एउटै एजेन्डामा प्रचण्ड ओलीबीच १२ भेट : ओली भन्छन्– एमालेबाट राष्ट्रपति, प्रचण्ड भन्छन्– राष्ट्रिय सहमति

शुक्रबार, ५ फागुन, २०७९
डिजिटल संस्करण

सरकारले २६ पुसमा विश्वासको मत लिएदेखि बिहीबार (४ फागुन) सम्म प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच १२ पटक भेट भएको छ । तर, भेटमा प्रमुख एजेन्डा रहेको राष्ट्रपतिमा सहमति खोज्ने प्रयासमा भने ठोस प्रगति छैन । आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता गर्नुपर्नेछ ।

शक्ति बस्नेत, उपमहासचिव, माओवादी

१० पुसको सहमति ११ पुसमै परिमार्जन भइसकेको छ । सुरुमा गृह मन्त्रालय माओवादीले लिने सहमति थियो, ११ पुसमा त माओवादीको भागमा गृह मन्त्रालय परेन । तर, चरणबद्ध छलफल जारी रहेकाले निर्णय छिट्टै सार्वजनिक हुन्छ ।

सरकारले विश्वासको मत लिएलगत्तै प्रचण्ड र ओलीले राष्ट्रपतिकेन्द्रित छलफल थालेका हुन् । केन्द्रीय सरकारदेखि प्रदेश सरकारसम्म र सभामुख र उपसभामुखमा सहमति कायम गरेर अगाडि बढेका प्रचण्ड–ओली भावी राष्ट्रपतिको विषयमा भने एक ठाउँ आइसकेका छैनन् । बरु, राष्ट्रपति कसलाई बनाउने भन्नेमा प्रचण्ड र ओलीका आ–आफ्नै अडान छन् । 

बिहीबारको भेटवार्तामा पनि दुवै नेता आ–आफ्नै अडानमा छन् । दुई नेताबीच करिब दुई घन्टा लामो छलफल राष्ट्रपति निर्वाचन र मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा केन्द्रित थियो । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि पाँच मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डसँगै छ । 

भेटमा ओलीले पूर्वसहमतिअनुसार राष्ट्रपति एमालेले पाउनुपर्ने र सहमति त्यसैमा हुनुपर्ने अडान राखेका थिए । जसको नाममा राष्ट्रिय सहमति बन्छ, उसैलाई समर्थन गरेर अघि बढ्दा राम्रो हुने प्रचण्डको भनाइ थियो । 

सत्तागठबन्धन भत्काउन विभिन्न चलखेल भइरहेको भन्दै सचेत रहनुपर्ने ओलीले बनाएका थिए । प्रचण्डले सत्तागठबन्धनलाई टुट्न नदिन आफ्नो प्रयास रहने जवाफ दिएका थिए । राष्ट्रिय सहमतिमा एमालेले पनि साथ दिनुपर्ने प्रचण्डको भनाइ थियो । राष्ट्रिय सहमतिबारे माओवादीले आधिकारिक निर्णय गरेर अगाडि बढ्ने तयारी गरेको छ । 

पाँचदलीय गठबन्धन भत्किएर प्रचण्ड प्रधानमन्त्री बनेपछि प्रायः दिन बिराएर ओली बालुवाटार धाइरहेका छन् । प्रचण्ड पनि वेलावेला बालकोट जाने गरेका छन् । गत निर्वाचनमा पाँचदलीय गठबन्धन गरेर गएको कांग्रेसले प्रधानमन्त्री स्विकार नगरेपछि प्रचण्ड एमालेसहित सात दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन् । तर, विपक्षी कांग्रेसले प्रधानमन्त्रीलाई गत २६ पुसमा विश्वासको मत दिएपछि प्रचण्ड राष्ट्रिय सहमतिको पक्षमा उभिएका छन् भने ओली झस्किएका छन् । सत्तारूढ दलहरूबीच खटपट सुरु हुँदा ओली–प्रचण्ड भेटवार्ता झन्झन् बाक्लिएको छ । ओली कम्तीमा राष्ट्रपतिको निर्वाचनसम्म प्रचण्डसँग सम्बन्ध बिगार्ने पक्षमा नरहेको बालकोट स्रोत बताउँछ । ओलीले हालसम्म भावी राष्ट्रपतिको उम्मेदवारबारे मुख खोलेका छैनन् । सत्तारूढ दलहरूले एमालेको उम्मेदवारलाई सघाउनुपर्ने ओलीले बताउँदै आएका छन् ।

पृथ्वीसुब्बा गुरुङ, उपमहासचिव, एमाले  

शीर्ष तहमा निरन्तर छलफल भइरहेको छ । विगतको सहमतिअनुसार नै एमालेबाट राष्ट्रपति हुन्छ । कांग्रेसले गत १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री स्वीकार नगरेको यथार्थ पनि भुल्न हुँदैन ।

एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ पूर्वसहमतिअनुसार एमालेले अघि सार्ने उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गर्छन् । ‘शीर्ष तहमा निरन्तर छलफल भइरहेको छ । विगतको सहमतिअनुसार नै एमालेबाट राष्ट्रपति हुन्छ,’ उनले भने, ‘कांग्रेसले गत १० पुसमा प्रचण्डलाई प्रधानमन्त्री स्वीकार नगरेको यथार्थ पनि भुल्न हुँदैन ।’ एमालेले सरकार गठनको वेला गत १० पुसमा एमालेले राष्ट्रपति लिने मौखिक सहमति भएको दाबी गर्दै आएको छ । 

प्रचण्ड भने विगत नेकपाकालमा ओलीले सहमति कार्यान्वयन नगरेको र राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीका कारण राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने पक्षमा उभिएका छन् । माओवादी उपमहासचिव शक्ति बस्नेत १० पुसको मौखिक सहमति ११ पुसमै परिमार्जन भइसकेको दाबी गर्छन् । ‘१० पुसको सहमति ११ पुसमै परिमार्जन भइसकेको छ । सुरुमा गृह मन्त्रालय माओवादीले लिने सहमति थियो, ११ पुसमा त माओवादीको भागमा गृह मन्त्रालय परेन,’ उनले भने, ‘तर, चरणबद्ध छलफल जारी रहेकाले निर्णय छिट्टै सार्वजनिक हुन्छ ।’ राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्दा सत्तारूढ गठबन्धन विस्तार हुन पनि सक्ने उनले बताए । कांग्रेस पनि सत्तारूढ गठबन्धनमा सामेल हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘असम्भव के छ र !’

माओवादीले कांग्रेस, एमाले, माओवादी, अन्य दल वा गैरराजनीतिक व्यक्ति जसको नाममा राष्ट्रिय सहमति हुन्छ, उही राष्ट्रपति हुने बताउँदै आएको छ । ओलीले गत बुधबार सत्तारूढ गठबन्धनको राजनीतिक भविष्य टुंगो नभएको बताएका थिए । एमाले र माओवादीका नेताहरू औपचारिक रूपमा भने बाहिर आएजस्तो समस्या नभएको बताउँछन् । 

प्रचण्ड–ओली तारन्तार भेटवार्ता

वर्तमान गठबन्धन बनेपछि प्रचण्ड र ओलीले मात्रै १८ पटक भेटवार्ता गरेका छन् । अधिकांश भेट बालुवाटारमा भएका छन् भने केही भेट बालकोट, सिंहदरबार र खुमलटारमा भएका छन् । गठबन्धन निर्माणको क्रममा १० पुसमा प्रचण्ड र ओलीबीच ओलीनिवास बालकोटमा भेट भएको थियो । त्यसयता २७ पुस, २ माघ, २५ माघमा ओली र प्रचण्डबीच बालकोटमा भेटवार्ता भएको छ । १३ पुसमा खुमलटार र २६ माघमा सिंहदरबारमा भेटवार्ता भएको छ । १५ पुस, १९ पुस, २० पुस, २४ पुस, २८ पुस, १० माघ, १२ माघ, १८ माघ, २१ माघ, २४ माघ र ४ फागुनमा बालुवाटारमा भेटवार्ता भएको छ । 

गठबन्धनका ८ बैठक
गठबन्धन निर्माणको क्रममा १० पुसमा पहिलो बैठक ओलीनिवास बालकोटमा भएको थियो । त्यसपछि प्रधानमन्त्रीको शपथअघि संसद् भवन बानेश्वरमा ११ पुसमा गठबन्धनको बैठक बसेको थियो । १४ पुस, २० पुस, २३ पुस, २४ पुस, २५ पुस र २ माघमा गठबन्धनको बैठक बसेको छ । गठबन्धनका पछिल्ला बैठकमा प्रमुख चार दलका शीर्ष नेता प्रचण्ड, ओली, रवि लामिछाने र राजेन्द्र लिङ्देन मात्रै सहभागी हुँदै आएका छन् । 

खनाल भारत भ्रमणमा 

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल भारत भ्रमणमा निस्केका छन् । भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी लेनिनवादी) लिबरेसनको ११औँ अखिल भारत महाधिवेशनमा विशेष अतिथिको रूपमा सहभागी हुन खनाल भारतको पटना गएका हुन् । खनाल सिमरा हुँदै पटना गएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 

खनाल नेतृत्वको प्रतिनिधिमण्डलमा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, विदेश विभाग प्रमुख डा. शंकर खतिवडा र खनालकी श्रीमती रविलक्ष्मी चित्रकार छन् । खनालले महाधिवेशनलाई शुभकामना दिनुका साथै भारतीय कम्युनिस्ट पार्टीका नेताहरूसँग छलफल गर्ने बताइएको छ । भारत जानुअघि खनालले राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताएका छन् ।

‘संविधानले परिकल्पना गरेको जसरी काम गर्न सक्ने राष्ट्रपति चयन हुनुपर्छ । संविधानको पलना र रक्षा तथा मुलुकको अभिभावकत्व दिन सक्ने पात्र छान्नुपर्छ,’ खनालले भने । कस्तो राष्ट्रपति चयन गर्ने भन्ने विषय ठूला दलको निर्णयमा भर पर्ने उनले बताए ।
 

सुझावित समाचार