घरमै ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका कांग्रेस नेता एवं सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । बुधबार राति घटनालगत्तै १०:३० बजे कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा भर्ना गरिएका उनलाई चिकित्सकले स्वेदशमा उपचार सम्भव नहुने बताएपछि बिहीबार मुम्बई लगिएको हो । उनको शुक्रबार शल्यक्रिया गरिँदै छ । घाइते आमा ८६ वर्षीया हरिकला भण्डारीको भने कीर्तिपुर अस्पतालमै बिहीबार दिउँसो निधन भएको छ ।
कीर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर निजिना ताम्राकारका अनुसार भण्डारीको अनुहार, हात र गोडामा गरी ३० प्रतिशत जलन भएको छ । आमा हरिकलाको भने शरीरको ७० प्रतिशत जलन भएको थियो । उनलाई सुरुमा सिभिल अस्पताल लगिएकोमा पछि मात्रै कीर्तिपुर पुर्याइएको थियो ।
सांसद भण्डारीलाई १२ घन्टा उपचार गरेपछि कीर्तिपुर अस्पतालले विदेश लैजान सुझाव दिएको थियो । ‘हालको स्रोत र साधनको अवस्थामा यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिर सुविधासम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिन्छ,’ अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर ताम्राकार र जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले गरेको सिफारिसमा उल्लेख छ । उनको श्वासनलीमा तातो हावा र धुवाँले जलन भएको हुन सक्ने अस्पतालले जनाएको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले अस्पतालको सिफारिसमा सांसद भण्डारीलाई हवाईमार्गबाट मुम्बईस्थित नेसनल बन्र्स सेन्टर पठाइएको बताए । ‘डा. चन्द्र भण्डारीको श्वासनलीमा तातो हावा र धुवाँको कारणले जलन भएको हुन सक्ने अत्यधिक सम्भावना देखिएको र नेपालमा उपचार सम्भव नभएकाले चिकित्सकको सिफारिसबमोजिम थप उपचारका लागि श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेसनल बन्र्स सेन्टरमा लगिएको छ,’ मुख्य सचिव पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले शुक्रबार मुम्बईमा भण्डारीको शल्यक्रिया हुने उल्लेख गरेका छन् । ‘बम्बईस्थित नेपाली अगुवा व्यक्तित्व शालिग्राम तिवारीका अनुसार वरिष्ठ चिकित्सकहरूको टिमले डा. चन्द्र भण्डारी दाइको स्वास्थ्य उपचार सुरु गरेको छ । शुक्रबार बिहान १० बजे र दिउँसो २ बजे उहाँको शल्यक्रिया हुनेछ । उहाँसँगै रहनुभएका कांग्रेस नेता योगराज कँडेल र माधव न्यौपानेका अनुसार उहाँको अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन्,’ सिवाकोटीले सामाजिक सञ्जालमा लेखेका छन् ।
भण्डारी गत प्रतिनिधिसभा निर्वाचनमा गुल्मी १ बाट निर्वाचित भएका थिए । घटनाप्रति कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ । कांग्रेसले लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय हरिकलाको निधनबाट अग्रज व्यक्तित्व गुमाएको पनि उल्लेख गरेको छ । साथै सांसद भण्डारीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
कीर्तिपुर अस्पतालले नेपालमा उपचार सहज नहुने भन्दै देशबाहिर सुविधासम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र लैजान सिफारिस गरेपछि सांसद भण्डारीले भने अस्वीकार गरेका थिए । स्वास्थ्य अवस्था बुुझ्न अस्पताल पुगेका स्वास्थ्यमन्त्री पदम गिरीसँग भण्डारीले आफ्नो उपचार नेपालमै गर्न सांकेतिक रूपमा आग्रह गरेका थिए । भण्डारीलाई उद्धृत गर्दै मन्त्री गिरीले भने, ‘उहाँसँग सांकेतिक रूपमा सामान्य कुराकानी भयो । उहाँले उपचारका लागि भारत नजाने भन्दै यहीँ उपचार गराउन आग्रह गर्नुभयो ।’
ग्यास लिक भएर भण्डारीको भान्सामा आगो सल्कियो
कांग्रेसका काठमाडौं जिल्ला सभापति सबुज बानियाँको छोराको विवाह भोजमा सांसद डा. चन्द्र भण्डारीलाई पनि निम्ता थियो । बुधबार साँझ भोजमै उनको कांग्रेस नेता एनपी साउदसँग भेट भयो । खानासँगै दुईजनाबीच निकैबेर गफ चल्यो । करिब तीन घन्टाको बसाइपछि साउदकै गाडीमा फर्किएका उनी राति ९:३० बजेतिर बुद्धनगरस्थित निवास पुगे । भाइ हरिहरको घरको भुइँतलामा चन्द्र आमा हरिकलासँगै बस्थे ।
