दीपेन्द्रसिंह ऐरी र कुशल मल्लबीच छैटौँ विकेटका लागि सय रन साझेदारी हुँदा नेपालले एसोसिएट राष्ट्रकै नम्बर एक टोलीलाई तीन विकेटले हरायो
नेपालले आइसिसी पुरुष विश्वकप लिग २ को च्याम्पियन स्कटल्यान्डमाथि तीन विकेटको सनसनीपूर्ण जित निकालेको छ । त्रिभुवन क्रिकेट मैदान (टियू)मा कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने चम्केपछि च्याम्पियन स्कटल्यान्ड नेपालसँग स्तब्ध भएको हो । लिगमा नेपालले लगातार दुई जित निकालेको छ । त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले नामिबियामाथि दुई जित दर्ता गरेको थियो । जितसँगै नेपालले २६ खेलबाट २२ अंक जोडेको छ । यद्यपि, नेपाल छैटौँ स्थानमै सीमित छ । स्कटल्यान्डले ३३ खेलबाट सर्वाधिक ४८ अंक बटुलेको छ । नेपालविरुद्ध स्कटल्यान्डले प्रमुख खेलाडीलाई विश्राम दिँदै तीन खेलाडीलाई एकदिवसीय खेलमा डेब्यु गराएको थियो ।
पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ७४ रनको योगफल बनाएको थियो । नेपालले विशाल लक्ष्य पछ्याउने क्रममा ४७ ओभरमा सात विकेट गुमाउँदै दुई सय ७५ रन जोडेको थियो । लक्ष्य पछ्याएको इनिङ्सको ४७औँ ओभरमा नेपालले १६ रन बटुल्दै जित पक्का गर्यो । नेपालले १८ बलअघि नै जित निकालेको हो । क्रिजमा सोमपाल कामी २४ रन तथा दीपेन्द्रसिंह ऐरी ८५ रनमा अविजित रहे । सोमपालले ३२ बलमा तीन चौका प्रहार गरेका थिए ।
सन्दीपले लिए तीन विकेट
नेपालका पूर्वकप्तान सन्दीप लामिछानेले स्कटल्यान्डविरुद्ध घातक बलिङ गरे । नामिबियासँगको खेलमा करिअरकै महँगो ओभर गरेका सन्दीपले स्कटल्यान्डसँगको प्रतिस्पर्धामा सुधारिएको प्रदर्शन गरेका थिए । उनले १० ओभर बलिङ गर्दै २७ रन मात्रै खर्चिँदै तीन विकेट लिए । सन्दीपले स्कटल्यान्डका तीन विकेट लिए । सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिएका थिए । पहिलो ब्याटिङ गरेको स्कटल्यान्डले नेपाली स्पिनर र फास्ट बलर सामना गर्न सकेन । स्कटल्यान्डले २३.२ ओभरमा पाँच विकेट गुमाएर एक सय नौ रन बनाएको थियो । स्कटल्यान्डले नेपालसमक्ष बलियो चुनौती प्रस्तुत गर्ने क्रममा सातौँ नम्बरका ब्याट्सम्यान माइकल लिस्कले शतकीय इनिङ्स खेलेका थिए । माइकलले ८५ बलमा विस्फोटक ब्याटिङ गर्दै तीन चौका र नौ छक्का प्रहार गर्दै एक सय सात जोडे । ३२ वर्षीय माइकलले करिअरकै पहिलो शतक प्रहार गरेका हुन् । स्कटल्यान्डका लागि ओपनर क्रिस्टोफर क्याकब्रिडले २२ रन जोडे ।
दीपेन्द्र र कुशलबीच शतकीय साझेदारी
इनिङ्सको एक समय नेपाल ७७–५ को कमजोर अवस्थामा थियो । त्यसवेला इनिङ्स १०.५ ओभर चलिरहेको थियो । स्कटल्यान्डले प्रस्तुत गरेको योगफल पछ्याउन एक सय ९८ रन जोड्नुपर्ने बाध्यता नेपालसमक्ष थियो । नेपालसँग पाँच विकेट मात्र बाँकी थियो । यस्तो दयनीय अवस्थामा दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले छैटौँ इनिङ्समा शतकीय साझेदारी गर्दै नेपाललाई जिततर्फ लगे । यी दुवै ब्याट्सम्यानले सय रनको साझेदारी गर्दै नेपाललाई २७.१ ओभरमा १७७–६ को स्थितिमा राखे ।
