काठमाडौं महानगरले ६ महिनामा खर्चियो साढे १५ प्रतिशत बजेट

बिहिबार, ४ फागुन, २०७९
डिजिटल संस्करण
काठमाडौं महानगरले ६ महिनामा खर्चियो साढे १५ प्रतिशत बजेट

काभ्रेको बनेपास्थित आगन्तुक रिसोर्टमा महानगरले आयोजना गरेको दुईदिने आवासीय गोष्ठीका सहभागी ।

बजेट खर्च गर्ने विषयमा छलफल गर्न महँगो रिसोर्टमा आवासीय गोष्ठी

६ महिनामा १५.५४ प्रतिशत मात्रै बजेट खर्च गरेको काठमाडौं महानगरपालिकाले महँगो रिसोर्टमा आवासीय गोष्ठी आयोजना गरेको छ । सरकारी खर्चमा मितव्ययिता अपनाउनेसम्बन्धी नीतिगत मार्गदर्शन, ०७५ र चालू खर्च कम्तीमा २० प्रतिशत खर्च कटौती गर्ने अर्थ मन्त्रालयको १७ माघको निर्णयविपरीत महानगरले बनेपास्थित आगन्तुक रिसोर्टमा दुईदिने आवासीय गोष्ठी गरी पाँच लाख रुपैयाँ खर्चेको हो । 

२७ र २८ माघमा भएको ‘सहरी शासन र सेवा प्रवाह विषयक गोष्ठी’मा प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, विभागीय–महाशाखा, एकाइ र आयोजना प्रमुख, महानगरको सहरी योजना आयोगका उपाध्यक्षसहित ५०–६० जना सहभागी थिए । महानगरको स्वामित्वमा रहेको राष्ट्रिय सभागृह प्रयोग नगरी महँगो रिसोर्टमा बसेर विकास खर्च र राजस्व वृद्धि गर्नेबारे मन्थन गरिएको छ । जबकि, सरकारी खर्चमा मितव्ययिता अपनाउनेसम्बन्धी नीतिगत मार्गदर्शनले सरकारी खर्चमा सभा, सम्मेलन, गोष्ठी, सेमिनार, अन्तक्र्रिया गर्दा सरकारी निकायकै सभाहल प्रयोग गर्नुपर्ने उल्लेख छ ।

फजुल खर्चमा अगाडि काठमाडौं महानगरको विकास खर्च भने दयनीय छ । महानगरका मेयर बालेन्द्र साहले वार्षिक बजेट १६ अर्ब ४२ करोडबाट एकैपटक २५ अर्ब ४१ करोड ९६ लाख पु¥याए पनि राजस्व संकलन र खर्चमा जादु चलाउन सकेका छैनन् । 

महानगरले चालू आवमा सञ्चित कोषबाट व्यहोर्ने कुल रकम २२ अर्ब ३६ करोड ९५ लाख (तीन अर्ब पाँच करोड एक लाख ४७ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाबाट प्राप्त हुने आम्दानी हो, यो रकम सञ्चित कोषमा जम्मा हुँदैन) हो । तर, पुस मसान्तसम्म जम्मा तीन अर्ब ४७ करोड ६२ लाख अर्थात् १५.५४ प्रतिशत मात्र खर्च गर्न  सकेको छ । 

अर्थ मन्त्रालयको निर्देशनविपरीत गोष्ठी
महानगरले फजुल खर्च मात्र गरेको छैन, अर्थ मन्त्रालयको निर्देशनको अटेरसमेत गरेको छ । अर्थ मन्त्रालयको खर्च कटौती निर्णय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७७ वटै जिल्ला समन्वय समिति र सात सय ५३ वटै पालिकालाई २० माघमा पठाएर ‘खर्च कटौती र बजेट रोक्का’ गर्न भनेको थियो । जसमा ‘सरकारी स्रोततर्फका सबै प्रकारका गोष्ठी, सेमिनार र कार्यशाला हाललाई स्थगन गर्न’ भनिएको छ भने चालूतर्फको खर्चमा अनिवार्य दायित्वबाहेक न्यूनतम २० प्रतिशत कटौती गर्न प्रदेश र स्थानीय तहलाई भनिएको छ । 

तर, महानगरले प्रतिव्यक्ति एकपटकको ब्रेकफास्टको १० डलर, लन्चको १५ डलर र डिनरको १८ डलर पर्ने रिसोर्टमा दुईदिने आवासीय गोष्ठी गरेको छ, जहाँ एउटा कोठाको एक दिनको भाडा मात्र ६० देखि ९० डलर  छ । महानगरले एक सय २० जना अट्ने आगमन ब्यांक्वेट हल 
पनि दुई दिनका लागि बुक गरेको थियो ।

सभागृहमा गोष्ठी गर्न प्राविधिक कठिनाइ भयो : सहायक प्रवक्ता
महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले महानगरको सभागृहमा गोष्ठी गर्दा प्राविधिक कठिनाइ भएकाले रिसोर्टमा गरेको बताए । ‘सेवाग्राही आउँछन् । सहभागी पनि आउने–जाने हुन्छन्, यसले ध्यान केन्द्रित हुँदैन,’ उनले भने, ‘आगामी नीति तथा कार्यक्रममा विज्ञका सुझाव पनि लिइने भएकाले कार्यस्थलबाट टाढा भएर छलफल गरौँ भनेर हो ।’ उनका अनुसार गोष्ठीको बजेट पाँच लाख रुपैयाँ थियो । महानगरले रिसोर्टमा गोष्ठी गरेको पहिलोपटक भने होइन । हरेक वर्ष होटेल, रिसोर्टमा सभा–सम्मेलन आयोजना गरेर वर्षमै पौने एक करोड रुपैयाँ सक्ने गरेको छ । 

सुझावित समाचार