आइसिसी विश्वकप क्रिकेट लिग– २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाअन्तर्गत नेपालले शुक्रबार स्कटल्यान्डसँग खेल्ने भएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भोलि हुने खेलमा घरेलु टोली नेपाल स्कटल्यान्डलाई पराजित गर्ने साेचका साथ मैदानमा उत्रनेछ। यसो त आइसिसी क्रिकेट विश्वकप लिग– २ को विजेता बनिसकेको स्कटल्यान्डलाई हराउन नेपाललाई त्यति सहज भने हुनेछैन।
कीर्तिपुर खेलमैदानमा बुधबार भएको खेलमा स्कटल्यान्डले नामिबियालाई १० विकेटको फराकिलो अन्तरले पराजित गर्दै लिग– २ को विजेता बनेको थियो। स्कटल्यान्ड आफ्नो तीन खेल बाँकी छँदै विजेता बन्न सफल भएको हो।
यसअघि यही फागुन २ गते भएको नामिबियाविरुद्धको पहिलो खेलमा नेपालले ऐतिहासिक सफलता हासिल गरेको थियो। यसकारण पनि स्कटल्यान्डलाई पराजित गर्ने नेपालको लक्ष्य छ।
नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा नेपालले पहिलोपटक नामिबियालाई हराएको थियो । नेपालले नामिबियालाई दुई विकेटले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो।
लिग– २ को शीर्ष स्थानमा रहेको स्कटल्यान्डले ३३ खेलमा २३ मा जित र आठ खेलमा हार व्यहोरेको छ । स्कटल्यान्ड ४८ अंकका साथ शीर्ष स्थानमा छ।
स्कटल्यान्डले अब नेपालसँग दुई र नामिबियासँग एक गरी कुल तीन खेल खेल्न बाँकी छ। बाँकी सबै खेलमा पराजित भए पनि स्कटल्यान्ड शीर्षस्थानमा रहनेछ। उसलाई अब कुनै पनि टोलीले पछि पार्न सक्दैनन्।
त्यस्तै लिग– २ मा नेपालले अब ११ खेल्न बाँकी छ। २५ खेलमा नौमा जित र १४ खेलमा हार व्यहोरेको नेपाल २० अंकसहित अंक तालिकाको छैटौँ स्थानमा छ।
एकदिवसीय मान्यता पाएका विभिन्न सात एसाेसिएट राष्ट्र सहभागी लिग– २ मा एउटा टोलीले ३६ खेल खेल्नेछन् । नेपालाई एकदिवसीय मान्यता बनाइरहन पनि अबका बाँकी खेल जित्नैपर्ने दबाब छ।
नेपालले सन् २०१८ को मार्चमा भएको एक दिवसीय विश्वकप छनोट प्लेअफमा पपुवान्युगिनीलाई पराजित गरी पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो।
नेपालको त्यो एकदिवसीय मान्यता आगामी जुलाईसम्म मात्र रहनेछ । एकदिवसीय मान्यता पाउनलाई पनि नेपाललाई बाँकी खेल जित्नैपर्ने दबाब छ। एकदिवसीय मान्यता पाउन लिग– २ मा नेपाल शीर्ष पाँचभित्र अटाउनुपर्नेछ।
यसैगरी लिग– २ मा ओमान ३६ खेलमा २१ मा जित र १३ मा हारसहित ४४ अंकका साथ दोस्रो स्थानमा छ। नामिबिया ३२ खेलमा १८ मा जित र १३ मा हारका साथ ३७ अंकका साथ तेस्रो स्थानमा छ।
अमेरिका ३६ खेलमा १६ मा जित र १७ मा हारसहित ३५ अंकका साथ चौथो स्थानमा छ। युएई २६ खेलमा १२ मा जित र ११ मा हारसहित २७ अंकका साथ पाँचौँ स्थानमा छ। पपुवान्युगिनी २८ खेलमा दुईमा जित र २५ मा हारसहित पाँच अंक जोड्दै अन्तिम स्थानमा छ।