तमा लगाम लगाउन तत्कालै अपरिहार्य भइसकेको कुरामा जोड दिएको छ । साथै, यसमा कत्ति पनि प्रगति नभएको पनि प्रस्ट्याएकोे छ । उदाहरणका लागि, सन् २०१३ मा ओइसिडी (आर्थिक सहयोग तथा विकास संगठन)ले सुरु गरेको बेस इरोसन एन्ड प्रोफिट सिफ्टिङ इनिसियटिभ (बिइपिएस)लाई नै लिऔँ । बहुराष्ट्रिय कम्पनीहरूले उचित कर भुक्तान गरून् भन्ने कुराको सुनिश्चितता गर्ने उद्देश्यले ल्याइएको कर्पाेरेट (संगठित क्षेत्र)कर सुधारको प्याकेज थियो यो । 

विश्वका एक सय ३८ देशले बिइपिएसलाई समर्थन गरे पनि अहिलेसम्म उपलब्धि भने सामान्य रहेको छ । यो फ्रेमवर्क सन् २०२०को पेपर नोटमा उचित लेखा मापदण्डहरू लागू गर्न असफल रह्यो र गम्भीर खालका कर्पाेरेट करछली एवं चुहावटसँग जुझन् यो एकदमै कमजोर सावित भयो । 

यसमा प्रगति नहुनुको एउटा कारण बिइपिएस र यस्तै अन्य कार्यक्रमले सामना गर्ने सामूहिक पहलको कमी हो । अर्थात् कर सुधार प्रभावकारी हुन त्यसमा सबै देश सहमत हुनुपर्छ । केही देशले करछलीविरुद्ध लड्न खोज्दा अन्य देशचाहिँ करका दर घटाएर र वित्तीय सूचना लुकाउने व्यवस्था मिलाइदिएर विदेशी पुँजीलाई आकर्षित गरी लाभ उठाउन खोज्छन् । पश्चिमका धेरै देशले वर्षाैंदेखि अवैध सम्पत्तिबाट फाइदा उठाउँदै आएको तथ्यले यो मामिलालाई थप जटिल बनाएको छ । यसले लन्डन र न्युयोर्कजस्ता सहरमा घरजग्गा खरिदको माध्यमबाट सम्पत्ति शुद्धीकरण गर्न सक्षम बनाएको छ । फलस्वरूप, विश्वव्यापी कर सुधार प्रवर्द्धनका प्रयास अवरुद्ध छन् । 

युक्रेन युद्ध सकिन अझै समय लाग्नेछ । बढ्दो सार्वजनिक ऋण तथा बढ्दो बजेट घाटाले पश्चिमका सरकारहरूलाई राजस्वका नयाँ स्रोत खोज्न बाध्य बनाउनेछ । त्यस अवस्थामा कर हेवेनहरू उनीहरूको सीधा निसाना बन्नेछन् । यसैगरी आय र सम्पत्तिमा असमानतालाई लिएर बढ्दो जनआक्रोशले पनि नीति–निर्माताहरूलाई अफसोर करछली उद्यममाथि कठोर कदम चाल्न ठूलो दबाब दिइरहेकै छ ।

यद्यपि, वास्तविक गेम चेन्चर युक्रेन युद्ध नै हो । वर्षाैंदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका सहयोगी भ्रष्टाचार, चुनावी धाँधली, लोकतान्त्रिक संस्थाहरूको क्षयीकरण र अफवाह एवं भ्रमको खेतीका लागि विदेशी भूमिका ट्याक्स हेवेनमा रहेका सेल(फर्जी) कम्पनीहरूमा निर्भर रहँदै आएका छन् ।

