नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेपछि लगातार रूपमा नेप्से परिसूचकमा गिरावट आएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिकपछि भएको चार कारोबारमा नेप्से परिसूचक ११२.२२ अंक घटेको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से २१.१५ अंकले घटेर दुई हजार ७०.४१ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ३.७०, फ्लोट इन्डेक्स १.४९ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३७ अंकले घटेको छ ।
दुई सय ५६ कम्पनीको ४७ लाख ४७ हजार कित्ता सेयर एक अर्ब ६८ करोड ४९ लाख ४२ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ । बुधबारको तुलनामा आज कारोबार रकम पनि घटेको छ । बुधबार एक अर्ब ७३ करोडको सेयर खरिद–बिक्री भएको थियो ।
बिहीबार नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.९३ प्रतिशत घटेको छ । त्यस्तै, होटेल तथा पर्यटन, वित्त, विकास बैंक, जलविद्युत्, लगानी र निर्जीवन बिमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले घटेको छ ।
बिहीबार नेप्से परिसूचकमा गिरावट आए पनि सानिमा लार्ज क्याप फन्डको इकाइ मूल्य ७.६५ प्रतिशत बढेको छ । त्यस्तै, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको सेयरमूल्य ५.२३ प्रतिशतले बढ्दा युनिलिभर नेपालको सेयरमूल्य ५.९१ प्रतिशतले घटेको छ ।