राजर्षि जनक कप : पहिलो सेमिफाइनलमा जावलाखेल र संकटा भिड्दै

बिहिबार, ४ फागुन, २०७९
डिजिटल संस्करण

जारी सातौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनलमा संकटा र जावलाखेल भिड्ने भएका छन् । बिहीबार बागमती नगरपालिका– ११ स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा हुने पहिलो सेमिफाइनलमा संकटा र जावलाखेलले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

दुवै टोली खेल जित्दै उपाधि होडमा कायम रहने दाउमा रहनेछन् । यो खेलको विजेता टोलीले कम्तीमा उपविजेताको उपाधि रक्षा गर्नेछ । जावलखेल युथ क्लब ललितपुरले सेमिफाइनल प्रतिस्पर्धाका लागि यस पहिला भएको प्रिक्वार्टरफाइनलमा सशस्त्र प्रहरीको एपिएफ क्लब र क्वार्टरफाइनलमा साबिक विजेता पिप्ले फुटबल क्लब हेटौँडालाई पराजित गरेको थियो । एक खेल बाई पाएर सीधै क्वार्टरफाइनल खेलेको संकटा क्लबले नवजनजागृति फुटबल क्लबलाई हराएको थियो ।

शुक्रबार हुने प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा मच्छिन्द्र फुटबल क्लब र सुदूरपश्चिम– ११ धनगढीबीच प्रतिस्पर्धा हुनेछ । यस भेटका लागि सुदूरपश्चिम–११ ले प्रिक्वार्टरफाइनलमा पाहुना टोली युनाइटेड कुर्सेङ दार्जिलिङ र क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेड ललितपुरलाई पराजित गरेको थियो । एक खेल वाई पाउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको मच्छिन्द्रले आयोजक बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो ।

फागुन ७ गते हुने फाइनको विजेताले १० लाख नगद र राजर्षि रनिङ सिल्ड तथा उपविजेताले नगद पाँच लाख प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कार प्रदान गरिने आयोजक क्लबले जनाएको छ ।

सुझावित समाचार