लामो समयदेखि पुटिनको शासनका कठपुतली मानिएका रुसका कुलीन वर्ग युरोप र अमेरिकास्थित चरम दक्षिणपन्थीसँग सम्बन्ध बढाउन विभिन्न अफसोर ट्याक्स हेवेनमा लुकाइएका धन प्रयोग गर्ने गर्छन् । डोनाल्ड ट्रम्पका निजी वकिल माइकल कोहेनले प्रोनोग्राफिक फिल्मकी अभिनेत्री स्टोर्मी ड्यानियल्सको मुख बन्द गराउन पैसा तिर्न सन् २०१६ मा प्रयोग गरेको सेल कम्पनीले रुसी कुलीन भिक्टोर भेक्सेलवर्गको कम्पनीबाट १० लाख डलरभन्दा धेरै पैसा प्राप्त गरेको पाइएको थियो । सन् २०१४ मा फ्रान्सका चरम दक्षिणपन्थी नेसनल र्‍याली (तत्कालीन नेसनल फ्रन्ट)ले एउटा रसियन बैंकबाट एक करोड २० लाख ऋण प्राप्त गरेको थियो । यही पार्टीका संस्थापक एवं पूर्वनेता जिन–मारियले पेनले पूर्व केजिवी एजेन्टसँग जोडिएको अफसोर कम्पनी साइपरियोटबाट बैंकबाट २५ लाख डलरको छुट्टै ऋण लिएका थिए । गत फेब्रुअरीबाट रुसले युक्रेनमाथि गरेको पूर्णस्तरको आक्रमणलाई पश्चिमा लोकतन्त्रमाथिको सुनियोजित आक्रमणकै एक हिस्साका रूपमा हेरिएको छ । वर्षांैदेखि पुटिनका कुलीन वर्गले क्रेमलिनमैत्री प्रोपोगान्डा आउटलेट, थिंक ट्यांक, चरम दक्षिणपन्थी राजनीतिज्ञ तथा कट्टरपन्थी समूहलाई आर्थिक सहयोग गर्न रुसका अफसोर होल्डिंसको व्यापक प्रयोग गर्दै आएका छन् । यस्तो धन रुसको आधिकारिक विदेशी सञ्चितिभन्दा तीनगुणा ठूलो भएको अनुमान गरिन्छ । 

रुसी आक्रमणबाट आक्रोशित र स्तब्ध पश्चिमा सरकारहरूले पुटिनका राजनीतिक सहयोगीमाथि तुरुन्तै प्रतिबन्ध लगाए । रुसी कुलीनका सम्पत्ति जफत गरे र उनीहरूका नौका र भिल्लाहरू पनि जफत गरे । तर, उनीहरूले केवल सतह मात्रै खोस्रिरहेका छन् । यदि पश्चिम आफू र अरूलाई पनि रुसी हस्तक्षेपबाट जोगाउन चाहन्छन् भने उनीहरूले आफूले लगाएका आर्थिक प्रतिबन्धलाई कमजोर गराउने अफसोर कर हेवेनहरूसँग लड्न गम्भीर हुनुपर्छ । साथै, अस्टे«लियाको मिनल बैंकजस्ता कथित रूपमा सन् २०१०–२०१४ को बीचमा २०–८० अर्ब डलर रुसबाहिर लैजान सघाउने (रसियन लाउन्ड्रोम्याटजस्ता मुद्रा निर्मलीकरणका योजनालाई मूर्तरूप दिने) वित्तीय संस्थाहरूलाई दण्डित गर्नु निकै महत्वपूर्ण हुन्छ ।

युक्रेनका प्रधानमन्त्री डेनेस स्महाललगायत केहीले रुसले युक्रेनको पुनर्निर्माणमा लाग्ने १० खर्ब डलरभन्दा बढीको खर्च व्यहोर्नुपर्ने मुद्दा उठाउन थालेका छन् । यसमा अन्तर्राष्ट्रिय समुदायले रुसका कुलीनहरूको अफसोर सम्पत्ति प्रयोग गर्न सक्छ । रुसी सरकार र राज्यको स्वामित्वका जफत सम्पत्तिका अतिरिक्त लन्डनस्थित मेफेयर, कोर्चेवेल र लेक कोमोमा पनि पुनर्निमाणका लागि चाहिने थुप्रै रुसी पैसा छन् ।

अफसोर वित्तीय प्रणालीले नियममा आधारित विश्व व्यवस्थामा पार्ने खतरालाई उजागर गरेर युक्रेनको युद्धले पश्चिमलाई निष्पक्ष एवं न्यायोचित करका लागि, असमानता घटाउनका लागि, भ्रष्टाचार नियन्त्रणका लागि र विश्वको स्थिरताका चुनौतीहरू हटाउनका लागि अद्वितीय अवसर प्रदान गरेको छ । यदि हामीले यो अवसर खेर फाल्याैँ भने हामीले कर राजस्व, लोकतन्त्रको क्षय र मानव जीवनको रूपमा ठूलो मूल्य चुकाउनेछौ । लेनिनको शब्द सापटी लिएर भन्दा हामीलाई नै पासो लगाउने डोरी रुसलाई बेच्न दिनु हुँदैन । 

(गोरोडनिचेन्को वर्कले स्थित क्यालिफोर्निया विश्वविद्यालयका अर्थशास्त्रका प्राध्यापक हुन् भने सोलोगोउव भक्सयुक्रेनकी सम्पादक हुन्)

सुझावित समाचार