मध्यक्रमका ब्याट्सम्यान कुशल आक्रामक रूपमा प्रस्तुत भएका थिए । कुशलले रनरेट उकासिरहँदा दीपेन्द्रसिंह धैर्यपूर्वक ब्याटिङ गरिरहेका थिए । कुशलले ६७ बलमा नौ चौका र चार छक्काको सहयोगमा ८१ रन बनाएका थिए । उनले छक्का प्रहार गरी अर्धशतक बनाए । तीन वर्षअघि टियू मैदानमै डेब्यु गरेका कुशलले सानदार पुनरागमन गरेका छन् । कुशलले लिग २ मा अमेरिकाविरुद्ध अर्धशतक बनाएका थिए । नामिबियासँगको खेलमा उनले १६ रन बनाएका थिए । स्कटल्यान्डसँगको प्रतिस्पर्धामा उनले नामिबियाविरुद्ध शतकीय इनिङ्स खेलेका ओपनर कुशल भुर्तेल स्कटल्यान्डविरुद्ध १६ रनमै आउट भएका थिए ।
त्यसपछि दीपेन्द्रसिंहले नेपालको ब्याटिङ इनिङ्स सम्हाले । उनले गुलसन झासँग सातौँ विकेटका लागि महŒवपूर्ण ४३ रनको साझेदारी गर्दै नेपाललाई ३७.४ ओभरमा २२०–७ को स्थितिमा राखे । झाले २८ बलमा १७ रन बनाए । खेलकै म्यान अफ दी म्याच भएका दीपेन्द्रसिंहले सोमपाल कामीसँगै आठौँ विकेटका लागि ५५ रनको साझेदारी गर्दै नेपाललाई जित दिलाए । सोमपालले ३२ बलमा तीन चौका प्रहार गरेका थिए । दीपेन्द्रसिंहले एक सय १६ बलमा आठ चौका र एक छक्का प्रहार गरे ।
यसअघि नेपालको ब्याटिङ खराब रह्यो । अघिल्लो खेलमा शतकीय इनिङ खेलेका कुशल भुर्तेल १६ रनमा आउट भए । आसिफ सेखले नौ रन, ज्ञानेन्द्र मल्लले चार रन तथा कप्तान रोहितकुमार पौडेलले ६ रन मात्र बनाए ।
साझेदारी राम्रो भयो : दीपेन्द्रसिंह ऐरी, ब्याट्सम्यान
कुशलसँगको साझेदारी राम्रो भयो । यस पिचमा साझेदारी गर्न गाह्रो थिएन । हामी दुवैले प्राप्त जिम्मेवारीअनुरूप ब्याटिङ गरेका हौँ । जिम्मेवारीअनुसार जस्तो अर्डरमा पनि ब्याटिङ गर्न सक्छु । अन्तिमसम्म क्रिजमा रही फिनिसिङ गर्न पाउँदा खुसी लाग्यो । ७७–५ को अवस्थामा पनि केही थिएन । हामी दुवैले मिलेर खेलेका थियौँ । यो जितले माहोल राम्रो भएको छ ।
नतिजाले आत्मबल बढेको छ : मोन्टी देसाई, प्रशिक्षक नेपाल
यो नतिजाले खेलाडीमा आत्मबल बढेको छ । हामी ड्रेसिङ रुम राम्रो बनाउन लागेका छौँ । यसमा कमी पनि भइरहेको छ । यसको नतिजा पनि पाउनुभएको छ । राम्रो साझेदारीका कारण नै जित सम्भव भएको हो । यो खेलबाट राम्रो सन्देश गएको छ । नम्बर एक एसोसिएट राष्ट्रलाई हराएका छौँ । घरेलु समर्थकका साथमा खेल्न सजिलो हुन्छ ।
हजारौँ दर्शकबीच खेल्न रमाइलो लाग्छ : सेन बर्गर, प्रशिक्षक, स्कटल्यान्ड
नेपाललाई समर्थन गर्न समर्थक आएका छन् । टियू मैदानमा नेपाललाई समर्थन गर्न अझ योभन्दा धेरै दर्शक आउनेछन् । नेपालविरुद्ध तीनजना खेलाडीले डेब्यू गरे । तीन खेलाडीले अझै धेरै गर्न बाँकी छ । आजको खेलमा रमाइलो गरेका छौँ । जितको श्रेय
नेपाललाई जान्छ ।
शतकको बयान गर्न सक्दिनँ : माइकल लिस्क, ब्याट्सम्यान, नेपाल
नेपालसँगको खेलमा शतकीय इनिङ्सको बयान गर्न सक्दिनँ । शतक प्रहार गर्दा म भावुक भएको थिएँ । यद्यपि, राम्रो खेल्दाखेल्दै पराजित भयौँ । मैदानमा रहँदा कहिले पनि स्कोर बोर्ड हेरी खेल्दिनँ ।