चन्द्र कोठाभित्र पस्दा ग्यासको गन्ध आइरहेको थियो । आमा हरिकला बत्ती निभाएर सुत्ने तरखरमा थिइन् । ग्यास गनाइरहेको विषयमा उनले आमालाई सोधे । ग्यासको गन्ध हरिकलाले पनि अघिबाटै अनुभव गरिरहेकी थिइन् । उनी ओछ्यानबाट उठेर भान्साकोठातर्फ लागिन् । चन्द्र पनि सँगै थिए । ग्यासको गन्ध भान्साबाटै आइरहेको थियो ।
हरिकला भान्साकोठाको ढोका उघारेर बत्ती बाल्न ‘स्विच’ छाम्न अघि बढिन् । तर, उनले ‘स्विच’ थिच्नेबित्तिकै अचानक आगोको लप्काले कोठा भरियो । सँगै विस्फोट भएझैँ ठूलो आवाज पनि निस्कियो । घटनाको अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले पनि बिजुलीको बत्ती बाल्ने क्रममा निस्किएको झिल्कोले आगलागी भएको हुन सक्ने बताए ।
‘भान्सा कोठाको बत्ती अफ रहेछ । ग्यासको गन्ध आएपछि दुवैजना कोठातर्फ लागेछन् । यही क्रममा कोठा उज्यालो पार्न ‘स्विच अन’ गरियो । ‘स्विच’ ‘स्पार्क’ भयो । त्यही कारण कोठामा आगो सल्किएको र उहाँहरू घाइते भएजस्तो देखिन्छ,’ एसपी रिजालले भने ।
कोठामा फैलिएको आगोको लप्काले हरिकला र चन्द्रलाई पनि भेट्यो । चन्द्र गुहार भन्दै चिच्याउन थाले । घाइते हरिकला भुइँमै ढलिन् । भुइँतलामा अचानक आएको ठूलो आवाज सुनेपछि माथिल्लो तलामा बस्ने भाइ हरिहर तल झरे । आमा हरिकला र दाजु चन्द्र छटपटाइरहेको देखे । सहयोगका लागि उनले छिमेकी गुहारे । र, घाइते हरिकला र चन्द्रलाई छिमेकीको गाडीमा राखेर नयाँ बानेश्वरस्थित सिभिल अस्पताल पुर्याए ।
आगोले दुवैजनालाई गम्भीर बनाएको थियो । सिभिलले उपचारका लागि कीर्तिपुर अस्पताल रिफर गर्यो । दुवैलाई तत्काल कीर्तिपुर अस्पताल पुर्याइयो । तर, हरिकलालाई बचाउन सकिएन । उनको ७० प्रतिशत शरीर जलिसकेको थियो । उपचारकै उनको मृत्यु भयो ।
आगोका कारण चन्द्रको पनि ३० प्रतिशत भाग जलेको छ । ग्यासको लप्काले उनको फोक्सो र श्वासनलीमा गम्भीर चोट पुर्याएको चिकित्सकको भनाइ छ । उनलाई थप उपचारका लागि बिहीबार साढे तीन बजे मुम्बईस्थित नेसनल बर्निङ अस्पताल लगिएको छ ।
भान्सामा ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रहरीको भनाइ छ । कोठाभन्दा बाहिर ग्यासको सिलिन्डर देखिन्छ । सिलिन्डर फुटेको छैन । भान्साभित्रका ग्यासको चुलो, पाइप, रेगुलेटर पनि उस्तै छन् । कोठाका अन्य सामग्री पनि खासै टुटेका छैनन् । घटनास्थल हेर्दा ग्यास विस्फोट भएको होइन, लिक भएर आगो लागेजस्तो देखिन्छ । आगोको लप्काले भएको सानो विस्फोटले भान्साकोठाको ढोका हल्का चिरिएको छ । झ्यालका सिसा फुटेका छन् । भान्साको आडैमा रहेको सानो कोठाको जस्ता उडेको छ ।
दाङमा सिलिन्डरको ग्यास लिक भएर दुई घाइते
दाङको तुलसीपुर उपमहानगरपालिका– १६ लहलौरामा खाना पकाउने क्रममा सिलिन्डरको ग्यास लिक भएर आगलागी हुँदा दुईजना घाइते भएका छन् । स्थानीय ५० वर्षीया कुसुम केसी र चितवनको भरतपुर– ५ का २९ वर्षीय आशिष खनाल घाइते भएका हुन् । प्रहरीका अनुसार केसीको कम्मरमुनिको भाग जलेको छ भने खनालका दुवै हात र गोडा जलेका छन् । बिहीबार बिहान साढे ८ बजेतिर कृषि बिउ उत्पादन कम्पनीको कार्यालयमा खाना पकाउने क्रममा आगलागी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले बताए । खाना बनाउने ठाउँ कार्यालयबाहिर छुट्टै स्थानमा भएकाले थप क्षति हुन पाएन ।
कुसुमलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारपछि नेपालगन्जस्थित भेरी अस्पतालमा रेफर गरिएकोमा त्यहाँ पनि उपचार सम्भव नभएपछि जहाजबाट काठमाडौं पठाइएको छ । त्यस्तै, खनाललाई पनि राप्ती प्रादेशिक अस्पतालबाट गृहजिल्ला चितवन लगिएको प्रहरीले जनाएको छ । बिउ उत्पादन कम्पनीका कर्मचारी खनाल जागिरको सिलसिलामा दाङ आएका थिए ।