अनेरास्ववियुमा जुटेन सहमति, अध्यक्षमा पाँच प्रतिस्पर्धी

बिहिबार, ४ फागुन, २०७९
डिजिटल संस्करण

एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको नयाँ नेतृत्वमा सहमति नजुटेपछि निर्वाचन प्रक्रिया अघि बढेको छ । पार्टी नेता र अनेरास्ववियुका पूर्वअध्यक्षहरू सम्मिलित अध्यक्षमण्डलले सहमतिको प्रयास गरे पनि सम्भव नभएको हो । बिहीबार मतदान हुनेछ ।

अध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ । भावी नेतृत्वका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिव प्रतिस्पर्धामा उत्रिएका छन् । निवर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू लोकेश निरौला र मोती विक, वाङ्छु योन्जन तथा महासचिव समिक बडालले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार नामावली प्रकाशन, दाबी–विरोध र मनोनयन दर्ताको काम भएको छ ।

एमाले विद्यार्थी इन्चार्ज तथा अध्यक्षमण्डलका सदस्य माधव ढुंगेलले चुनावी प्रक्रिया सुरु भएको र बिहीबार बिहान मतदान सुरु गर्ने गरी प्रक्रिया अघि बढेको जानकारी दिए । मनोनयन फिर्ता बिहीबार बिहानसम्म हुने र त्यसपछि मतदानमा जाने उनले बताए । ‘तोकिएको कोटाभन्दा बढी उम्मेदवारी परेमा मतदान हुन्छ, कसैलाई प्रतिस्पर्धा गर्न पाइएन भन्ने महसुस नहोस्,’ उनले भने, ‘सहमतिका नाममा निषेधात्मक प्रयास हुँदैन, हाम्रा लागि सबै बराबर हुन् । महाधिवेशन विद्यार्थीको उत्सव हो, प्रतिस्पर्धा गर्न दिन्छौँ ।’ 

यसपटक प्यानल बनाएर चुनाव लड्न नदिने पार्टीको नीति छ । तर, व्यक्तिगत रूपमा प्रजातान्त्रिक अभ्यास गर्न पाउने वातावरण बनाइरहेको ढुंगेलले बताए । जित्ने अखिल र हार्नेलाई पार्टीमा स्वागत गर्ने उनको भनाइ छ । एमाले अध्यक्ष केपी ओलीले अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै सहमतिमा नेतृत्व चयन गरेर स्ववियु निर्वाचनमा लाग्न निर्देशन दिएका थिए । ‘नेतृत्व चयनमा उच्चस्तरको समझदारी कायम होस्,’ ओलीले भनेका थिए । स्ववियु चुनावको तयारीका रूपमा महाधिवेशनलाई लिन उनले विद्यार्थी नेताहरूलाई आग्रह गरेका थिए ।

यसअघि भएको विधान अधिवेशनले अबको कार्यसमिति एक सय ९९ जनाको हुने व्यवस्था गरेको छ । निवर्तमान कार्यसमिति पाँच सय १७ सदस्यीय थियो । अब एक अध्यक्ष, चार उपाध्यक्ष, एक महासचिव, १० सचिव, एक कोषाध्यक्षसहित एक सय ९९ जनाको कार्यसमिति रहनेछ । देशभरबाट एक हजार पाँच सय ८८ प्रतिनिधि महाधिवेशनमा सहभागी छन् । नयाँ नेतृत्व चयन गर्दै बिहीबार महाधिवेशन सकिनेछ ।

सुझावित समाचार